यहाँका तालतलैया, गुफा, वनवनस्पति, चराचुरुङ्गी, जीवजनावर, सांस्कृतिक विविधता, भाषिक विविधता, पहिरन आदिलाई पनि मिहिन रूपमा पर्यटकीय गन्तव्यको आधार बनाउन सकिन्छ ।
ताप्लेजुङको पहिचान बनेको घोटेको कफी

व्यापार–व्यवसायमा ठाउँको नाम अनि त्यसमा जोडिने पहिचानले बेग्लै महŒव राख्छ । हामी मुढेको आलु, फर्पिङको नासपाती, इलामको चिया, कीर्तिपुरको कपडा, कालीगण्डकीको शालीग्राम, राँकेको खुर्सानी आदिलाई ‘ब्रान्ड’ मान्छौँ । यस्तै ताप्लेजुङ जिल्लास्थित ‘कफी हाउस’ ले पनि उक्त जिल्लाका लागि आफ्नै पहिचान बनाएको छ । हुन त कफी खेतीका लागि गुल्मीले आफ्नै पहिचान बनाएको छ, तर अन्यत्र पाउने कफीभन्दा फरक स्वाद र फरक तरिकाले बनाइने कफीको चुस्कीले जो–कोहीको मन तान्छ । अन्यत्र सामान्य रूपमा हामीले बुझेको स्वादभन्दा फरक शैली र स्वाद खोज्न ताप्लेजुङेहरू त्यतातिर मोडिन्छन् । यो मोहलाई मूल्याङ्कन गर्ने हो भने ताप्लेजुङ तोक्मेडाँडामुनि (ब्यारेक छेउ) को कफी हाउसको क्षेत्रमा घोटेर बनाइने कफीलाई ताप्लेजुङ जिल्लाको पहिचान मान्नु वाञ्छनीय लाग्यो ।
ताप्लेजुङका पहाड र हिमाली दृश्यको सौन्दर्यलाई नियाल्दै कफीको स्वाद लिनका लागि अहिले यो स्थान विभिन्न जिल्लाको पर्यटकीय गन्तव्य बन्दै गएको छ । फुङलिङ नगरपालिका–७ स्थित ‘न्यू स्टार कफी सेन्टर’ का संयोजक गणेश नेपालका अनुसार घोटेर बनाइने कफीलाई राम्ररी तयार पार्न एउटा मीठो खाद्य परिकार तयार पार्नुभन्दा कम चुनौतीपूर्ण हुँदैन । मात्रा मिलाएर चिनी, प्रशोधित कफीको धूलो र तातो पानीलाई लेदो बनाएर कफी घोट्नलाई मात्रै करिब १५ देखि २० मिनेट लाग्ने संयोजक नेपालको राय रहेको पाइयो । यद्यपि उक्त प्रशोधित कफीको धूलो नेपालदेखि नभएर भारतबाट आउने कुराले मन छर्लङ्ग भयो । वास्तवमा आर्थिक समुन्नति र विकासमा कफीले खेल्ने भूमिकालाई नेपालले बोध गर्नुपर्ने देखिन्छ । नेपालमा आफ्नै उत्पादनलाई प्रशोधन गरेर नेपाल सरकारले उक्त व्यवसाय प्रवद्र्धन र विकासमा ठोस कदम चाल्नु अत्यावश्यक छ । यसलाई व्यावहारिकता प्रदान गर्न सके यो व्यवसायले राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा नै आफ्नो गरिमा बढाउँदै आर्थिक विकास र रोजगारको अवसरलाई बढावा दिन सक्ने कुरामा अत्युक्ति रहन्न ।
संयोजक नेपालका अनुसार ताप्लेजुङमा सर्वप्रथम २०४५ सालमा स्थानीय व्यवसायी सीता गौतमले घोटेको तातो कफी निर्माणको थालनी गर्नुभयो । उहाँले उक्त कार्यलाई कतै कसैबाट सिकेर, हेरेर वा पढेर निर्माण गर्नुभएको थिएन । त्यसपश्चात् उक्त स्थानले बिस्तारै ‘कफी हाउस’ को नामकरण गर्ने अवसर पायो । हाल सो स्थानमा दसवटाभन्दा बढी घोटेको कफी बेच्ने पसल स्थापना भएका छन्, यद्यपि यो स्थानले बनाएको पहिचान भने तात्कालिक समयमा मेची अञ्चलसम्म विस्तार गरेको अग्रजहरूको मत छ । ताप्लेजुङको सो स्वादलाई हाल राजधानीको कोटेश्वरस्थित ‘ताप्लेजुङ खाजा घर’ ले प्रदान गर्दै आएको पाइयो । संयोजक नेपालले ताप्लेजुङको उक्त शैलीलाई मीना आचार्य बरालद्वारा त्यहाँबाट सिकेर राजधानीसम्म पुर्याएको तथ्य पेस गरे । घोटेर बनाइने फरक शैलीको यस प्रकृतिको कफीको गुणस्तर र निर्माणको प्रकृतिलाई पाँचतारे होटलले पनि विरलै उपयोग गरेका हुनन् । यही कारणले पनि हुन सक्छ— उक्त कफीको स्वादले हाल आएर विभिन्न जिल्लाका बासिन्दालाई एक फरक पहिचान दिइरहेको छ र बिस्तारै ताप्लेजुङ जिल्लाकै पहिचान बनाउने जमर्को गरिरहेकै देखिन्छ ।
