रमाइलो पर्व तिहार «

रमाइलो पर्व तिहार

तिहार नेपालीहरूको एउटा महत्वपूर्ण तथा दोस्रो ठूलो चाड हो । यसलाई दीपावली तथा यमपञ्चकको नामबाट पनि चिनिन्छ । यो पर्व पाँच दिनसम्म घरघरमा भित्र र बाहिर झिलिमिली बत्ती बाली रमाइलोसँग मनाइन्छ । यो चाड कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन कागतिहारबाट सुरु भई कार्तिक शुक्लपक्ष द्वितीयाको दिन भाइटीका लगाएर सकिन्छ । पौराणिक कथाअनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निमन्त्रणा स्वीकार गर्दै यो पाँच दिन बहिनीको घरमा गई बसेकाले यसलाई यमपञ्चक भनिएको मानिन्छ । उक्त पाँच दिनमा दिदीबहिनीको सेवा र सत्कारबाट प्रसन्न भई आफ्नी बहिनीलाई वर माग भन्दा यमुनाले आफ्ना दाजुभाइ, दिदीबहिनी जहाँ भए पनि आजको दिन हरेक वर्ष भेट्नुपर्ने दिदीबहिनीले दाजुभाइको पूजा गरेर दीर्घायु, सुख, समृद्धिको कामना गर्दै भगवान्सँग प्रार्थना गर्नुपर्ने अनि दाजुभाइ तथा दिदीबहिनीहरूले एकअर्काको सदा उन्नति, प्रगति हुने र आरोग्यमा वृद्धि हुने कामना गर्दै माया, प्रेम, सद्भाव साट्नुपर्ने भनी वर मागिन्, यमराजले तथास्तु भनेर आशीर्वाद दिइबहिनीसँग बिदा भए । त्यस बेलादेखि यो पर्व मनाउँदै आएको मानिन्छ ।
तिहारको पहिलो दिन कागतिहार कार्तिक शुक्लपक्ष त्रयोदशीमा कागको पूजा गरेर मनाइन्छ । काग एउटा चलाख पन्छी हो र यसले मानिसलाई सधैं सहयोग गर्छ । यसलाई यमराजको सन्देश ल्याउने दूतका रूपमा पनि लिइन्छ । यो दिनलाई धन्वन्तरी जयन्ती भनेर पनि मनाइन्छ । तिहारको दोस्रो दिन कुकुर तिहार कार्तिक कृष्ण पक्ष चतुर्दशीको दिनमा कुकुरलाई पूजा गरेर सयपत्री फूलको माला लगाई उसलाई मन पर्ने खानेकुरा खान दिएर मनाइन्छ । कुकुरलाई भैरवको बहान, यमराजको दूत, मानिसको रक्षक अथवा साथी पनि मानिन्छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । तिहारको तेस्रो दिन कार्तिक कृष्ण पक्ष औंसीलाई लक्ष्मी पूजा अथवा गाईतिहार भनिन्छ । गाईलाई लक्ष्मीको प्रतीक, गौमाता अथवा पशुधनका रूपमा लिइन्छ । गाईको गोबरले घर लिपपोत गरेर गहुँतले पवित्र गरिन्छ । यस दिन गाईको पूजा गरेर माला लगाई यसलाई मीठो खानेकुरा पनि खान दिइन्छ । यो दिन औंसीको अँध्यारो रातमा अन्धकारलाई दीपावली गरी उज्यालो प्र्रकाशले आलोकित पारेर आ–आफ्नो घर, ढुकुटी तथा पूजाकोठाका ढोकाहरू खुल्ला गरेर जताततै झिलिमिली बत्ती बाली धन सम्पत्ति र ऐश्वर्यकी देवी लक्ष्मीको आह्वान गरी पूजापाठ गरिन्छ । यो रातलाई सुख रात्रि पनि भनिन्छ । यसै रातमा हामीलाई सुख, सन्तोष साथै अँध्यारोबाट उज्यालोतर्फ अगाडि बढ्ने शक्ति प्रदान गर भनी देवी लक्ष्मीसँग आशिष माग्दै भैलो खेल्ने चलन छ । तिहारको चौथो दिन गोबद्र्धन पूजा कार्तिक शुक्ल पक्ष प्रतिपदाको दिनमा घरघरमा गोवद्र्धन पर्वतको प्रतिमा बनाई पूजा अर्चना गरी मनाइन्छ । यस दिनमा आफ्नो खेतबारीमा सदा सहयोग गर्ने गोरुको पनि पूजा गरिन्छ । हर्षोल्लास र उमंगको साथ देउसी खेलेर रमाइलो गर्ने चलन छ ।
तिहारको अन्तिम दिन भाइटीका कार्तिक शुक्लपक्ष द्वितीयाको दिन भाइटीका गरी मनाइन्छ । यस दिनमा दिदिबहिनी, दाजुभाइ एकै ठाउँमा जम्मा भएर दिदीबहिनीले दियो, कलश, गणेश, स्थापना गरी यमराजको आह्वान गरेर पूजा गर्छन् । त्यसपछि दुबो, तेल, ओखर, कटुस, बिमिरो, आदि सामग्रीको प्रयोग गरेर विधिपूर्वक दाजुभाइलाई पूजा गरी सप्तरंगी टीका र सयपत्री तथा मखमली फूलको माला लगाइदिएर सेलरोटी, अनरसा, मिठाईहरू, थरीथरीका फलफूल तथा काजु, किसमिस, बदाम आदि मसलाहरू दिई सुख, शान्ति, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्छन् । त्यस्तै गरी दाजुभाइले पनि दिदीबहिनीलाई टीका माला लगाइदिएर उनीहरूको सु–स्वास्थ्य, दीर्घायु तथा सफल जीवनको कामना गर्छन् अनि दिदीबहिनीलाई दक्षिण तथा उपहार दिने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्