दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरु «

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरु

बाराको जितपुर–सिमरामा बन्ने बहुप्रतिक्षित दोस्रो अन्तराष्ट्रिय विमानस्थलको काम सुरु हुने भएको छ । एक वर्षअघि चार किल्ला छुट्याइ सीमांकन गरिएको आयोजनाले ६ महिनाअघि वातावरण्य प्रभाव मूल्यांकन प्रतिवेदन सार्वजनिक गरे पनि सुस्त रहेको आयोजनाले एक सातायता मुआब्जा वितरण गर्न थालेपछि निर्माण तयारीका लागि काम धमाधम सुरु भएको हो ।
कोहल्बी नगरपालिका काटगाउँका बासिन्दाहरूले सरकारले तय गरेको मुआब्जा कम भएको भन्दै अटेर गरेका थिए । स्थानीयले राज्यका सबै निकायमा पुगे पनि कतै सुनुवाई नभएपछि मुआब्जा लिँदै छाड्न थालेपछि विमानस्थलको कामले गति पाएको हो ।
काटगाउँ र ककडीका ५५ घरले मुआब्जा लिन आयोजनामा निवेदन दिएको विमानस्थल सिमराका वरिष्ठ अधिकृत विजय यादबले जानकारी दिए । अन्य ५० घरधुरीले पनि निवेदन दिएपछि अव आयोजनाको कामले गति लिने उनको भनाइ छ । विमानस्थल निर्माणका ११ हजार ८ सय बिघा क्षेत्रमध्ये विमानस्थलभित्र पर्ने १ सय १० बिघा नम्बरी जग्गा अधिग्रहण गर्न आयोजना सफल भएको छ । अव १ महिनाभित्र ईआईए प्रतिवेदन मन्त्रालयमा पेश गरिनेवित्तिकै सेनाद्वारा रुख काट्ने काम सुरु हुने आयोजनाले जनाएको छ । विमानस्थल पश्चिमको पसाह खोलामा ७ सय ५० मिटर लम्बाईका तटबन्ध निर्माण कार्यसमेत धमाधम भभइरहेको छ ।
धावनमार्ग अनुसन्धानका लागि आयोजनाले हावाको चाप, दिशा, मापन र तथ्यांक संकलनका लागि मेट्रोलोजिकल डाटा मापन अत्याधुनिक यन्त्र सञ्चालनमा ल्याएको आयोजनाका अर्का अधिकृत शम्भुकुमार मण्डलले बताए । उनले विमानस्थलको मध्यभागमा पर्ने टागिया वस्तीका १ हजार ४ सय ७६ घरधुरीका विषयमा (ईआईए) अनुसार काम अघि बढ्ने बताए ।

हराउँदै २ गाउँ
राष्ट्रिय गौरवको आयोजनाका रुपमा बारा जिल्लामा निर्माण हुने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका कारण टाँगिया वस्ती र काटगाउँका दुई वस्ती विस्तापित हुनेछन् ।
काटगाउँका नम्बरी जग्गा भएकाहरूले मुआब्जा लिँदै अन्यत्र जान थालेका छन् भने सरकारी स्वामित्वका ऐलानी जग्गामा बसोवास गर्दै कृषि पेसामा आवद्ध टागियावस्तीका १४ सय ७६ घरघुरी अन्योलमा छन् ।
सरकारले व्यवस्था गरेलगत्तै यी दुई वस्तीको परिचय नै हराउने छ । तामाङ, मगर, बाहुन, दमाई, कामी, माघी, कोइरी तथा जनजाति गरी १ हजार ४ सय ७६ घरधुरी भएको टाँगिया वस्तीको बीचमै धावनमार्ग निर्माण हुने भएकाले सो वस्तीलाई अन्यत्र सार्नुपर्ने हुँदा आफूहरू कहाँ गएर बस्ने भन्ने चिन्ता त्यहाँका बासिन्दाको छ ।
२०३१ र २०३२ मा तत्कालीन राजा वीरेन्द्रले बसाएको टाँगिया वस्तीमा सिँचाइ सुविधा प्रशस्त भएपछि त्यहाँका किसान मुख्य रुपमा मकै, धान, गोलभेंडा र सुर्ती खेती गरी आर्थिक रुपमा सम्पन्न हुँदै आएको स्थानीयवासीको भनाइ छ ।
“विकासका लागि हामी टाँगिया वस्ती खाली गराउन तयार छौं, तर सरकारले सोको सट्टामा अर्को ठाउँमा बस्ती बसाउन जग्गा उपलब्ध गराउनु पर्छ,” टाँगिया वस्ती सरोकार संघर्ष समितिका संयोजक मुक्ति लामाले भने ।

प्रकाश लम्साल

प्रतिक्रिया दिनुहोस्