Logo

ब्याजदर वृद्धिले उद्यमी–व्यवसायी मर्कामा परेको गुनासो

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ब्याजदर वृद्धिले उद्योगी, व्यवसायी निकै मर्कामा परेको बताएका छन् । बैंक तथा वित्तीय संस्थाले लिने स्पे्रड दर र कर्जा प्रवाह गर्दा बेस रेटमा उच्चतम ६ प्रतिशत प्रिमियम कायम हुँदा उद्योगी, व्यवसायी निकै मर्कामा परेको उनले बताए ।
उद्योग व्यापार संगठन रुपन्देहीको १५ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै अध्यक्ष मल्लले अकासिएको ब्याजदर नियन्त्रण नहुँदा सम्पूर्ण उद्योगी, व्यवसायी मर्कामा पर्नुका साथै महगँीले जनतामा समेत असर गरेको बताए । कोभिड महामारीका कारण मुलुकको अर्थतन्त्र अत्यन्तै प्रभावित भएको र रुस–युक्रेन युद्धले थप प्रभावित बनाएको अध्यक्ष मल्लको भनाइ छ । उनले भने, “मुलुकको अर्थतन्त्रमा चौतर्फी दबाब परिरहेका बेला पछिल्लो समय भएको ब्याजदर वृद्धिले व्यवसायीलाई निकै आहत बनाएको छ ।”
हाल विद्यमान स्प्रेड दरलाई ४.४ प्रतिशतबाट १ प्रतिशत घटाउने एवं बैंकहरुको आधार दरलाई यथाशक्य न्यूनतम विन्दुमा कायम गरी कर्जाको आधार दरको अधिकतम २ प्रतिशतसम्म प्रिमियम थप गर्ने व्यवस्था भएमा ब्याजदर घट्ने अध्यक्ष मल्लको भनाइ छ । स्थानीय, प्रदेश तथा संघीय सरकार अन्तर्गतका निकायहरुको खातामा रहेको पुँजीगत खर्च हुन नसकेमा सो रकमको ९० देखि ९५ प्रतिशत रकमलाई वाणिज्य बैंकमार्फत कर्जा प्रवाह गर्ने व्यवस्था भए यसले तरलतामा वृद्धि हुने सुझाव पनि अध्यक्ष मल्लले दिए ।
मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रले आफ्नो गतिविधि बढाउनुपर्ने भए पनि बढ्दो ब्याजदरका कारण अर्थतन्त्र नै धरासायी हुने अवस्था सिर्जना भएको उनको भनाइ छ । अध्यक्ष मल्लले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतलगायत तेस्रो मुलुकमा नियमित हवाई उडान गर्नका लागि उचित पहल गरिनुपर्नेमा जोड दिए ।
लुम्बिनीको पर्यटन प्रवद्र्धन एवं कृषिको आधुनिकीकरण र यान्त्रीकरण मार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जुट्नुपर्ने मल्लको भनाइ छ । भैरहवा सेजभित्र उद्योगहरुको सहज तरिकाले स्थापना र सञ्चालन गरिनुपर्ने भन्दै उनले भन्सार नाकालाई व्यवस्थित गरेर व्यापार सहजीकरण गर्न समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्