Logo

घटस्थापना सुरु हुनासाथ सल्यानमा जिप दुर्घटना भई आठ जना नेपालीको अकाल मृत्युसँगै दुर्घटनाहरूको लहर देखियो देशैभरि, दसैँभरि ।

सन्दर्भ : गरिबी निवारण दिवस

अक्टोबर १७ गरिबी निवारण दिवस, देशमा गरिबी बढेको छ । दसैँ, तिहार र छठको शुभकामनाले देशको गरिबी घट्ने होइन, हाम्रो कार्यपालिका नागरिकको रोग, शोक, भोकप्रति बेखबर छ । सत्ताको जोडघटाउ र गठबन्धनमै सदा व्यस्त सरकार गरिब नागरिकलाई चुनावमा होम्दै छ । अर्थतन्त्र सुधारिने अवस्था छैन, चुनावी वर्षका कारण विगतभन्दा पनि विकास खर्च घट्ने र आउने चुनावपछि सत्ता हस्तान्तरण गर्दागर्दै अनेकानेक तिकडमतिर लाग्दालाग्दै यो वर्ष बिदा हुने छाँट देखिन्छ । बर्सेनि सडक दुर्घटनाहरूबाट हजारौँको ज्यान जाने गरेको छ, सडक सुरक्षाप्रति चासो छैन । प्रकृतिको वितण्डा, जलवायु परिवर्तन, बाढी पहिरोको समस्या, महँगी, भ्रष्टाचार, कालोबजारीप्रति सरकार उदासीन छ । मध्यदसैँ, जुम्लामा भएको पहिरोपीडित, बाराको अमलेखगन्जको सवारी दुर्घटनाले कसको मन नपोल्ला ? तर, नेतृत्वले यसतर्पm सावधानी राखेको पाइएन । काठमाडौँ जोड्ने मुग्लिङ–नारायणघाट सडक होस् वा मुस्ताङ, बेनी वा पाल्पा, पोखरा वा भनौँ अधिकांश राजमार्गको दशाले दसैँ धेरै खल्लो भएको छ यसपालि । समयमै मनसुन बिदा नहुँदा र अघिल्लो वर्षको अनुभवलाई बिर्संदा, मौसम पूर्वानुमानमा चनाखो राख्न नसक्दा र त्यससम्बन्धी पूर्व कुनै तयारी नहुँदा धेरै नेपालीको अकाल ज्यान गएको छ, विगतभन्दा चालू वर्षको दसैँ राम्रो होला भन्ने आशा निराशामा बदलिएको छ । गोर्खा मनास्लुमा विदेशीहरू पनि हराए । दिन आएपछि त कसको के लाग्छ र ? ओखलढुंगाका एक राजनीतिकर्मी त काठमाडौँको घरैको शौचालयमा लडेर पनि मरे । तर, दसैँको टीका लाउन मामाघर लगिरहँदा मोटरसाइकलको पछाडि बसेका अबोध दुई बालकले आफ्नै बाबा सवार सवारी साधनबाट खसेर बाढीमा परी दुवै बालकको एकै चिहान भएको देखिँदा असह्य भयो । यसलाई मानव असावधानी भन्नुपर्ला । स्वादे जिब्रो मासु नखाइनहुने, घाँटीमा हाड अड्किएर पनि ज्यान गयो कसैको । आत्मसमर्पण गरेर प्रहरी थाना आपैmँ पुग्न खोज्ने अन्तर्राष्ट्रिय खेलाडी हत्कडीमा परे, दसैँका दृश्यहरू हेर्नेलाई समेत लाजमर्दो भयो ।
घटस्थापना सुरु हुनासाथ सल्यानमा जिप दुर्घटना भई आठ जना नेपालीको अकाल मृत्युसँगै दुर्घटनाहरूको लहर देखियो देशैभरि, दसैँभरि । दसैँको मुखै पारेर चुनावमा एक नेताले खर्च गर्न पाउने रकम वैध नै ३३ लाख भनियो, चुनावमा खर्च त ६० अर्ब बढी रे, यत्रा खर्च गरेर पनि उही मिलीजुलीको त नवीकरण हुने होला भोलि पनि । दसैँको मुखैमा नेताहरूको खर्च करोडौँ उपचार भन्दै वितरण भएछ, तर डेंगु नियन्त्रणमा सरकारले सक्रियता देखाउन सकेन र हरेक घरमा डेंगु बिरामी भेटिए, औपचारिक मृत तथ्याँक नै झण्डै चार दर्जन, धेरैले भने डेंगु त