Logo

चालू पुँजी कर्जामा कडाइ

केन्द्रीय बैंकले जारी गरेको चालू पुँजी कर्जा मार्गनिर्देशन २०७९ मंगलबारदेखि लागू भएको छ । निजी क्षेत्रको केही असहमतिका बाबजुद नेपाल राष्ट्र बैंकले ७ भदौमा सार्वजनिक गरेको निर्देशन १ कात्तिकदेखि लागू भएको हो ।
राष्ट्र बैंकले मार्गनिर्देशनमार्फत कुनै पनि संस्थालाई चालू पुँजी प्रकृतिको अल्पकालीन कर्जा दिनुभन्दा अगाडि उक्त संस्थाको वार्षिक कारोबार हेर्नुपर्ने व्यवस्था गरेको छ । कुनै संस्थाको वार्षिक कारोबारको २५ प्रतिशतभन्दा बढी चालू पुँजी प्रवाह गर्न नपाउने, बैंक तथा वित्तीय संस्थाले ऋणीको क्षमताभन्दा बढी चालू पुँजी कर्जा लगानी गरेको भए त्यस्तो कर्जालाई खराब कर्र्जामा वर्गीकरण गरी शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने जस्ता व्यवस्था मार्गनिर्देशनमा छ ।
साथै, मागनिर्देशन लागू हुनुपूर्व प्रदान गरिएका चालू पुँजी प्रकृतिका कर्जालाई अब नयाँ व्यवस्थाअनुसार पूर्ण पालना गरेर मात्र नवीकरण गर्न पाइने व्यवस्था पनि गरेको छ । यदि मार्गदर्शनको पूर्ण पालना नगरी नवीकरण भएको पाइएमा उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका निजी क्षेत्रका संस्थाहरुले भने विज्ञप्ति निकालेरै मार्गनिर्देशन अव्यवहारिक भएको बताएका छन् ।
निजी क्षेत्रले उत्पादनमूलक उद्योग र व्यवसायका लागि चालू पुँजी कर्जाको सीमा फरक–फरक निर्धारण गरिनुपर्ने, २५ प्रतिशत कर्जा सीमाले व्यवसाय सञ्चालन मात्र नभई उद्योगको क्षमतामा समेत गम्भीर असर पर्ने भएकोले यो सीमालाई बढाउनुपर्ने लगायतका माग राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्