Logo

नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ पाइलट मगरको दुर्घटना परी मृत्यु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत प्याराग्लाइडिङ पाइलट निशिम थापा मगरको मृत्यु भएको छ । प्रतियोगितामा सहभागि खेलाडी मगरको आज सराङकोटबाट उडान भरे लगत्तै प्याराग्लाइडिङ कोल्याप्स भएसँगै निमार्णाधीन घरमा ठोकिन पुग्दा उनको घटना स्थलमै मृत्यु भएको स्थानियले बताए ।

उक्त प्रतियोगितामा नेपाली सेनाबाट सहभागी २६ वर्षीय मगरले पुरुषतर्फको क्रस कन्ट्रीको इभेन्टमा सहभागी भएका थिए । लामो समयदेखि पोखरामा रहेर प्याराग्लाइडिङमा सहभागी मगर पोखरा १० मा बसोबास गर्दै आएका थिए । उनको घर भने गोरखा पालुङटार हो । उनी प्याराग्लाइडिङ खेलाडीहरूको छाता संस्था एफएआईका कम्पिटिसन वरियता प्राप्त खेलाडीसमेत हुन् ।

अहिले उनको शव पोखरा–८ सिर्जनाचोकस्थित मेट्रोसिटी अस्पतालमा रहेको छ । उनको निधनसँगै आज हुने भनिएका प्याराग्लाइडिङतर्फका सबै खेलहरू रद्ध भएको आयोजकले जनाएको छ । उनले तेश्रो नम्बरमा उडान भरेका थिए । राष्ट्रिय खेलकुदमा सहभागि खेलाडीको खेलकै क्रममा मृत्यु भएको घटना प्रति राखेप सदस्य सचिब टंकलाल घिसिङले दु:ख व्यक्त गरे । हवाई खेलकुद संस्था नाका पूर्वअध्यक्ष एवं प्याराग्लाइडिङका खेलका राष्ट्रिय प्रशिक्षक योगेश भट्टराईले समेत उक्त घटना प्रति गहिरो दु:ख व्यक्त गर्दै दुर्घटनाको विषयमा अध्ययन गरेर नेपाल भरी प्याराग्लाईडिङ बन्द गर्ने सरकारको निर्णयले असर पर्ने हो की भन्ने चिन्त्तासमेत व्यक्त गरे ।

अलस खेलाडी गुमाउनु परेकोमा भावुक हँुदै उनले यस्तो खेलको कारण समग्र खेल र पर्यटन क्षेत्रमा पर्ने असरको राज्यले गहन रुपमा बुझनु पर्ने उनको भनाइ छ । यसअघि पोखरामा सोलो प्याराग्लाईडिङ केही पाइलटहरूको समेत उडानको क्रममा दुर्घटनामा परी मृत्यु भएको थियो ।

पौडीमा राष्ट्रिय कीर्तिमानसहित डुवानालाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीमा आर्मीकी डुवाना लामाले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । आइतबार भएको ५० मिटर ब्रेस्ट स्ट्रोकमा लामाले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् । लामाले निर्धारित दुरी ३५.२३ सेकेन्डमा पूरा गरिन् । उनले आफ्नै नामको कीर्तिमान भंग गर्दै स्वर्ण पदक जितेकी छिन् ।

पौडीको २ सय मिटर फ्रि स्टाइलमा याहा हुसीन नासीरले १ मिनेट ५५:३९ सकेण्डमा दुरी पुरा गर्दै नयाँ कीर्तिमान वनाएका छन् । हुसिनले २ सय मिटर इन्डीभ्युजलमा २ मिनेट १०:२२ सेकेन्डमा दूरी पूरा गरेका थिए ।

१० हजार मिटर दौडमा आर्मीका दीपकले बनाए कीर्तिमान
पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका छन् । उनले कीर्तिमानसहित स्वर्ण पदक जिते ।
धावक अधिकारीले पोखरा रंगशालामा आइतबार बिहान भएको १० हजार मिटर दूरीमा ३० मिनेट १०:३० सेकेन्डमा पार गर्दै ८ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् । यसअघि सन् २०१४ मा चीनमा भएको इन्चोन एसियाडमा ३० मिनेट १०:९९ सेकेन्डमा १० हजार दुरी पार गर्दै एपीएफका धावक गोपीचन्द्र पार्कीले कीर्तिमान बनाएका थिए ।

