विकास र पूर्वाधार : स्थानीय युवा नेतृत्व त्यसको आधार : नेत्रृ पोखरेल

विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले आफ्नो स्वार्थपूर्ति र अनुकूलता हेरी चुनावी क्षेत्र परिवर्तन गर्ने क्रम बढिरहेको छ । यसरी चुनावी क्षेत्र रोज्दै हिड्ने नेताले त्यस क्षेत्रमा चुनाव जितेपछि फर्केर नजाने चलन पनि जगजाहेर छ ।
यसले दिक्दार भएका नागरिकहरुले पहिल्लो समय स्थानीय युवा उम्मेदवारलाई रोज्न थालेका छन् । त्यसै मेसोमा आसन्न मंसिर ४ मा हुने आमनिर्वाचनको लागि काठमाडौं निर्वाचन क्षेत्र नं. २ मा युवा उद्येमी तथा समाजसेवी कुन्तीदेवी पोखरेलले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी छन् ।
युवा नेतृ पोखरेलले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएकी हुन् । उनी राप्रपाको सम्पन्न महाधिवेशनमा सर्वाधिक मतले केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् । नेतृ पोखरेलले काठमाडौं २ मा विगत लामो समयदेखि आयातित टुरिष्ट नेताले चुनाव जितेका कारण विकास निर्माण ओझेलमा परेको बताएकी छन् ।
उनले काठमाडौं २ बाट तत्कालीन एमाले महासचिव माधवकुमार नेपालले चुनाव जितेर प्रधानमन्त्री भए, नेतृ विद्यादेवी भण्डारीले चुनाव जितिन् । त्यसैको आधारमा पछि मुलुकको दुई–दुई पटक राष्ट्रपति भइन् ।
तर यी दुवै नेताले पदमा पुगिसकेपछि त्यो ठाउँको विकास निर्माण र जनताको अवस्था के छ भनेर बुझ्न एकपटक गएनन् । अर्का माओवादी नेता झक्कुप्रसाद सुवेदीले चुनाव जितेपछि पलयान नै भए । न उनलाई त्यस क्षेत्रमा कसले भोट दियो भनेर थाहा छ । न त ती भोटरलाई नै हामीले कसलाई भोट दियौं भनेर थाहा छ । त्यसकारण काठमाडौं २ का नागरिकले अब स्थानीय युवा नेतालाई छान्नुपर्ने पोखरेलको सुझाव छ ।