Logo

टिकटकसहित साढे पाँच सय कम्पनीको ट्रेडमार्क दर्ता प्रक्रियामा

औद्योगिक बौद्धिक सम्पत्तिप्रति व्यवसायीहरुको चासो बढ्न थालेको छ । चालू आर्थिक वर्षको पहिलो दुई महिनासम्ममा ५ सय ६४ वटा ट्रेडमार्क दर्ताका लागि आवेदन परेको छ ।
उद्योग विभागका अनुसार यसरी आवेदन दिनेमा स्वदेशी तथा विदेशी दुवै कम्पनीहरु रहेका छन् । पछिल्लो समय निकै चर्चित सामाजिक सञ्जाल टिकटक लगायतका विदेशी कम्पनीहरुले ट्रेडमार्क दर्ता प्रक्रिया अघि बढाएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । “हामीले पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐनअनुसार ट्रेडमार्क दर्ता गर्नुपूर्व दावी विरोध गर्न मौका दिने प्रयोजनार्थ दर्ताका लागि आवेदन परेकाहरुको सूची सार्वजनिक गरिसकेका छौं,” महानिर्देशक तिवारीले भने, “ऐन अनुसार सूचना प्रकाशित भएको ९० दिनभित्र उजुरी गर्न सकिनेछ र सो मितिमा उजुरी नपरे स्वत: दर्ता प्रक्रिया अघि बढ्ने व्यवस्था छ ।” उनका अनुसार कसैले आफ्नो अधिकार रहेको वस्तु तथा सेवाको ट्रेडमार्क दर्ताका लागि निवेदन दिएको पाइए आफ्नो आधार प्रमाण समेत संलग्न राखी निवेदन दिनुपर्नेछ र यस्तो निवेदनमाथि विभागले सुनुवाई गरी निर्णय गर्नेछ ।
विभागमा ट्रेडमार्क दर्ताका लागि टिकटकले पनि निवेदन दिएको छ । टिकटकको लोगो र टिकटक डिभाइस लोगो दर्ताका लागि लन्डनस्थित कार्यालयबाट निवेदन प्राप्त भएको विभागले जनाएको छ । टिकटक इन्फरमेसन टेक्नोलोजिज युके लिमिटेडका नाममा निवेदन प्राप्त भएको र नियमानुसार दर्ता प्रक्रिया अघि बढेको उल्लेख छ । यस्तै, चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेसन, हवाई कम्पनी क्याथे ड्रागन, एरिक जुत्ता, कोमात्सु, स्ट्यान्र्ड चार्टर्ड पीएलसी, कतार एयरवेज ग्रुप लगायतका विदेशी कम्पनीहरुले ट्रेडमार्क दर्ताका लागि निवेदन दिएका छन् । विभागका अनुसार ट्रेडमार्क दर्ताका लागि निवेदन दिने स्वदेशी कम्पनीहरुमा आईएमई पे, हुलास पेन्ट्स, पशुपति पेन्ट्स शक्तिकोल, करेन्ट हट एन्ड स्पाईसी नुडल्स, गोर्खा क्राफ्ट बियर, जे ८९, बिग मास्टर वाइन, लकडाउन किङ, हिमालय एयरलाइन्स लगायत रहेका छन् ।
उद्योग विभागका अनुसार गत आर्थिक वर्षमा ट्रेडमार्क दर्तामा २३.८ प्रतिशतले वृद्धि भए पनि डिजाइन दर्तामा ३३.९२ प्रतिशतले गिरावट आएको छ । यस्तै, प्याटेन्ट दर्तामा पनि ६६.६६ प्रतिशतले कमी आएको छ । ट्रेडमार्क दर्ताका निमित्त सरकारले लघु, घरेलु, साना तथा मझौला उद्योगका लागि नि:शुल्क दर्ताको सुविधा उपलब्ध गराएको थियो । सोही कारण यसमा सामान्य वृद्धि देखिए पनि प्याटेन्ट र डिजाइन दर्तामा भारी गिरावट आएको हो । विभागका अनुसार गत आर्थिक वर्ष (२०७८/०७९)मा २ हजार ९ सय ७५ को संख्यामा ट्रेडमार्क दर्ता भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ५७२ (२३.८ प्रतिशत)ले बढी हो । अघिल्लो आवमा २ हजार ४०३ ट्रेडमार्क दर्ता भएका थिए । यससँगै मुलुकमा ट्रेडमार्क दर्ता संख्या ५६ हजार २७ पुगेको हो ।

डिजाइन र पेटेन्ट निराशाजनक
ट्रेडमार्क दर्ता उत्साहजनक रहे पनि औद्योगिक डिजाइन दर्ता भने निराशाजनक रहेको छ । विभागका अनुसार चालू आवमा हालसम्म एउटामात्र डिजाइनका लागि निवेदन पेश भएको छ । बाराको जितपुरस्थित सुप्रिम रबर इन्डष्ट्रिजले एरोडिजाइनको फित्ताका लागि डिजाइनको निवेदन पेश गरेको छ । यस्तै, पेटेन्टतर्फ कुनै निवेदन परेको छैन ।

प्रतिक्रिया दिनुहोस्