फुल कन्ट्याक्ट कराँतेमा गण्डकी र आर्मीलाई समान ३ स्वर्ण
पोखरा ।
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फुुल कन्ट्याक्ट कराँतेमा गण्डकी र नेपाल आर्मीले तीन/तीन स्वर्ण जितेका छन् । शनिबार राति सकिएको खेलमा कराँतेमा पुुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा भएको प्रतिस्पर्धामा गण्डकीले पुरुषतर्फको ३०—४०, ४५—५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०—५५ तौल समूहमा एक स्वर्ण जितेको हो ।
त्यसैगरी नेपाल आर्मीले खुला तौल समूह पुरुष, महिला र ६०—६५ केजी तौल पुरुषमा समूहमा स्वर्ण जितेको हो । खेलमा पुरुषतर्फको खुला तौल समूहमा नेपाल आर्मीका विजय सिंहले स्वर्ण जितेका छन् । उनले गण्डकीका रूपक नेपालीलाई फाइलनमा पराजित गरी स्वर्ण जितेका हुन् ।
सातौं र आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेका नेपालीको ह्याट्रिक गर्ने दाउमा आर्मीका सिंह तगारो बने । नेपालीले रजत पदकमा चित्त बुझाए । पुरुषतर्फकै ६०—६५ केजी तौल समूहमा पनि नेपाल आर्मीका सनी सिंहले स्वर्ण जितेका छन् । उनले गण्डकीका शिव भुजेललाई पराजित गरी स्वर्ण जितेका हुन् ।
भुजेलले रजत पदक जिते । पुरुष तर्फकै ५५—६० केजी तौल समूहमा नेपाल प्रहरीका शुशन लामिछानेले स्वर्ण र नेपाल आर्मीका विकास गुरुङले रजत पदक जितेका छन् । पुरुषतर्फकै ५०—५५ केजी तौल समूहमा मधेश प्रदेशका धरमिन्दर रामले स्वर्ण जित्दा नेपाल आर्मीका चोकबहादुर बुढाथोकीले रजत पदकमा चित्त बुझाए ।
यसैगरी ४५—५० केजी तौल समूहमा गण्डकीका अनीष बुढामगरले वागमतीका विजय राइलाई पराजित गरी स्वर्ण जितेका छन् भने बागमतीका राइले रजतमा चित्त बुझाए ।
४०—४५ केजी तौल समूहमा सशस्त्र प्रहरीका सुनील तामाङले स्वर्ण जितेका छन् भने आर्मीका राजकुमार यादवले रजत पदक जितेका छन् । पुरुषतर्फको ३५—४० तौल समूहमा गण्डकीका अभिषेक डिमडुङले नेपाल आर्मीका सागर थिङलाई फाइनलमा पराजित गरी स्वर्ण जितेका छन् । थिङले रजत पदक पाए ।
महिलातर्फको खुला तौल समूहमा नेपाल आर्मीका मञ्जु विकले स्वर्ण पदक जितेकी छन् । उनले बागमती प्रदेशकी निशा बोहोरालाई पराजित गरी स्वर्ण जितिन् भने बोहोराले रजत पदक पाइन् । ५०—५५ केजी तौल समूहमा गण्डकीकी धनी रानामगरले नेपाल आर्मीका पत्रिका चन्दलाई पराजित गरी स्वर्ण जित्न सफल भइन् भने चन्दले रजत पदकमा चित्त बुझाइन् । ४५—५० केजी तौल समूहमा बागमती प्रदेशकी नविना धमालले सशस्त्र प्रहरीकी करिष्मा कार्कीलाई पराजित गरी स्वर्ण जित्दा कार्कीले रजत पदक जितिन् ।
४० देखि ४५ केजी तौल समूहमा सशस्त्र प्रहरीकी रिना माझीले नेपाल प्रहरीकी अञ्जना ढुंगेललाई पराजित गरी स्वर्ण जितेकी छन् भने ढुंगेलले रजत पदक जितिन् ।
महिलातर्फको ३५—४० तौलक केजी समूहको खेल भने स्थगित भएको छ । सशस्त्र प्रहरीले रेफ्रीले गलत निर्णय गर्दा आफ्नो खेलाडी पराजित भएको भन्दै विवाद गरेपछि खेल स्थगित भएको प्रतियोगिता सहसंयोजक दीपक गोदारले बताए । विवादका कारण दिउँसो साढे २ घण्टा सबै प्रतिष्पर्धा रोकिएका थिए ।
पोखराको प्रदर्शनी केन्द्रमा भएको प्रतिस्पर्धा खेलमा सात वटै प्रदेश, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र एनआएनए गरी ११ टिम सहभागी भएका थिए । अन्तर्राष्ट्रियस्तरको रिङ निर्माण गरी अन्तर्राष्ट्रिय नियम अनुसार प्रतिस्पर्धा गराइएको थियो ।

