महिला क्रिकेट: सशस्त्र प्रहरी र पुलिस फाइनलमा

पोखरा–महिला क्रिकेटको उपाधिको लागि नेपाल पुलिस क्लवले सशस्त्र प्रहरी बलबीच प्रतिस्पर्धा हुने भएको छ ।
पुलिसले मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा उपाधिको लागि सशस्त्र प्रहरी बलसँग खेल्ने भएको हो । ज्योति पाण्डेको अविजित ६९ रनको पारीमा सशस्त्र प्रहरी बलले लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गर्दै फाइनल प्रवेश गर्यो । १३० रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ६२ रनमा समेटियो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमवार पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनलमा टस हारेको सशस्त्रले १२९ रनको योगफल तयार पारेको थियो । पाण्डेले ओपनिङ गर्दै ६१ बल खेल्दै ६९ रनमा अविजित रहिन् । उनले ७ चौका प्रहार गरिन् । सशस्त्र प्रहरीले २० रनको योगफल बनाउँदा पहिलो विकेटका रूपमा सीता राना मगरलाई गुमाएको थियो । मगरले ११ रन जोडिन् । दोस्रो विकेटको रुपमा इन्दु बर्मा ६ रनमा आउट भइन् । ममता चौधरीले १६ रनमा आउट हुँदा ओपनर पाण्डे र रोमा थापाले ५५ रनको साझेदारी गरेका थिए । रोमा १२ रनमा अविजित रहिन् । कृतिका मरासिनीले दुई विकेट लिइन् ।
१३० रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ६२ रनमा समेटिएको थियो । पहिलो विकेट १८ रनमा गुमाएको लुम्बिनीका लागि सुस्मिता बजगाईंंले सर्वाधिक १२ रन जोडिन् । उनले २३ बल खेल्दै १ चौका प्रहार गरिन् । अन्य व्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । लक्ष्मी चौधरीले ५ रन बनाउँदा आस्मा पुलामी मगरले ६ रन बनाइन् । मधु डिसीले ५ रन बनाउँदा ७ बल खेल्दै १ चौका स्कोर बोर्डमा लेखिएको थियो । नेरी थापाले ४ ओभरमा ७ रन खर्चिंदै ४ विकेट लिइन् ।
दोस्रो खेलमा टस हारेर व्याटिङ गरेको नेपाल पुलिस क्लवले बागमती प्रदेशलाई ३६ रनले पराजित गर्दै फाईनल प्रवेश गरेको छ । टस हारेर ब्याटिङ गरेको नेपाल पुलिसले ४ विकेटको क्षतिमा १२३ रनको योगफल तयार पारेको हो । ओपनर काजल श्रेष्ठले ५१ बल खेल्दै ५ चौकासहित ४६ रनको योगदान दिइन् । कविता कुँवरले २६ रन जोडिन् । पहिलो विकेटका लागि नेपाल पुलिसले ७० रनको महत्वपूर्ण साझेदारी निभाए । मध्यक्रमका ब्याटरको रन उल्लेल्य रहेन । कप्तान रुबिना क्षेत्री र कविता जैसी अविजित रहने क्रममा १७ र १५ रन जोडिन् । कविताले ९ बल खेल्दै १ छक्का हिकाइन् । बागमतीकी अस्मिना कर्माचार्य, खुसी डंगोल र सुमन खतिवडाले १/१ विकेट लिए ।
१२४ रनको लक्ष्य पछ्याएको वागमती प्रदेश ८७ रनमा समेटिएको छ । पहिलो ओभरमा नै विकेट गुमाएको वागमतीले ओपनरलाई सस्तैमा गुमाएको थियो । सुमन खतिवडाले २३ रन बनाइन् भने अस्मिना कर्माचार्यले ३५ बलमा १८ रन बनाइन् । आरती भण्डारीले अविजित ११ रन जोडिन् । कविता कुँवरले ४ ओभरमा ६ रन दिएर ३ विकेट लिइन् । ईश्वरी बिष्टले २ विकेट लिइन् ।