Logo

कर्जाको पुनर्तालिकीकरण र पुनर्कर्जाको सुविधा दुई वर्ष बढाउन माग

होटल संघ नेपालले बैंकलाई साँवा तथा ब्याज बुझाउने समयसीमा २ वर्षका लागि पुनर्तालिकीकरण गर्न र पुनर्कर्जाको सुविधासमेत उपलब्ध गराउन माग गरेको छ । पर्यटन आगमनमा कमी हुँदा होटल सञ्चालन खर्च धान्न तथा बैंकको ब्याज बुझाउन सक्षम नरहेको भन्दै हानले समयसीमा बढाउन माग गरेको हो ।
पर्यटक आवागमनमा कुनै सुधार नभएकाले बैंकको साँवा–ब्याज बुझाउने समयसीमा बढाई कम्तीमा २ वर्षका लागि पुनर्तालिकीकरण र पुनर्कर्जाको सुविधा दिन संघले माग गरेको छ । संघकी अध्यक्ष सिर्जना राणाले होटल व्यवसायीहरुले बैंकको साँवा तथा ब्याज बुझाउने समयसीमा मात्र थप गर्न चाहेको बताइन्् । “हामीले साँवा तथा ब्याज बुझाउने समयसीमा मात्र थप गर्न चाहेका हौं,” उनले भनिन् । कोभिडको समयमा मौद्रिक नीतिबाट अवलम्बन गरिएको केही सेवा सुविधा कोभिड लगायतका प्रकोपहरु जारी रहेकाले हालको समयमा पनि निरन्तरता दिइनुपर्ने र बैंकहरुले लागू गरेको बढ्दो ब्याजदर होटल उद्योगले धान्नै नसक्ने भएकाले एकल अंकमा झारी लगानी प्रोत्साहन गरिनुपर्ने संघले माग गरेको छ ।
कोभिड–१९ ले तहसनहस बनाएको होटल तथा पर्यटन उद्योग अहिले केही सहज देखिए पनि क्षमताको तुलनामा पर्यटक आवागमन तथा गतिविधिको कमीले अझै सञ्चालन खर्च धान्न मुस्किल परेको र दैनिक रुपमा होटलहरु घाटामा सञ्चालनमा रहेको संघले जनाएको छ । सन् २०१९ मा भण्डै १२ लाखको संख्यामा आएका पर्यटक यो वर्ष ५ लाख पुर्‍याउन प्रयत्न भइरहेको अवस्थामा क्षमताको आधा पनि व्यवसाय सञ्चालन हुन नसकेको संघले जनाएको छ ।
कोरोना महामारीको असर समाधान नहुँदै देखिएको रुस–युक्रेनको जारी युद्धको प्रभाव, नेपालमा तीव्र रुपमा फैलिरहेको डेंगुको प्रकोपले पर्यटनमा नकारात्मक असर पुर्‍याएको छ । यसमाथि पर्यटक बढी आउने समयमा आसन्न निर्वाचनले समेत परोक्ष रुपमा पर्यटन आगमन र गतिविधिलाई घटाउने संघले प्रक्षेपण गरेको छ । बैंकको बढ्दो ब्याजदर र समयसीमाभित्र साँवा ब्याज बुझाउने तीव्र ताकेता नै पछिल्लो समय होटलको लागि दबाब रहेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संघले भनेको छ, “अहिलेको परिस्थितिमा हामीले लिएको साँवाको किस्ता र त्यसमा वहन गर्नुपर्ने ब्याज तिर्ने हाम्रो जिम्मेवारी रहेको हुँदाहुँदै पनि यस परिस्थितिमा कुनै पनि हालतमा बैंकलाई साँवा ब्याज बुझाउन सक्षम नरहेको हुँदा साँवा ब्याज बुझाउने समयसीमा बढाई कम्तीमा पनि २ वर्षका लागि पुनर्तालिकीकरण र पुनर्कर्जाको सुविधा समेत उपलब्ध गरिनुपर्ने हाम्रो जोडदार माग रहेको छ ।”
माग पूरा नभएको अवस्थामा होटल उद्योेगहरु बैंकको साँवा र ब्याज बुझाउन नसकेर क्रमिक रुपमा बन्द गरिनुपर्ने बाध्यता आएकाले बैंकको साँवा ब्याज भुक्तानीको समयसीमा बढाउन माग संघले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्