शारीरिक सुगठनमा गण्डकी, आर्मी र पुलिसलाई स्वर्ण
पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शारीरिक सुगठनमा आयोजक गण्डकी प्रदेश र आर्मीले २/२ स्वर्ण जितेका छन । त्यसैगरी नेपाल पुलिस क्लबले एक स्वर्ण प्राप्त गरेको छ । गण्डकीले ५५ र ६५ किलो समुहमा स्वर्ण जित्दा आर्मीले ७० र ७५ किलो समूहमा स्वर्ण हात पारेको हो । भने, पुलिसले ६० किलो तौल समूहमा स्वर्ण जितेको हो ।

पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समुहमा गण्डकीका विवेक हमालले स्वर्ण जितेका हुन् । यस्तै बागमतीका दिनेश गोसाईंले रजत र आर्मीका रमेश फोम्बोले कास्य पदकमा चित्त बुझाउनुपर्‍यो । स्वर्णका लागि प्रि–जर्ज राउन्डबाट छनोट भएका ५ जनाबाट विजेता बनेका हुन् ।

७० किलो तौल समुहमा नेपाल आर्मीले स्वर्ण जितेको हो । सो तौल समुहमा आर्मीका प्रज्वलमान शाक्य, मधेस प्रदेशका किरण यादव, लुम्बिनी प्रदेशका बृजेन्द्रमान श्रेष्ठ र गण्डकी प्रदेशका निश्चल केसी उत्कृष्टमा ५ मा थिए । सो तौल समूहमा आर्मीका शाक्यले स्वर्ण जित्दा मधेश प्रदेशले रजत र लुम्बिनी प्रदेशले कास्य पदक जितेको हो ।

आईतबार भएको ७५ किलो तौल समुहमा नेपाल आर्मीले स्वर्ण जितेको छ । उनले मधेश प्रदेशका शनि अजाम, बागमती प्रदेशका योगशराज शाही, सुदूरपश्चिम प्रदेशका लक्ष्मीदत्त पन्त र लुम्बिनी प्रदेशका आकाश रानालाई पछि पारेका हुन् । ७५ किलो तौल समुहमा मधेस प्रदेशले रजत र बागमती प्रदेशले कास्य पदक जितेको हो उनका अनुसार प्रदेश १, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लबले ९४ खेलाडीले सहभागिता जनाएका छन् । शारीरिक सुगठनमा महिला र पुरुषको सबै विधामा ११ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ ।

भारोत्तोलनमा पुलिसलाई स्वर्ण

नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा पहिलो स्वर्ण जितेको छ ।
पोखरा उद्योग वाणिज्य संघमा आइतबारदेखि सुरु प्रतियोगिताको महिला ४५ केजी तौल समूहमा पुलिसकी हिरामोती थारुले पुलिसलाई पहिलो स्वर्ण दिलाएकी हुन् । उनले स्न्याचतर्फ ५० र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११५ केजी भार उठाउँदै स्वर्ण जितेकी हुन् ।

त्यस्तै, एपिएफकी लीला राईले रजत र मधेश प्रदेशकी अम्बिकाकुमारी यादवले कास्य जितिन् । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी १०/१० इभेन्टमा खेल हुने नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए ।

आइटिएफमा आर्मीलाई तीन र बागमतीलाई एक स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बागलुङमा जारी आइटिएफ तेक्वान्दोको आइतबार भएको खेलमा विभागीय टिम नेपाल आर्मीले तीन र बागमती प्रदेशले एक स्वर्ण पदक जितेको छ । महिलातर्फ कालो पेटी दोस्रो डानमा आर्मीकी रिना धिमालले स्वर्ण र गण्डकी प्रदेशकी सुश्मिता थापाले रजत पदक हात पारेकी हुन् । कालो पेटी तेस्रो डानमा बागमतीकी रुबिना खड्काले स्वर्ण र आर्मीकी निष्मा बस्यालले रजत पदक जितेकी छन् ।

पुरुष कालो पेटी दोस्रो डानमा आर्मीका पूर्णबहादुर मगरले स्वर्ण र गण्डकी प्रदेशका राजन रेग्मीले रजत पदक हाँसिल गरेको नेपाल आइटिएफका महासचिव अञ्जु रावतले जानकारी दिइन् ।

यस्तै कालो पेटी तेस्रो डानमा पुरुषतर्फ नेपाल आर्मीका सुमन मगरले स्वर्ण र लुम्बिनी प्रदेशका वीरेन्द्र बुढा मगरले रजत पदक जितेका छन् । यसअघि आइतबार बिहान भएको खेलमा बागमती र आमीले एक–एक स्वर्ण पदक जितेका थिए ।

