तीन महिनामा रोजगारी खोज्दै दुई लाख युवा विदेशिए
वैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर उकालो

चालू आर्थिक वर्षको पहिलो ३ महिनामा करिब २ लाख युवाले वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिएका छन् । गत आर्थिक वर्षको ३ महिनामा १ लाख १ हजारले श्रमस्वीकृति लिएकोमा चालू आवको साउन, भदौ र असोजमा १ लाख ९६ हजार ७५ हजार युवाले श्रमस्वीकृति लिएका हुन् ।
चालू आवको साउनमा ६३ हजार, भदौमा ७६ हजार र असोजमा ५६ हजारले श्रमस्वीकृति लिएको वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका कम्प्युटर अधिकृत अर्जुन यादवले जानकारी दिए । गत आवको यो अवधिको तुलनामा चालू आवमा ९४ हजारभन्दा बढीले श्रमस्वीकृति लिएको विभागको पछिल्लो तथ्यांकमा उल्लेख छ । वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले मलेसियालगायत कतारमा नेपाली श्रमिकको सेवासुविधा र माग वृद्धि भएका कारण वैदेशिक रोजगारीमा जाने युवाको संख्या उल्लेख्य वृद्धि भएको बताए । पछिल्लो समय साउदी अरब जानेको संख्या घटेर मलेसिया र कतार जानेको संख्या भने बढ्दै भइरहेको देखिएको छ ।
गत आर्थिक वर्षबाट लयमा फर्किएको वैदेशिक रोजगारी चालू आवको तेस्रो महिनामा समेत उच्च देखिएको छ । वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका अनुसार साउन महिनामा वैदेशिक रोजगारीमा जान ६३ हजार ३९ श्रमिकले श्रमस्वीकृति लिएकोमा भदौमा ७६ हजार ४०३ पुगेको थियो । लकडाउनयता आन्तरिक रोजगारीमा संकुचन आए पनि विगत एक वर्षयता वैदेशिक रोजगारीमा जानेको संख्याले रेकर्ड नै कायम गर्न थालेको छ । गत वर्षको भदौमा भने ३६ हजार ४० युवाले श्रमस्वीकृति लिएका थिए । साउनपछि लगातार उकालो लागेको विदेश जाने क्रम हालसम्म पनि कायम रहेको छ । विभागको काठमाडौं कार्यालय ताहाचलका अनुसार पछिल्लो कोरोना संक्रमणदर प्रभावकारी नभएपछि वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिनेको संख्या बढेको हो । सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोप व्यवस्थापन सहज गरेपछि पछिल्लो समय करार रद्द गरेर आएका श्रमिक पनि पुन: वैदेशिक रोजगारीमै जाने प्रवृत्ति बढ्दै गइरहेका कारण पनि श्रमस्वीकृतिको संख्यामा वृद्धि भएको हो ।
नेपाल र नेपाली युवाको प्रमुख आयस्रोतको रुपमा रहेको वैदेशिक रोजगार विगत २ वर्षमा घटेको देखिए पनि अबका दिनमा भने यसले गति लिने विज्ञको भनाइ छ । अघिल्ला २ आर्थिक वर्षमा प्रमुख श्रम गन्तव्यमा रोजगारीमा जाने युवाको संख्या क्रमश: घट्दो दरमा रहेको पाइएको थियो । तर गत आवबाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दै गइरहेको देखिन्छ ।
गत आर्थिक वर्षमा श्रमस्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएर ६ लाख ३१ हजार २९० पुगेको थियो । गत वर्ष श्रमस्वीकृति लिनेको संख्या अघिल्ला आवको सोही अवधिको तुलनामा तेब्बर बढी छ । अघिल्लो आवमा १ लाख ६६ हजार ६९८ युवाले विदेशमा रोजगारीमा जाने जनाउँदै श्रमस्वीकृति लिएका थिए । यस्तै आव २०७६/०७७ मा श्रमस्वीकृति लिएर विदेश जानेको संख्या ३ लाख ६५ हजार ४३३ रहेको विभागको तथ्यांकमा उल्लेख छ ।