बेमौसमी वर्षाको वितण्डा

मौसमविद्हरूले यो वर्षको दसैंमा निरन्तर झरी पर्ने पूर्वसंकेत दसैं सुरु हुनुपूर्व नै सचेत रहन आग्रह गरेका थिए । वास्तवमा त्यस्तै रर्यो पनि, बेमौसमी सिजनमा परेको पानीले वितण्डा मच्चाउँदा बाढीपहिरोको मात्र सामना गर्नुपरेन, निकैले ज्यानसमेत गुमाउनुपर्यो । दसैं शोकमा डुब्यो, परिवारमा निराशा फैलियो । वर्षाका कारण पश्चिम नेपालका जुम्ला, मुगु, कालीकोटका विभिन्न स्थानमा पहिरोका कारण एक दर्जनभन्दा बढीले अनायासै ज्यान गुमाउनुपर्यो । निरन्तर वर्षाका कारण ती जिल्लामा गएको पहिरोका कारण जनधनको निकै क्षति पुर्याएको थियो भने विभिन्न राजमार्गका सडकसमेत अवरुद्ध भएको थियो ।
नेपालमा विभिन्न समयमा आइरहने प्राकृतिक विपत्तिले तर्सारहेको हुन्छ । वर्षाको समयमा पहाडमा जाने बाढीपहिरोको प्रकोप, त्यस्तै तराई भेगमा हुने डुबानले मानवीय क्षति बर्सेनि हुँदै आइरहेको छ । वर्षाको समयमा सजग रहनुपर्ने बाध्यता रहे तापनि बेमौसममा पर्ने भारी वर्षाका कारण मानवीय क्षतिको सामना गर्नुपरिरहेको हुन्छ । प्राकृतिक प्रकोपले निम्त्याउने क्षतिको न्यूनीकरणका निमित्त सरकारका तर्फबाट पूर्वतयारीका कार्यक्रम खासै प्रभावकारी रूपमा लागू गर्न भने सकेको देखिँदैन । जब विपत्ति आइपर्छ तब सरकार र सरकारका प्रतिनिधि प्रभावितलाई राहतले नै टार्न मात्र खोजिरहेको हुन्छ । विपद् जोखिमको न्यूनीकरणका निमित्त पूर्वतयारीमा ध्यान नदिँदा हरेक विपत्तिमा अनाहक जनधनको ठूलो क्षति बेहोर्नुपरेको छ भने अनाहकमै ज्यान गुमाइरहनुपरेको छ । बेमौसममा परेको निरन्तरको वर्षाले पहाडी भेगमा पहिरोले नगन्य क्षति पुर्याइरहेको अवस्था छ । यो वर्षाले कर्णाली प्रदेशमा ठूलो मात्रामा क्षति पुर्याएको छ । बेमौसममा परेको निरन्तर झरीको प्रभावले सिंगो नेपाललाई नै क्षति पुर्याइरहेको छ ।
गएको वर्ष बेमौसमी परेको वर्षाका कारण कृषि उत्पादनमा समेत क्षति पुर्याएको थियो । तराई कृषिक्षेत्रका निमित्त पकेटका रूपमा लिइन्छ । तराईको कृषि उत्पादनले मुलुकको हिस्सा ओगटेको छ । नेपालको प्रमुख आम्दानीको स्रोत नै कृषि हो । तर, कृषि उत्पादनलाई नै गुमाउनुपर्दाको पीडा सायदै सहन सकिँदैन । हो, त्यस्तै पीडा यो बेमौसममा परेको वर्षाको प्रभाव किसानलाई परेको छ । गएको वर्ष पनि भिœयाउन ठिक्क पारेको धानबालीमा निकै क्षति पुर्याएको थियो भने यो वर्ष पनि बेमौसममा आएको वर्षाले धानको बाला लाग्ने बेलामा कतिपय धानबालीमा धान ढलेर सोत्तर भएको समाचार पढिरहँदा यो वर्ष पनि कृषिक्षेत्रमा ठूलो असर परेको छ ।
प्रकृतिले आममानिसलाई सुहाउने र चाहिने कार्य गरिरहेको हुन्छ, तर मानवले अनावश्यक प्रकृतिलाई दु:ख दिइरहँदा प्राणी जगत्लाई नै असर पुर्याउने हुन्छ । जलवायु परिवर्तन र त्यसका प्रभावका कारण नेपालीहरू दु:ख पाउँदै गइरहेका छन् । यसतर्फ समयमा नै सजगता र प्रभावलाई न्यूनीकरण गर्नेतर्फ ध्यान दिनु जरुरी छ । पछिल्लो समय नेपालमा अप्रत्याशित वर्षा, अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टिका कारण मानव जनजीवनमा प्रत्यक्ष रूपमा असर पुर्याउँदै आएको छ । नेपालमा पनि जलवायु परिवर्तनले कृषि उत्पादनमा ह्रास आउने र समयमा वर्षा नहुने, बमौसमी वर्षाले प्रतिकूल असर पार्दै गइरहेको सर्वविदितै छ, जसको पछिल्लो उदाहरणका रूपमा गएको वर्षलाई मान्न सकिन्छ, जसका कारण कृषिक्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ह्रास भोग्नुपर्ने हुन्छ ।