उक्त खेलमा कालो पेटीतर्फ बाग्मती प्रदेशका सचिना सुनुवारले स्वर्ण र नेपाल आर्मीका हिमाल खड्काले रजत पदक हाँसिल गरेकी हुन् । रातो पेटीतर्फ नेपाल आर्मीका निकिता धिमालले स्वर्ण र शसस्त्र प्रहरी बलका अप्सना तामाङले रजत पदक हात पारेकी हुन् ।

प्रतियोगिताको पहिलो चरणमा एकल प्याट्रनमा प्रतिस्पर्धा भइरहेको छ । स्पाइरिङतर्फ प्रतिस्पर्धा गराउन तयारी भइरहेको आयोजकले जनाएको छ । शनिबारदेखि बागलुङमा सुरु भएको आइटिएफमा एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनका खेल हुनेछन् । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी सहभागी छन् ।

महिला भलिवलमा सोमबारदेखि क्वाटरफाइनल खेल हुने
म्याग्दी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलमा क्वाटरफाईनल समीकरण पूरा भएको छ । लिग चरणको खेलअन्तर्गत आइतबार बागमतीले मधेस प्रदेशलाई सोझो सेटमा पराजित गर्‍यो । वागमतीले मधेसलाई २५–६, २५–८ र २५–७ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलको यात्रा बनायो । त्यसैगरी नेपाली सेनाको त्रिभूवन आर्मी क्लवले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ४–१ को सेटमा पराजित गर्‍यो । आर्मीले एपीएफलाई २५–२०, १९–२५, २५–२१ र २५–२३ कासेटमा हराउँदै जित दर्ता गर्‍यो ।
एउटै समूहका एपीएफले समूह विजेता र आर्मीले उपबिजेता बन्दै क्वाटरफाइनलको यात्रा तय गरे । आइतबार भएको खेलमा एपीएफकी निरुता ठगुन्ना र वागमतीकी जेनिसा बिक उत्कृष्ट खेलाडी घोषित भए । लिगकम नकआउटका आधारमा भएको वेष्ट अफ फाइभको खेलमा पहिलो चरणको दुई वटा प्रतिस्पर्धामा पराजित मधेस प्रदेश र कर्णाली प्रदेश लिग चरणबाट बाहिरिएका छन् ।
सोमबारदेखि सुरु हुने क्वाटरफाइनल खेलमा एपीएफ र लुम्बीनी प्रदेश, वागमती र सुदूरपश्चिम प्रदेश, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र प्रदेश नम्बर १ बिच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने जनाइएको छ । प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरेर १० टोलीले सहभागिता जनाएका छन् ।
महिला क्रिकेट : समूह ‘ए’बाट एपीएफ र वागमती सेमिफाइनलमा
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल सशस्त्र प्रहरी बल (एपीएफ) र वागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आइतबार पोखरा रंगशालमा भएको पहिलो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्‍यो । पहिला व्याटिङ गरेको सुदुरले पुरा २० ओभर खेल्दै ३ विकेटको क्षतिमा ९२ रन जोडेको थियो । सुदूरका लागि रितु कनौजियाले ३५, रुवी पोदारले २३ तथा स्नेहा महराले १८ रन बनाए । एपीएफका बलहरू नेरी थापा, इन्दु बर्मा र सुस्मा श्रेष्ठले समान १ विकेट लिए ।
जितका लागि ९३ रन पछ्याउने क्रममा एपीएफले १६ ओभरमा विकेट गुमाएर विजयी लक्ष्य प्राप्त गर्‍यो । एपीएफको व्याटिङमा प्लेयर अफ द म्याच इन्दु बर्माले ४३ बलमा ५ चौका प्रहार गर्दै ४५ रन हानिन् । सुदुरका बलरहरू मनिषा चौधरी, अनु कडायत, डोली भट्ट र स्नेहा महराले समान १–१ विकेट लिए ।
आइतबारकै अर्को खेलमा वागमतीले मधेश प्रदेशमाथि ८ विकेटको जित निकाल्यो । पहिला व्याटिङ गरेको मधेशले १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५४ रन बनाएको थियो । जसमा शान्ति चौधरीको ८ रन सर्वाधिक बन्यो । वागमतीका बलहरू विपिसा शाही, सोनी पाख्रिन र खुसी डंगोलले समान २–२ विकेट लिए ।
बागमतीले १३.२ ओभरमा २ विकेट गुमाउँदै जित प्राप्त गर्‍यो । बागमतीका लागि सुमन खतिवडाले १७, अनिशा माझकोटीले १६ तथा अस्मिता खरेलले १३ रन हानिन् । मधेसका बलरहरू सरस्वती कुमारी र कविता गौतमले १–१ विकेट लिए । खेलमा ५ रन खर्चिएर २ विकेट लिएकी वागमतीका विपिसा शाही प्लेयर अफ द म्याच भइन् ।

प्रतिक्रिया दिनुहोस्