चुनावमा आएर विकासको एजेन्डा उठाउनु गलत

नेपाली कांग्रेस प्रतिनिधिसभा भक्तपुर क्षेत्र नं २ का उम्मेदवार दुर्लभ थापाले चुनावको समयमा विकासको एजेन्डा उठाएर जनता भ्रममा पार्ने काम गलत भएको बताएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले अन्य समयमा चुप लागेर बस्ने र चुनावका समयमा सधैजसो सानातिना विकासका एजेन्डा उठाएर मतदातालाई भ्रममा पार्ने काम गलत भएको बताए ।
नीति निर्माणको तहमा पुग्ने निर्वाचनलाई विकासको ललिपप बाँडेर चुनावी एजेन्डा बनाउनेहरूलाई अब जनताले तह लगाउने भन्दै स्थानीय सरकारको काम विकासको मूल फु्टाउने हो भन्ने हेक्का समेत नभएर चुनावी एजेन्डा उहि पुरानै विकास गर्छौ भन्दै मत माग्नेहरूलाई भक्तपुर क्षेत्र नं. २ का मतदाताले पाखा लगाउने थापाले बताए ।
आफ्ना प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार महेश बस्नेततर्फ संकेत गर्दै थापाले भने धन्यवाद, धन्यवाद र गनवादलाई प्रयोग गरेर निर्वाचन जित्ने दाउमा रहेकालाई मंसिर ४ पछि रुझेको बिरालो बन्नु पर्ने अवस्था आउने छ ।
भक्तपुर क्षेत्र नं. २ ७७ जिल्ला मध्ये गठबन्धनको चुनावी परिणाम पोल्ठोमा पर्ने निश्चित देखेपछि यस निर्वाचन क्षेत्रमा विभिन्न किसिमका बितण्डा मच्चाउन सक्ने तर्फ सबै चनाखो हुनु पर्ने थापाले उल्लेख गरे ।
माओवादीको बैशाखी टेकेर एक पटक जितेको धङधङीमा हिँडिरहेका भक्तपुरका नवयुवराजलाई पछार्न कांग्रेसै काफि रहेका बेला गठबन्धनका अघि नवयुवराज झनै निरिह रहेको थापाको टिप्पणी छ ।
मंसिर ४ मा हर्ष उल्लासका साथ मतदाताले निर्वाचन सम्पन्न गर्ने आशा रहेता पनि कहीँ कतैबाट शान्त वातावरणलाई खलल गर्ने दुसाहस भए त्यसको प्रतिकारमा गठबन्धन हरदम तत्पर रहेको थापाले बताए ।