रहेनन् वाङ्मय शताब्दी पुरुष

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको छ ।
पिसाब संक्रमण, छाती तथा मुटुको समस्याबाट पीडित जोशी पछिल्लो समय डेंगुबाट समेत संक्रमित भई असोज ७ गते अस्पताल भर्ना भई उपचाररत थिए । जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो ।
अस्पताल बसाइको सुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।
सुरक्षित गरिँदैछ शव
जोशीको पार्थिव शरीरलाई अध्ययन अनुसन्धानका लागि अस्पतालमा राखिने भएको छ । पारिवारिक सहमतिअनुसार स्व. जोशीको शवलाई दाहसंस्कार नगरी चिकित्साशास्त्र सम्बन्धी अध्ययनका लागि ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा राखिने भएको हो । अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जोशीको पार्थिव शरीरलाई मेडिकल चिकित्सा प्रणालीअनुसार अध्ययन अनुसन्धानका लागि अस्पतालमा राखिने जानकारी दिए ।
उनले भने, “अहिले जोशीको पार्थिव शरीरलाई नबिग्रिने हिसाबले केमिकल र औषधि प्रयोग गरेर सुरक्षित रूपमा ‘प्रिजर्भ’ गरिएको छ । ‘प्रोफेसर’ को भनाइअनुसार उनको शरीरलाई चिरकालसम्म कुनै पनि तत्वले बिगार्न सक्दैन । उनको शरीरबाट चिकित्सा प्रणाली अनुरूप कसरी ज्ञान र सीप लिन सकिन्छ, त्यो अध्ययन गर्नेछौं ।” जोशीको पार्थिव शरीरलाई परिवारले किष्ट शिक्षण अस्पताललाई पूर्णरूपमा हस्तान्तरण गरेको छ । अस्पतालले जनाएअनुसार स्व. जोशीको शरीरको हरेक भागलाई अध्ययन अनुसन्धान गरिनेछ । जोशीको चाहनाअनुरुप चिकित्सा प्रणालीमा अनुसन्धान हुनेछ ।
किष्ट शिक्षण अस्पतालले जोशीको पार्थिव शरीरलाई अस्पताल परिसरकै आधारभूत साइन्स भवनको हलमा राख्ने निर्णय गरेको छ । अस्पतालका निर्देशक बज्राचार्यले जोशीको शरीर अध्ययनका लागि अस्पतालको बेसिक साइन्स ल्याब रहेको भवनमा राखिने बताए । अस्पतालमा जोशीको शरीर रहे पनि सर्वसाधरणले भने हेर्न पाउने छैनन् । मेडिकल क्षेत्रका अनुसन्धानकर्ताले अनुमति लिएर मात्रै हेर्न र अध्ययन गर्न पाउने निर्देशक बज्राचार्यले बताए ।
पिता शंकरराज जोशी र माता राजकुमारीका पुत्रका रूपमा १९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मेका सत्यमोहनले २०१३ सालमा लोकसंस्कृति ग्रन्थमा मदन पुरस्कार प्राप्त गरेका थिए । दोस्रो पटक नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थमा २०१७ मा र ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका जोशी २०१५ सालमा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक भएका थिए । जोशीले पाँचौं शताब्दीदेखि बीसौं शताब्दीसम्मको मुद्राको विस्तृत विवरणसहितको ‘नेपाली मुद्रा’ नामक पुस्तक प्रकाशित गरेका थिए ।
नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासमा लागि परेका हुनाले उनको योगदानको कदरस्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्वविद्यालयले विद्यावारिधिको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ । नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । तीन पटकसम्म ‘मदन पुरस्कार’ जित्न सफल जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा संग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित छन् । उनका संस्कृतिसम्बन्धी १० पुस्तक प्रकाशित छन् । जोशीको एक सय वर्षको जन्मोत्सवमा नेपाल राष्ट्र बैंकले उनको तस्बिर अंकित चाँदीको सिक्का निस्काशन गरेको थियो ।
पिताको इच्छाबमोजिम शरीर अस्पताललाई दान दिएपछि सत्यमोहन जोशीको जन्मकुण्डली शंखमूलस्थित बागमती घाटमा जलाउँदै जेठा छोरा अनुराज र कान्छा छोरा डा. पूर्णराज जोशी । तस्बिर: गिरीश गिरीको फेसबुकबाट