Logo

गलत सरकारी नीति मुख्य कारण

रुपन्देहीका तीन स्टिल उद्योग बन्द

सरकारले स्टिलको कच्चा पदार्थ एमएस ब्लेड तथा स्पन्ज आइरन आयातमा बजेटमार्फत भन्सार तथा अन्त:शुल्कमा ल्याएको फरक नीतिका कारण उत्पादन लागत बढ्दै गएपछि भारत तथा तेश्रो मुलुकबाट कच्चा ब्लेड आयात गरी स्टिल (छड) बनाउँदै आएका रुपन्देहीका तीन कम्पनी बन्द भएका छन् ।
एभरेष्ट रोलिङ इन्डस्ट्रिज, एसआर स्टिल र रत्न आइरन इन्डस्ट्रिज पूर्ण रुपमा बन्द भएका छन् भने पञ्चकन्या गु्रपको पञ्चकन्या स्टिलले पनि एक महिनादेखि उत्पादन रोकेको छ । एसआर स्टिल गत साउनदेखि बन्द भएको हो भने एभरेष्ट यही असोज पहिलो साताबाट बन्द भएको हो । रुपन्देहीको पहिलो स्टिल उद्योग एभरेष्ट रोलिङका प्रबन्ध निर्देशक अरुण गोयनकाले सरकारको नीतिका कारण उद्योग बन्द गर्नुपरेको बताए । “एकै प्रकृतिका सामानमा फरकफरक दर कायम सरकारले गर्‍यो । स्पन्ज आइरनमा आधारित उद्योगहरूसँग प्रतिष्पर्धा गर्न सकिएन । त्यसैले घाटामा उद्योग सञ्चालन गर्नुको साटो बन्द गर्ने निर्णय लिनुपर्‍यो,” सिद्धार्थ उद्योग वाणिज्य संघका कर्पोरेट उपाध्यक्ष समेत रहेका गोयनकाले भने, “सरकारकै गलत नीतिले उद्योग बन्द हुन पुग्यो । स्पन्ज ल्याएर ब्लेड बनाउने उद्योगले भारतबाट आयात हुने ब्लेड भन्दा सस्तोमा दिन्छौं भनेर दाबी गरे तर दिएनन् ।” यो उद्योगले दैनिक १५० टन टिएमटी स्टिल उत्पादन गर्दै आएको थियो भने सेक्सन आइटम पनि उत्पादन गथ्र्यो । नेपालको पहिलो स्टिल उद्योग हिमाल हो भने दोश्रो स्टिल उद्योग एभरेष्ट रोलिङ हो ।
उता एसआर गु्रपले सञ्चालन गर्दै आएको एसआर स्टिल इन्डस्ट्रिज पनि साउनदेखि बन्द भएको छ । दैनिक २ सय टन टिएमटी स्टिल उत्पादन गर्दै आएको यो उद्योग २०६८ सालमा स्थापना भएको हो । एसआर स्टिलका प्रबन्ध निर्देशक सुरज उप्रेतीले रहरले नभई बाध्यताले उद्योग बन्द गर्नुपरेको बताए । एकै प्रकृतिका कच्चा वस्तु आयात गर्दा फरक दर साथै कच्चा फलाम (एमएस ब्लेड)को भन्सार बिन्दुमै अन्त:शुल्क लगाउन थालेपछि उद्योग सञ्चालन गर्नै नसक्ने अवस्था आउँदा साउन महिनादेखि नै बन्द गरेको प्रबन्ध निर्देशक उप्रेतीले बताए । “सरकारको नीतिपछि स्पन्ज तथा फलामका कवाड (पत्रु) गलाएर ब्लेड बनाउने उद्योगहरूलाई फाइदा पुगेको छ भने प्रत्यक्ष रुपमा ब्लेड आयात गरी उद्योग चलाउनेहरू नोक्सानीमा पर्‍यौं । जसका कारण उद्योग बन्द गर्नुको विकल्प रहेन,” उप्रेतीले भने, “बजारमा आर्थिक तरलता, होम लोनमा कडाइ, पूर्वाधार विकासका काममा कमीलगायतले माग घट्दै जाँदा पनि उद्योगहरू चल्न सकेनन् ।”
सरकारले बजेटमा स्पन्ज आइरन आयात गर्दा शून्य प्रतिशत तथा ब्लेडमा ५ प्रतिशत भन्सार शुल्क लिने नीति ल्याएको थियो भने एमएस ब्लेड आयातमा भन्सार बिन्दुमै प्रतिकिलो ३ रुपैयाँ ५० पैसा अन्त:शुल्क कायम गरेको थियो । स्पन्ज आइरनमा भने अन्त:शुल्क पूर्ण मिनाहा छ ।
उद्योगीको व्यापक विरोधपछि केही समयअघि सरकारले स्पन्ज आइरनमा १ प्रतिशत भन्सार महशुल कायम गरेको थियो भने एमएस ब्लेडको अन्त:शुल्क एक रुपैयाँ घटाई २ रुपैयाँ ५० पैसा कायम गरेको थियो ।
