Logo

बैंकको किस्ता तिर्ने समय २ वर्ष नथपे होटलहरू बन्द गर्छौं: हान

होटल संघ नेपालले बैंकको सावा ब्याजको किस्ता तिर्ने समय २ वर्ष थप नगरे होटलहरू बन्द गर्ने सरकारलाई चेतावनी दिएको छ । होटलहरूको छाता संगठन होटल संघ नेपालले तत्काल बैंकको सावा ब्याज तिर्न नसक्ने घोषणा गरेको हो । संघले कोभिडबाट थलिएको होटल उद्योग अझै पनि सामान्य अवस्थामा नफर्किएको भन्दै थप दुई वर्षसम्मका लागि बैंकको सावा ब्याज पुन: तालिकीकरण उपलब्ध गराउन सरकारसँग माग गरेको छ । संघका उपाध्यक्ष विनायक साहले सरकारले तत्काल थप दुई वर्षसम्मका लागि बैंकको सावा ब्याज पुन: तालिकीकरण गर्नुपर्ने बताए ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै सोमवार उपाध्यक्ष साहले सरकारले कोभिडको समयमा होटलहरूलाई दिएको बैंकको सावाँ,ब्याज तिर्ने समय खारेज गर्दा थप समस्या भएको बताए । उनले सरकारले कोभिडको मारको कारण अतिप्रभावित उद्योगका रूपमा हेरेकाले अझै अतिप्रभावित नै रहेकाले व्यवसायीहरूको मागलाई सम्बोधन गर्नुपर्ने बताए ।
उपाध्यक्ष साहले विगतको भन्दा होटलहरू सामान्य सुधार भएपनि पूर्णरूपमा सञ्चालनमा आउन नसकेको बताए । उनले अहिले पनि होटलहरू दैनिक घाटामा नै सञ्चालनमा रहेका बेलामा पनि बैंकहरूले असोज मसान्तमा तिर्नुपर्ने सावाँब्याज तिर्न दबाब दिइरहेको बताए । उपाध्यक्ष साहले पोखरा र भैरहवाका होटल व्यवसायीहरूले असोज मसान्तमा तिर्न सक्दैनौं भनेर घोषणा गरेको भन्दै देशभरका होटलहरूमा एउटै अवस्था आएकाले सरकारले समय थप नगरे होटलहरू बन्द गर्नुपर्ने चेतावनी दिए । उहाँले होटलहरूलाई तिर्नुपर्ने सावाँब्याज तिर्दै नतिर्ने व्यवसायीहरूले नभनेको भन्दै बैंकहरूलाई सावाँब्याज तिर्ने तर समय दिनुपर्ने बताए ।
उनले भने, ‘साढे तीन वर्षदेखि कोरोना महामारीको कारण होटल उद्योग थलिएको छ । सरकारले अतिप्रभावित उद्योग भनेर छुट्याएको थियो । गत आर्थिक वर्षहरूमा बजेट र मौद्रिक नीतिहरूले होटलहरूले बैंकहरूबाट लिएको सावाँब्याजमा दिने समय थप गरेको थियो । चालू आर्थिक वर्षदेखि होटलहरूलाई दिएको सहुलियत खारेज गर्‍यो । सरकार,राष्ट्र बैंक र बैंकहरूले होटलहरू सामान्य अवस्थामा आएको भन्ने भएको छ । साढे तीन वर्षपछि पछिल्लो समय केही लयमा आएको वास्तविकता हो । तर, होटलहरूले ब्रेक इभेन्ट कमाउन सकिए रहेका छैनौं । हेरेक दिन होटलहरू घाटामा नै छन् । घाटामा नै होटलहरू सञ्चालन गरिरहेका छौं । होटलहरू पूर्णरुपमा चलेको अवस्था छैन । यस्तो अवस्था बैंकहरूले असोज मसान्तमा तिर्नुपर्ने सावाँ ब्याज तिर्न दबाब दिएका छन् । होटलहरूले धान्नसक्ने अवस्था छैन । पोखरा र भैरहवाका होटल व्यवसायीहरूले तिर्न सक्दैनौं भनेर घोषणा गर्नुभएको छ । देशैभरका होटलहरूमा एउटै अवस्था आएको छ । असोज मसान्तसम्म तिर्नुपर्ने सावाँ ब्याजलाई केही समय पछाडि सार्नका लागि सरकारसँग माग गर्छौं । होटलहरूले नतिर्ने भनेको होइन तिर्नुपर्ने सावा ब्याज तिर्छाैं । तर, होटलहरूलाई समय चाहिन्छ । हामीलाई थप दुई वर्ष समय थप चाहियो । अहिले पनि होटल उद्योग अतिप्रभावित क्षेत्रमा नै छौं । कोरोनासँगै रूस र युक्रेनको लडाइँ चलिरहेको छ भने प्रतिनिधिसभाको निर्वाचन तत्कालै आइरहेको छ । नेपालमा तत्काल पर्यटक बढी हाल्ने अवस्था पनि छैन । बैंकहरूले सावा ब्याज तिर्न नसकेर सरकारसँग हारगुहार गरेका छौं । सरकारले होटल व्यवसायीहरूका कुरा सुनिदिएन भने होटलहरू क्रमिक रुपमा बन्द हुने अवस्था आउँछ । होटल बन्द हुने अवस्था नओस् भने होटल एशोसिएशन को चाहना हो । चालू आर्थिक वर्षको बजेट मौद्रिक नीतिमा होटल व्यवसायीका मागहरू केही पनि सम्बोधन भएन । निरन्तर होटल व्यवसायीहरूको माग सम्बोधनको लागि माग गरिरहेका छौं तर हाम्रो मागको सुनुवाइ कतैबाट पनि भएको छैन । होटल उद्योगको लगानी बचाउनको लागि हामी अलि कडा रूपमा अगाडि आएका छौं । एकपछि अर्को गरेर बैंकहरूले ब्याज बढाउने र अनि सावाँ ब्याज तिर्न दबाब दिने मात्रै नभएर आम्दानी गर्ने स्रोत बनाइदिनुपर्छ । सरकारले विदेशी पर्यटन नेपालमा ल्याउने कुरामा ध्यान दिएको छैन । सरकारले होटल व्यवसायीहरूको मागलाई कसरी सम्बोधन गर्छ त्यहीअनुसार हान अगाडि बढ्छ ।’
उनले अहिलेको परिस्थितिमा होटलहरूले लिएको सावाँको किस्ता र त्यसमा वहन गर्नुपर्ने ब्याज तिर्ने जिम्मेवारी रहेको भएपनि कुनैपनि हालतमा बैंकलाई सावाँब्याज बुझाउन असक्षम रहेको बताए । उनले यो वर्ष ५ लाख पर्यटक पनि ल्याउन नसकेकाले होटल उद्योग ५० प्रतिशत पनि चल्न नसकेको बताए । साहले कोरोना महामारीको असर समाधान नहुँदै देखिएको रसिया–युक्रेनको जारी युद्धको प्रभाव, नेपालमा तीव्र रूपमा फैलिरहेको डेंगुको प्रकोपले पर्यटन क्षेत्रमा नकारात्मक असर पुर्‍याएको बताए ।
उनले अहिले पर्यटक बढी आउने सिजनमा आसन्न निर्वाचनले समेत प्रत्यक्ष रुपमा पर्यटन आगमन र गतिविधिलाई कम गर्ने बताए । उनले अहिले बढ्दो ब्याजदरले होटल उद्योग धान्नै नसकिने भएकाले एकल अंकमा झारी लगानी प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्