कोरोनाका फादर रहेछ भनेर । नवरात्रि आरम्भसँगै चट्याङ लागेर सुनसरीमा दुईको मृत्यु भयो, धादिङलगायत धेरै ठाउँमा मध्यनवरात्रिमै पाँच जनाको अन्त्य, सल्यान जिप दुर्घटनालगत्तै रामेछापमा जिप दुर्घटना, दाङमा बस दुर्घटना, नवरात्रिको आठौँ दिन मकवानपुरमा बस दुर्घटनाबाट दुई जना ठहरै भए । यता ट्रिपर सञ्चालन दसैँभरि गर्न नपाउने उर्दी जारी हुँदा टाइम कार्ड, गाडी ठीक छ/छैन हेर्ने, ढोका बन्द गर्नुपर्ने, लामो रुटमा दुई चालकको व्यवस्था गर्ने जस्ता नाममात्रका उर्दीहरूले दुर्घटनामा कुनै कमी आएन । सडक निर्माणमै लापरबाही, खाल्डाखुल्डी सडक, भीर, पहिराका बाटा, अनुभव नभएका चालक, यान्त्रिक गडबडीका सवारी साधन, पैसा लुट्ने, ज्यानको पर्बाह नगर्ने आम सवारी धनीको मानसिकताले यो वर्ष दसैँमा मात्रै होइन अन्य समयमा पनि हाम्रो देशमा दुर्घटनाहरू बढेका छन्, यत्ति हो कि अन्य समयमा सार्वजनिक सवारी बढी दुर्घटना हुने गरेका छन् भने दसैँतिहार ठूला चाडबाडमा निजी धेरै परेका छन् ।
केही वर्षयतादेखि देशमा मौसमी समस्या छ, हाल कोप–२७ बैठक चल्दै छ, इजिप्टमा, जलवायु परिवर्तनका मुद्दाहरू देशले सशक्त रूपमै उठाउनुपर्ने हो । तर, देश चुनाव केन्द्रित छ, चुनावकै कारण तीन–चारपल्ट पेट्रोलियम पदार्थको भाउ घटेर आउँदा यहाँ घटाइएको छैन, प्रतिब्यारेल तेलको भाउ १ सय ३०/४० बाट घटेर ८७ मा झर्दा पनि सरकार तेलको भाउ घटाउन मान्दैन, यो उसको नागरिकप्रतिको लापरबाही हो, जनताप्रतिको गैरजिम्मेवारीपना हो । दसैँभरि भागबन्डा मिलाउन बालुवाटार व्यस्त रह्यो, तर जनजीविकाका विषयमा एकपल्ट बैठक कहीँ बसेन, नागरिकहरू वितृष्णामा छन् । धनीहरू पेट घटाउन मर्निङ वाक गर्छन् गरिबहरू पेटमा सुकेनास लागेर छटपटिएका छन्, रोजगारी भएन देशमा, आय आर्जन नभएर क्रन्दित छन् ती । अक्टोबर ४ महादसैँ, पशु दिवस मनाइरहँदा देशमा धेरै पशुहरूले प्राण छोड्दै गए । दसैँको स्पष्ट नीति आएन, पशुपन्छी वध गर्ने हो भने देशभित्रै अनिवार्य रूपमा पशुपालन गर्नुपर्ने कडा नीति ल्याउन आवश्यक छ, गरिब देशले हरसाल अर्बौंको माछा, मासु, खसी बोका आयात गरेर वैदेशिक व्यापारघाटा बढाउनु भएन । तिहारमा आउने भाइमसला, पूmल, रंग, मखमली सबै आन्तरिक उत्पादन गर्नु आवश्यक छ । पञ्चबलि बोकेको जिप पाल्पामा दुर्घटना भएको देख्दा पनि बलिप्रति पुनर्विचार गर्न जरुरी छ, सबै पुरानो काम राम्रो हुन्छ भन्ने होइन, बलिको साटो नरिवल, कुभिन्डो, मुला, घिरौँलोको बलि दिन शास्त्रले भनेको छ । कसैलाई वध गरेर उसको मुक्तिको चाहना गरेर पशुप्रति माया गरेको हो भने उसको मासु भान्छामा लगेकोे किन ? जबकि मरेको मान्छेलाई भान्छामा होइन घाटमा लगिन्छ, सिनोलाई सम्मान किन गरेको ? अनि हनुमानढोकैमा यत्राविधि मारकाट किन गरेको, यदि शक्ति सही उपासना हिन्दू पद्धति हो भने देशलाई धर्मनिरपेक्ष किन भनेको ? दुई वर्षपछि अर्को ठूलो हिंसा हुनेछ गढीमाई बाराको बरियारपुरमा, विदेशीहरूसमेत बलि लिएर ओइरो लाग्ने गरेका छन् यहाँ । दसैँमा मकवानपुरमा पहिरोमा परी दुईको मृत्युले दसैँ सकिएन, जुम्लामा पहिरोले पुरिँदा सात जनाको ज्यान गयो भने अमलेखगन्जको दुर्घटनाले १६ जनालाई निल्यो । त्यतिले पुगेन, पूर्व नवलपरासीमा सयौँ घर डुबानमा परे मात्र होइन, देशैभरिका राजमार्गहरूमा अवरोध भयो, बाढीपहिरोले दाङमा मोटरसाइकल दुर्घटनाबाट दुई सशस्त्र प्रहरीहरू नै बिते । सुर्खेत सडक, पाल्पा–गुल्मी सडकदेखि काठमाडौँ आवतजावतको नाका धादिङमा बाटो अवरोध, यी पंक्ति तयार गर्दा दसैँ समापन, हुम्लामा पहिरोले घर किचेर चार बालबालिकाको अन्त्य दर्दनाक अबस्था रह्यो । सत्ता गठबन्धनमात्रै होइन विपक्षी गठबन्धनसमेत गरेर देशलाई थप पेवा बनाउन मनोनयन दर्तामा व्यस्त देखियो देश । देशैभरिको प्राकृतिक वितण्डाप्रति अभिभावक भनिएको सरकार सक्रिय रहन सकेन । सडक सुरक्षा नागरिकको मौलिक हक हो, चाडबाड मात्रै होइन अरू बेला पनि नागरिक आवतजावत देशैभरि भइरहन्छ । देश सानो छ, भौगोलिक विकटताहरू छन्, भूगोल विषम छ भनेपछि सोही प्रकारको बनोट र यन्त्र उपकरण, चालक सोअनुसार नै व्यवस्थित हुन सके देशवासीहरू धेरै विरक्त हुन्नथे, जनशक्ति पनि खेर जाँदैन, कुरो परिवारको मात्रै होइन देशको सम्पत्ति भनेको मानव पुँजी हो । एक मानव तयार गर्न कति खर्च र समय लाग्छ । चल्ला मरेजस्तै मानिसको मृत्युलाई सहज मान्ने हाम्रो बानी राम्रो भएन, देशको नीति नै भएन, सर्वसाधारण मर्ने धेरै भए, नेता सुरक्षित हुनु जनता सिद्धिनु राम्रो होइन । जनशक्ति योजनामा सरकार उदासीन भएरै देशवासीहरू धेरै परदेसिए, कुनै घर छैन विदेश नजाने, त्यो पनि धेरै विदेशीकै भाँडा माझ्न । बिजुली बेच्नैका लागि अमेरिकन यहाँ आएर खम्बा गाड्नुपर्ने एमसीसी, एसपीपी ल्याउनुपर्ने, तारे होटलमा करोडौँ भाडा तिरेर कार्यालय राख्नुपर्ने, हाम्रा सादा नेपाली तिनका भाँडा मोल्न जानुपर्ने किन, राजनीतिक सोच आएन देशमा । केवल देशलाई निचोरेर आपूm बन्ने मात्र भयो । पछिल्लो समय दसैँकै मुखमा नेताले लिएको खर्चको फाँटबारी आएको छ, श्री शेर डँडेल्धुरा ६० लाख, श्री खुमल्टार अब गोरखा ५० लाख, श्री अर्थको ढुकुटी सञ्चालन ४५ लाख, श्री तनहुँ धेरैपल्ट प्रमको उम्मेदवार ३० लाख, श्री रौतहट आफ्नो दलबाट बसाइँसराइ ३० लाख, श्री नाग सर्प इलाम २० लाख, श्री संविधान ढोगेर उपल्लो पद पाएका चिकित्सक १० लाख । यदि यो सही हो भने नेपाली आमाले यिनलाई जन्माएकोमा गर्व गर्दिनन्, देशको ढुकुटी खोक्रो पारी जनताको ढाड सेक्नेलाई सतीले सरापेको देश पो भन्ने होला त । लिएका छौ भने दसैँमा दुर्घटनामा परेका आफन्तको घाउमा मलम लगाउने काममा प्रयोग गर्ने गरी फिर्ता गर्दा हुन्छ, पहिले लिएको त पचिसक्यो होला ।

प्रतिक्रिया दिनुहोस्