Logo

श्रमको समस्या कायमै

जजिरा एयरवेजद्वारा उडान कटौती

भैरहवाबाट कुवेत साताको तीन उडान गर्दै आएको जजिरा एयरवेज पहिलो चार महिनामा आशा गरेभन्दा बढी यात्रु पाएपछि निकै उत्साहित भएको थियो । गत २ जेठदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको जजिरा एयरवेजले दुवै तर्फबाट हवाई यात्रु बढी भएपछि ३१ भदौदेखि दैनिक १ उडान सुरु गरेको थियो । तर कुवेतबाट आउने यात्रु पर्याप्त भए पनि भैरहवाबाट त्यसतर्फ जाने यात्रुहरु अपेक्षाअनुसार नभएपछि २७ असोजदेखि दैनिक उडान कटौती गरी साताको तीनमा सीमित गरेको छ ।
जजिरा एयरवेजका नेपाल म्यानेजर अमित नागरथले यात्रु अभाव भएपछि उडान कटौती गरी साताको तीन वटामात्रै उडान भएको जानकारी दिए । “उडान सुरु भएको ४ महिनासम्म दुईतर्फी नै यात्रुहरु पर्याप्त थिए, हामी उत्साहित थियौं । त्यसैले दैनिक उडान सुरु गर्‍यांै तर सोचे अनुसार हुन सकेन । आउने भन्दा पनि भैरहवाबाट जाने यात्रुहरु कम भएपछि कटौती गरिएको हो । यात्रु बढे पुन: दैनिक उडान सुरु गर्छौं,” उनले भने ।
भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने जजिरा एयरवेज पहिलो कम्पनी हो । अन्तर्राष्ट्रिय उडान सुरु भएको ५ महिना बितिसक्दा पनि श्रम, स्वास्थ्य परीक्षण लगायतका काम गर्न काठमाडौं नै जानुपर्ने बाध्यता छ । यात्रुहरु काठमाडांैमा श्रम, स्वास्थ्य परिक्षण लगायतका काम सम्पन्न गरी त्यतैबाट उड्ने क्रम बढी रहेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा) लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष चन्द्रबहादुर थापाले बताए । “असारबाट श्रम कार्यालय खुले पनि पूर्ण रुपमा सञ्चालनमा नआउँदा समस्या बढिरहेको छ । यात्रुहरु काठमाडांै नै जानुपर्ने बाध्यता छ,” उनले भने । श्रमको समस्या मात्र नभई साउदीको लागि गामा तथा कतारको भिसा सेन्टरको शाखा कार्यालय पनि अत्यावश्यक छ । स्वास्थ्य परिक्षणका लागि सिफारिस भएका संस्थाहरुले पनि सेवा सुरु नगरेको र वैदेशिक रोजगार महासंघका सदस्य म्यानपावर कम्पनीहरुले शाखा कार्यालय नखोली काठमाडांैबाटै सेवा प्रवाह गरी भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ओझेलमा पार्ने काम भइरहेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौपानेले बताए । “काठमाडांै चाहँदैन त्यहाँका सेवा सुविधा अन्यत्र जाओस् । काठमाडांैको सिन्डिकेट नतोडेसम्म अन्यत्र विकास हँुदैन,” न्यौपानेले भने ।
जजिरा एयरवेजले धानिरहेको अन्तर्राष्ट्रिय उडान यस्तै अवस्था रहे कति बेला बन्द हुने हो थाहा नभएको सोसाइटी अफ टुर एन्ड ट्राभल अपरेटर अर्गनाइजेसन नेपाल लुम्बिनी प्रदेश संयोजक सञ्जय बजिमयले बताए । “छिटोभन्दा छिटो यहाँ देखिएका समस्या समाधान गरी श्रम लगायतका काम यहीँबाट हुनुपर्छ । नेपाल एयरलाइन्सले कम्तिमा भारतको दिल्ली भए पनि उडान सुरु गर्नुपर्छ र अन्य अन्तर्राष्ट्रिय उडान सुरु गर्न अरु कम्पनीहरुसँग सम्झौता गर्नुपर्छ,” बजिमयले भने ।
भैरहवा–कुवेत हवाई भाडा काठमाडांैबाट भन्दा सस्तो रहेको छ भने नारायणी पश्चिमका यात्रुहरुलाई भैरहवाबाट उडान भर्न सजिलो समेत हुन्छ । गत २ जेठदेखि जजिरा एयरवेजले हप्तामा तीन पटक कुवेत–भैरहवा हवाई उडान गर्दै आएको छ । जजिराको ‘एयर बस ३२० नीओ’ विमानले बुधार, शुक्रार र शनिबार नियमित रुपमा भैरहवाका लागि उडान गर्दै आएको छ । जजिराले कुवेतबाट १७ वटा एयर बसबाट विभिन्न देशका ४५ गन्तव्यमा उडान भर्दै आएको छ । तीमध्ये दुई गन्तव्य नेपालको काठमाडौं र भैरहवा हुन् । भैरहवाबाट कुवेत ट्रान्जिट गर्दै दुबई, कतार, मस्कट, जेद्धा, रियाद, बहराइनलगायत युरोपको बाकु, टर्की लगायतका मुलुकमा समेत उडान हुन्छ । सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजको ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशतसहित एक वर्षसम्मका लागि ल्यान्डिङ, पार्किङ, नेभिगेसन र सुरक्षा लगायत शुल्कमा छुट दिएको छ । भैरहवा क्षेत्रका व्यावसायिक संघसंस्थाहरुले श्रम समस्या समाधानका लागि गृहमन्त्री, पर्यटनमन्त्री, नागरिक उड्डयन प्राधिकरण, श्रम विभाग लगायत निकायमा बारम्बार हारगुहार गरेपनि काम हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्