Logo

थप चार देशसँग हवाई सेवा सम्झौताको तयारी

हवाई सेवा सञ्जाल विस्तार गर्न सरकारले चार देशमा हवाई सेवा सम्झौता (एयर सर्भिस एग्रिमेन्ट) गर्ने तयारी गरेको छ । सरकारले अमेरिका, स्विट्जरल्यान्ड, रुवान्डा र इन्डिोनेसियासँग दुईपक्षीय हवाई सेवा सम्झौता गर्ने तयारी गरेको हो ।
चालू आर्थिक वर्षभित्र नै सम्झौता गर्ने गरी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयारी गरिरहेको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । उनले भने, “अमेरिका, स्विट्जरल्यान्ड, रुवान्डा र इन्डोनेसियासँग दुईपक्षीय हवाई सेवा सम्झौताको लागि मन्त्रालयले आन्तरिक तयारी गरिरहेको छ । सम्झौताले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याएर नेपालको हवाई सञ्जाल विस्तारमा सहयोग पुग्ने छ ।”
नेपाल र अमेरिकाबीच सिधा हवाई सेवा नभएकाले अमेरिकाले हवाई सेवा सम्झौताको लागि चासो देखाएको र सोहीअनुसार मन्त्रालयले प्रक्रिया अगाडि बढाएको सहसचिव लामिछानेको भनाइ छ । हवाई सेवा सम्झौतापछि दुई देशबीच सिधा हवाई उडान गर्ने बाटो खुल्नेछ । अहिले भने नेपाल–अमेरिका–नेपाल सिधा हवाई सञ्जाल नहुँदा तेश्रो मुलुक हँुदै उडान भइरहेको छ ।
“आगामी दिनमा सिधा उडान होला–नहोला वा अन्य विकल्पमा पनि उडान हुन सक्छ,” सहसचिव लामिछानेले भने, “यात्रुको लागि हवाई सेवाको सहज वातावरण बनाउन र विश्वमा हवाई कनेक्टिभिटी बढाउन मन्त्रालयले ४ मुलुकसँग हवाई सेवा सम्झौता गर्ने तयारी गरेको हो ।” सरकारले यूरोपियन यूनियन (ईयू) र ४० अन्य देशसँग दुईपक्षीय हवाई सम्झौता गरेको छ । नेपालको हवाई सेवालाई अमेरिका तथा अफ्रिकाका मुलुकहरुमा विस्तार गर्ने गरी मन्त्रालयले प्रक्रिया अगाडि बढाएको मन्त्रालयको भनाइ छ । अफ्रिकाका मुलुकसँग हवाई सेवा सञ्जाल विस्तार गर्ने गरी नै रुवान्डासँग हवाई सेवा सम्झौताको तयारी गरेको सहसचिव लामिछानेले बताए । उनले भने, “यसले गर्दा नेपालको अफ्रिकासँग हवाई सेवा सञ्जालको बाटो खुल्नेछ भने नेपालमा धेरै पर्यटक आगमन बढाउन सहयोग पुग्छ ।” मन्त्रालयले उच्च पर्यटकीय सम्भावना भएका मुलुकहरुको सम्भावता हेरेर र सिधा हवाई सेवा नभएकाले गर्दा हवाई सम्झौता गर्ने अन्य देशहरुसँग पनि समन्वय गरिहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले इन्डोनेसियासँग हवाई सेवा सम्झौताको लागि सबै प्रक्रिया पूरा गरेर सम्झौताको अन्तिम चरणमा रहेको जानकारी दिएको छ । “हाम्रो तर्फबाट सबै प्रक्रिया पूरा गरेर कागजात पठाएका छौं । इन्डोनेसियाबाट प्रतिक्रिया आएपछि सम्झौताको चरणमा जान्छ,” सहसचिव लामिछानेको भनाइ छ । स्विट्जरल्यान्डमा पनि मन्त्रालयले आन्तरिक तयारी गरिरहेको छ । दुई मुलुकबीच हवाई सम्झौता गर्ने सहमति अन्तिम चरणमा रहेको र चाँडै औपचारिक सम्झौता हुने क्रममा रहेको सहसचिव लामिछानेले बताए ।
फिनल्यान्ड र रुससँग पनि एक चरणको कुरा भएर सम्झौताको लागि पाइपलाइनमा रहेको मन्त्रालयको भनाइ छ । सरकारले पछिल्लो समय ४० औं देशको रुपमा अष्ट्रेलियासँग हवाई सेवा सम्झौता गरेको थियो । मन्त्रालयले अन्य देशहरुसँग पनि हवाई सेवा सम्झौताको तयारी गरेको भए पनि कोभिड–१९का कारण विभिन्न देशसँग समन्वय नभएकोमा आगामी दिनमा भने आवश्यकता र सम्भाव्यता हेरेर हवाई सेवा सम्झौताको प्रक्रिया अगाढि बढाइने लामिछानेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्