म्याग्दीबाट प्रतिनिधिसभामा ९ र प्रदेशसभामा ११ जनाको उम्मेदवारी दर्ता

आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा हिमाली जिल्ला म्याग्दीबाट ९ जनाले प्रतिनिधि सभा र ११ जनाले प्रदेश सभामा उम्मेदवारी दर्ता गराएका छन् । आईतबार बिहान १० बजेदेखि ५ बजे सम्मको समयमा निर्वाचन आचारसंहितालाई पालना गर्दै राजनीतिक दलका नेताहरू तथा स्वतन्त्र ब्यक्तिहरूले उम्मेदवारी दर्ता गराएका थिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सभापति खमबहादुर गर्वुजा (खमविर), नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पाटीका जगतप्रसाद गौचन, मंगोल नेशलन अग्रनाईजेशनका ओमराज मगर, राष्ट्रिय स्वतन्त्र पार्टीका हरीबहादुर खत्री क्षेत्री, स्वतन्त्र तर्फबाट खिलबहादुर बरुवाल, नविन जिसी र विनोद भट्टचनले उम्मेदवारी दर्ता गरेका छन् ।
त्यस्तै प्रदेश सभा (क) मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका युवा नेता हरिबहादुर भण्डारी, नेकपा एमालेबाट जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल क्षेत्री, राप्रपाबाट प्रविन शाही, मंगोल नेसनल अग्रनाईजेशनका दीपक पुन, स्वतन्त्रतर्फका नेत्रबहादुर महत र दूध गिरीले उम्मेदवारी दर्ता गरेका छन् ।
प्रदेश सभा (ख) मा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सुविन जुग्जाली, नेकपा एमालेका याम गर्वुजा, राप्रपाकी मिठुकुमारी थापा, मंगोल नेसनल अग्रनाईजेसनका जिल्ला अध्यक्ष डेगबहादुर पुन (डिके) र स्वतन्त्रर्फ देविन्द्र फगामीले उम्मेदवारी दर्ता गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
म्याग्दीमा सत्ता गठबन्धत र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । उम्मेदवारी दर्ता गराउँदै प्रतिनिधिसभाका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति खमवीर गर्वुजाले जनताले मत दिएर जिताए भने म्याग्दीको दिगो विकासमा ध्यान दिने बताए । त्यस्तै प्रतिनिधि सभाका उम्मेदवार एवं नेकपा एमालेका नेता हरिकृष्ण श्रेष्ठले जनताको मतबाट प्रतिनिधिसभामा निर्वाचित भए भने शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतको विकासमा प्राथमिकता दिएर जनतामा मत माग्ने बताए ।