गैरसरकारी संस्थाहरूलाई निर्वाचनसम्बन्धी कार्यक्रम दिन बजेटनै नभएको भनाई

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गैरसरकारी संस्थाहरूलाई निर्वाचनसम्बन्धि कार्यक्रम दिन बजेटनै नभएको बताएका छन् ।
निर्वाचनमा मतदाता शिक्षाका लागि दर्जनौं गैरसरकारी संस्थाहरूले माग गरिहेका बेला प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो प्रष्टीकरण दिएका हुन् । उनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा मतदातालाई सचेत बनाउने र सुचित बनाउने काममा भने सहयोग गर्न सबै गैरसरकारी संस्थाहरूलाई आग्रह गरे ।
तर, निर्वाचन कार्यक्रममा लागि भने बजेट नभएकाले ती संस्थाहरूलाई सहभागी गराउन सकिने अवस्था नरहेको प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ थियो । उनले आफैंले चिनेका ५० औं गैरसरकारी संस्थाहरूले निर्वाचन कार्यक्रम मागीरहेको दृष्टान्त पेश गर्दै उनीहरूलाई पनि दिन नसकिने कुरा आफूले भनेर फिर्ता पठाएको स्पष्ट पारे ।
सूचनाको हकको लागि राष्ट्रिय महासंघ, गैरसरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ, दलित गैरसरकारी संस्था महासंघ, नेपाली उपभोक्ता संरक्षण महासंघका पदाधिकारीहरूसँग आईतबार आयोगको कार्यालयमा भएको सामूहिक भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले बिना शीर्षक कुनै पनि बजेट खर्च गर्न नपाउने कानुनी व्यवस्था नै रहेको स्पष्ट पारे ।
भेटमा सो गैरसरकारी संस्थाका प्रतिनिधिहरूले भने मतदाता शिक्षाका लागि सही संयन्त्रको प्रयोगमा चुकिरहेको भन्दै निर्वाचन आयोगको आलोचना गरेका थिए । मतदाता शिक्षाका लागि ठोस कार्यक्रम बनाउन सही संयन्त्रको प्रयोग गर्न नसकेकोतर्फ निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको गैर सरकारी संस्था महासंघकी उपाध्यक्ष भावना भट्टले बताए ।