सरकारको नीतिका कारण लागत बढ्न गएको, स्पन्ज आइरनसँग सम्बन्धित उद्योगसँग बिक्री मूल्यमा प्रतिष्पर्धा गर्न नसकिएको र बजारमा स्टिलको माग पनि कम हुँदै गएपछि एक महिनादेखि स्टिल उत्पादन नै बन्द गर्नुपरेको पञ्चकन्या समूह अन्तर्गत उद्योगका महाप्रबन्धक देवेन्द्र शाहुले बताए । “हाम्रो माग हो– भन्सार शुल्क बराबर गर्नुपर्‍यो र तयारी वस्तुमा लिइने अन्त:शुल्क भन्सार बिन्दुमै कच्चा सामग्री ल्याउँदा लिने नीति खारेज गर्नुपर्‍यो,” महाप्रबन्धक शाहुले भने ।
सरकारको नीतिका कारण उद्योग बन्द गर्नुपरेको रत्न आइरन इन्डस्ट्रिजका प्रबन्ध निर्देशक हेमन्त अग्रवालले बताए । २०४० सालमा भैरहवा पडसरीमा सञ्चालित कास्ट आइरनमा आधारित यो उद्योगबाट विशेषगरी दैनिक प्रयोजनकै फलामे सामान र मेसिनरी पार्टहरू बन्छन् । यो उद्योगबाट ह्यान्डपम्प, ढक लगायत वार्षिक ५ सय टन बराबरका सामान उत्पादन हँुदै आएको थियो । तर कच्चा सामग्री ल्याउँदा भन्सार महशुल, कच्चा सामानमै अन्त:शुल्क लिन थालेपछि लागत बढ्दै गयो । साथै बजारमा आर्थिक मन्दी, उपभोक्ताको क्रयशक्तिमा कमीलगायतले बजार शून्य हुँदै जाँदा बाध्य भएर उद्योग गत साउनदेखि नै बन्द रहेको र कहिले खुल्छ भन्नै नसकिने प्रबन्ध निर्देशक अग्रवालले बताए ।
स्टिल उद्योगहरू धमाधम बन्द हुनुमा सरकारको नीति नै गलत रहेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म न्यौपानेले बताए । “जबसम्म उद्योग तथा औद्योगिक क्षेत्रमैत्री नीति आउँदैन, अन्य उद्योगहरू पनि बन्द हुन्छन् । कोरोनाले धरासायी भएका उद्योगहरूलाई सरकारले सहुलियत दिनुपर्नेमा उल्टै च्याप्दै जाँदा समस्या बढिरहेको छ । स्टिलका कच्चा सामग्री आयातमा लाग्ने भन्सार शुल्क एकै र अन्त:शुल्क भन्सार बिन्दुमै लिने नीति तत्काल खारेज गर्न हाम्रो माग छ,” अध्यक्ष न्यौपानेले भने । सरकारको नीतिले सीमित उद्योगमात्र फस्टाउने वातावरण बन्दै गएको उद्योगीहरूको भनाइ छ । सरकारले एकै उद्योगहरूमा लिएको फरक नीतिले बजारमा प्रतिष्पर्धा नै गर्न नसकेर धेरै उद्योगहरू विस्थापित हुने अवस्था छिटै आउने उनीहरूको तर्क छ । कोरोना भाइरसका कारण सतहमा आएका उद्योगहरू विस्तारै बौरिने क्रममा रहे पनि अहिले फेरि स्टिल उद्योगमा फरक नीति ल्याएर उद्योगीहरूलाई व्यवसाय गर्न सरकारले नै बन्चित गरेको उनीहरूको आरोप छ । बिलेट आयात गरेर स्टिल उत्पादन गर्ने ३० मध्ये ८ वटा उद्योगलाई मात्रै फाइदा पुग्ने गरी अर्थमन्त्री जनार्दन शर्माले बजेटमा व्यवस्था गरेका थिए । “सरकारले कच्चा सामग्रीको भन्सार बिन्दुमै अन्त:शुल्क असुल गरी विश्व व्यापार संगठनको धज्जी उडाएको छ । कुनै पनि कच्चा सामग्रीको नभई तयारी सामानमा मात्र अन्त:शुल्क लाग्छ । यहाँ त उत्पादन नै नभएको वस्तुमा अन्त:शुल्क लाग्यो,” एभरेष्ट रोलिङका प्रबन्ध निर्देशक गोयनकाले भने ।
भैरहवा क्षेत्रमा पञ्चकन्या, एभरेष्ट, एसआर, गोयनका, रत्न, फेरो, काठमाडांै स्टिल लगायतका उद्योगले अन्त:शुल्क तथा भन्सार शुल्क वृद्धि तत्काल फिर्ता लिन माग गर्दै आएका थिए । यस क्षेत्रमा श्री स्टिल सबैभन्दा ठूलो र बढी क्षमताको उद्योग रहेको छ । त्यसैगरी स्पन्ज आइरनबाट सञ्चालित अम्बे स्टिल र लक्ष्मी स्टिल समेत छन् । फेरो स्टिल पनि बन्द अवस्थामा छ । गोयनका र काठमाडांै स्टिलको अवस्था पनि उस्तै छ । उद्योग बन्दसँगै सयौं मजदुर तथा कर्मचारीको रोजीरोटी गुमेको छ भने अर्बौं लगानी जोखिममा परेको छ ।

प्रतिक्रिया दिनुहोस्