ताप्लेजुङमा केही पसलमा चाहिँ आधुनिक प्रकृतिको चिसो कफीको पनि व्यवस्था गरिने रहेछ । हुन त यो कफी पाँचतारे होटेलतिर पनि पाइन्छ । यसलाई तयार पार्न आइस, तताएर फ्रिजमा राखिएको चिसो दूध, आवश्यकताअनुसार चिनी, कफी पाउडर, चक्लेट सिरफ र थोरै मात्रामा कोको पाउडर (कफी जस्तै धूलो) लाई ग्रेन्डर मेसिनमा हालेर घोलिने रहेछ । संयोजक नेपालका अनुसार एउटा तातो कफीमा १० रुपैयाँ र चिसोमा करिब २० रुपैयाँ नाफा हुन्छ ।
इतिहासतिर नजर लगाउँदा विश्वमा ब्राजिल सबैभन्दा बढी कफी उत्पादन गर्ने देश हो भने अमेरिका सबैभन्दा बढी खपत गर्ने मुलुक हो । हजारौँ टन कफीको आयात–निर्यात गर्ने विश्वबजारले अर्थतन्त्रको आरोह–अवरोहमा ठूलो प्रभाव पारिरहेको अर्थविद्हरूको मतलाई हामीले बोध गर्नु आवश्यक देखिन्छ । नेपालले यहाँको प्राकृतिक विशेषताअनुरूप कफीजन्य बालीको उत्पादन, उपयोग र आम्दानीलाई गुणस्तरीय व्यवस्थापन गर्नु अपरिहार्य छ । कफीलाई एउटा पेय पदार्थका रूपमा प्रयोग गरिने नगदे बाली भनेर चिनिन्छ । यसको विकास अफ्रिकाको इथियोपियाबाट भएको पाइन्छ । त्यहाँको ‘कफा’ भन्ने स्थानमा यो बाली लगाइएपछि यसलाई ‘कफी’ नाम दिएर न्वारन गरिएको अध्येताको मत रहेको छ । हाल आएर एसियाको दक्षिणपूर्वी क्षेत्रमा पनि उत्तिकै पैmलिएको यसको व्यावसायिक विकासले विश्वमा दक्षिण अमेरिका, मध्यअमेरिका, अरेबियन मुलुक, नेदरल्यान्ड, भारत हुँदै विश्व बजारमा यसको माग बढेकै बोध हुन्छ । अझ अरबियनहरूले चाहिँ पेय पदार्थको रूपमा प्रयोग गरे । भारतको इतिहासमा भने मुस्लिम धर्मावलम्बीहरूले गोप्य रूपमा त्यहाँ भिœयाएको अध्येताको मत छ । यसपश्चात् इथोपिया हुँदै सन् १६२५ बाट रोममा यसको व्यापारको प्रारम्भ भयो भने सन् १६२५ मा आइपुग्दा बेलायतमा ३ हजार बढी कफी हाउस खोलिएको इतिहास पढ्न पाइन्छ । यता नेपालतिर हेर्दा वि.सं. १९९५ मा हीरा गिरीद्वारा कफीको खेती सुरु गरिएको मत पाइन्छ । एवम् क्रममा वि.सं. २०४९ मा आएपछि राष्ट्रिय चिया तथा कफी विकास बोर्ड नै स्थापना हुन पुग्यो । हाल नेपालका ४० भन्दा बढी मध्यपहाडी जिल्लामा यसको व्यावसायिक खेतीले अस्तित्व विकास गरिसकेको देखिन्छ । तापक्रम र सापेक्षित आद्रताका आधारमा करिब ३ हजार फिटको उचाइमा उत्पादित कफीमा विषादीको उस्तो प्रयोग नहुने तथा यसबाट साइटोअक्टिभ अर्थात् मस्तिष्कीय चुस्की दिने अर्थमा पनि यसको महŒव बढेको देखिन्छ । यसका बारेमा अध्ययन गर्ने विज्ञहरूले औषधि विज्ञानसँग पनि जोडेर हेर्ने गरेको पाइन्छ ।
एक हिसाबमा त चिया, कफीजन्य पेय वस्तु वास्तवमा लत बस्ने पदार्थ पनि हो । सबैले चिया या कफी पिउँछन् नै भन्ने पनि होइन, तथापि चियाको तुलनामा धेरैले कफी मन पराएको देखिन्छ । समग्रमा कफी व्यवसायलाई नेपालले नवीन आयामबाट स्थापित गर्नु वाञ्छनीय छ । ताप्लेजुङको घोटेको कफीको चर्चा र स्वादलाई त्यहाँको परिवेशले पनि सहयोग गरेको हुन सक्छ । यस्तै स्वादलाई व्यावसायिकता प्रदान गर्दै जाने हो भने नयाँपनसँग नयाँ आयस्रोतको आधार विकास हुन सक्छ । पछिल्लो समयमा कृषकहरूले व्यावसायिक प्रवद्र्धन र विकासका लागि अपनाएका तौरतरिकालाई समय, स्थान र उपलब्धिका आधारमा अनुसन्धान गर्दै अपनाइनु बढी वाञ्छनीय देखिन्छ । ताप्लेजुङको प्राकृतिक सौन्दर्य, विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा अनि चर्चित धार्मिक तथा पर्यटकीय गन्तव्य पाथीभराको बेग्लै पहिचान त छँदै छ । उता छिमेकी दुई देश चीन र भारत दुवैसँग सीमा जोडिएको मुलुकका रूपमा ताप्लेजुङ र दार्चुलाको नाम पनि आएकै हुन्छ । वस्तुत: यहाँका तालतलैया, गुफा, वनवनस्पति, चराचुरुङ्गी, जीवजनावर, सांस्कृतिक विविधता, भाषिक विविधता, पहिरन आदिलाई पनि मिहिन रूपमा पर्यटकीय गन्तव्यको आधार बनाउन सकिन्छ । यसअतिरिक्त घोटेको कफीले पनि आफ्नै गन्तव्य बनाएको ठहर गर्न सकिन्छ ।