Logo

भारतको सिक्किममा सत्यमोहनको स्मृतिमा पुस्तकालय बनाइने

वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको असामयिक निधनप्रति दु:ख व्यक्त गरी भारतको सिक्किममा शोकसभा सम्पन्न गरेको छ । सिक्किम नेवा: गुथि तथा नेवा: भाषा एवं संस्कृति राष्ट्रिय विद्यालयले संयुक्त रूपमा कार्यक्रम सम्पन्न गरेको हो । जोशी गत २०२२ अक्टोबर १६ तारिखमा १०३ वर्षको उमेरमा नेपालको किष्ट अस्पतालमा निधन भएका हुन् ।
कार्यक्रममा सिक्किम नेवा: गुथिका पूर्वअध्यक्ष दिलुकुमार प्रधानले डा. जोशीसँगको भेटवार्ताको अनुभव र उहाँको जीवनीबारे चर्चा गरे । उहाँले सिक्किममा ‘सत्यमोहन जोशी स्मृति पुस्तकालय’ स्थापना गर्ने घोषणासमेत गरे । त्यस्तै, कार्यक्रममा वरिष्ठ साहित्यकार प्रधुम्न श्रेष्ठले शताब्दी पुरुष डा. सत्य मोहन जोशीको जीवनी र कृति बारे चर्चा गरे ।
उनले जोशीका प्रकाशित कृतिहरू अध्ययन गर्नुपर्नेमा जोड दिए । त्यस्तै, विद्यालयका प्राचार्य विकास प्रधानले डा. जोशीबाट लिइएको ज्ञानको स्मरण गर्दै आफ्नो मातृभाषा र संस्कृतिको संरक्षण, सम्बद्र्धन र विकास गर्ने प्रेरणा पाएको बताए ।
कार्यक्रमको सुरुमा जोशीको आत्मशान्तिको लागि कामना गरि मौन धारण गरिएको थियो । सोपश्चात् फोटोमा माला अर्पण गरेर श्रद्धाञ्जली चढाइएको थियो ।
कार्यक्रममा सिक्किम नेवा: गुथिका पूर्वअध्यक्ष एवं नेवा: भाषा एवं संस्कृति राष्ट्रिय विद्यालय सिक्किमका अध्यक्ष भाजु दिलुकुमार प्रधान, वरिष्ठ साहित्यकार प्रधुम्न श्रेष्ठ, विद्यालयका प्राचार्य विकास प्रधान, विनित प्रधान तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्