४५ कम्पनीले मागे ब्रोकर लाइसेन्स

नयाँ ब्रोकर कम्पनीका लागि ४५ वटा आवेदन परेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सूचना अधिकृत मुराहरि पराजुलीका अनुसार नयाँ ब्रोकर कम्पनीका लागि ४५ वटा आवेदन परेकोमा ४५ वटा नै धितोपत्र बोर्ड समक्ष सिफारिस गरिएको छ ।
सोमबार आवेदन दिने अन्तिम दिनसम्म नयाँ ब्रोकर कम्पनी खोल्न ४५ वटा आवेदन परेकोमा नेप्सेले सबै आवेदन सोमबार नै धितोपत्र बोर्डमा पठाएको छ । बोर्डले वितरण गर्न लागेको नयाँ ब्रोकर लाइसेन्स तीन किसिमका हुनेछन् । पुँजी संरचनाका आधारमा फरकफरक सेवा प्रदान गर्ने गरी बोर्डले तीन किसिमको ब्रोकर लाइसेन्स वितरण गर्न लागेको हो । बोर्डले तोकेको पुँजी संरचनाअनुसार सीमित दायराको पहिलो तहको ब्रोकरका लागि २० करोड रुपैयाँ, सेयर खरिदबिक्री गर्नेसँगै डिपीको रुपमा काम गर्ने, लगानी परामर्श सेवा एवम् लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरा सहितको दोस्रो तहको ब्रोकरको चुक्ता पुँजी ६० करोड रुपैयाँ र तेस्रो तह स्टक डिलरका लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी हुनुपर्नेछ ।
एक १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने तेस्रो तहको ब्रोकर कम्पनी स्टक डिलरका लागि नबिल सेक्युरिटिजको मात्र आवेदन परेको छ भने ६० करोड रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने सेयर खरिदबिक्री गर्नेसँगै डिपीको रुपमा काम गर्ने, लगानी परामर्श सेवा एवम् लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवा समेत दिने पूर्ण दायरा सहितको दोस्रो तहको ब्रोकर कम्पनीको लागि हिमालयन सेक्युरिटिज, सेञ्चुरी सेक्युरिटिज, मेगा स्टक मार्केट गरी तीन कम्पनीले आवेदन दिएका छन् ।
बाँकि ४१ वटा कम्पनीले २० करोड चुक्ता पुँजीसहित सीमित दायराको पहिलो तहको ब्रोकरका लागि आवेदन दिएका छन् । पछिल्लो व्यवस्था अनुसार ग्राहकबाट सेयर किनबेचको आदेश लिने काम मात्र गर्ने ब्रोकरका लागि चुक्ता पुँजी २० करोड हुनुपर्नेछ ।
बोर्डले २ असोजमा ३० दिनको समय तोक्दै ब्रोकर लाइसेन्सको आवेदन खुला गरेको थियो । जसअनुसार अन्तिम दिन ३१ असोजसम्ममा ४५ कम्पनीले आवेदन दिएका हुन् । ब्रोकर लाइसेन्सका लागि बोर्डमा निवेदन दिनुपूर्व धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्जसँग सिफारिस लिनुपर्नेछ ।
ब्रोकर कम्पनीको लागि आवेदन दिनेमा ११ वटा वाणिज्य बैंक पनि छन् । नेप्सेका अनुसार आवेदन दिने बैंकहरूमा हिमालयन, एनआईसी एशिया, प्रभु, माछापुच्छ«े, मेगा, एनएमबि, राष्ट्रिय वाणिज्य बैंक, नबिल, सानिमा, सनराइज र सेञ्चुरी कमर्सियल बैंक हुन् ।
तर, निर्वाचन आयोगले शुक्रबार धितोपत्र बोर्डसहित विभिन्न नियामकहरूलाई चुनावअघि लाइसेन्स वितरण गर्न लागिएको भन्दै स्पष्टीकरण सोधेको छ । बोर्डले पठाएको स्पष्टीकरण चित्त बुझेमा मात्रै आयोगले तत्काल यसमा रोक लगाउने छैन । अन्यथा रोक लगाएमा आवेदकले चुनावपछि मात्रै ब्रोकरको अनुमति पाउने छन् ।
दुई असोजमा नै बोर्डले ब्रोकर लाइसेन्ससँगै एक नयाँ स्टक एक्सचेञ्ज र दुई वटा वस्तु विनिमय (कमोडिटी एक्सचेञ्ज) बजार सञ्चालनका लागि एकै पटक आवेदन माग गरेको थियो । ब्रोकर लाइसेन्सका लागि ३० दिनको समयसीमा दिएको बोर्डले स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जका लागि ४५ दिनको समयसीमा तोकेको छ ।