Logo

बूढीगण्डकी जलविद्युत परियोजनामा लगानी गर्न चिलिमेको प्रस्ताव

नेपाल विद्युत प्राधिकरणको बहुसंख्यक सेयर स्वामित्व रहेको चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले सेतीनदी–३ (एसआर–३) र बूढीगण्डकी प्रोक जलविद्युत परियोजनामा लगानी गर्न लगानी बोर्डसमक्ष प्रस्ताव गरेको छ ।
अर्ध–जलाशययुक्त प्रकृतिमा निर्माण प्रस्ताव गरिएको एसआर–३ जलविद्युत परियोजनाको क्षमता ८७ मेगावाट र नदी प्रवाही (रन अफ द रिभर) प्रकृतिको बूढीगण्डकी प्रोक जलविद्युत परियोजनाको क्षमता ८१ मेगावाट रहेको छ ।
बोर्डमा लगानी स्वीकृतिका लागि पेस भएको प्रस्तावअनुसार, एसआर–३ को लागत १९ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ र बूढीगण्डकी प्रोकको लागत १६ अर्ब ४५ करोड ५४ लाख रुपैयाँ रहने अनुमान छ । पश्चिम सेती जलविद्युत परियोजनाको माथिल्लो भागमा अवस्थित एसआर–३ परियोजना सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा पर्छ ।
लगानी बोर्डको कार्यालयले गत २ भदौमा भारत सरकार स्वामित्वको एनएचपीसी लिमिटेडसँग पश्चिम सेती (७५० मेगावाट) र एसआर–६ (४५० मेगावाट) विकास गर्नेगरी समझदारी गरेको थियो । त्यस्तै, बूढीगण्डकी प्रोक जलविद्युत परियोजनाको परियोजनास्थल गण्डकी प्रदेशको गोरखा जिल्लामा पर्छ ।
चिलिमेले एसआर–३ मा लगानी गर्ने प्रस्तावसँगै सेती करिडोरका अन्य सम्भाव्य जलविद्युत परियोजनाहरूमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको लगानी आकर्षित हुने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बताए ।
उनले सेती करिडोरको पनि अरुण करिडोरको जस्तै भविष्य रहेको चर्चा गर्दै चिलिमेले विकासका लागि प्रस्ताव गरेको परियोजनाले सेती नदी र एसआर–६ का लागि निर्माणका क्रममा आवश्यक ऊर्जा आपूर्ति हुने विश्वास व्यक्त गरे ।
चिलिमे हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुभाषकुमार मिश्रले सेती बेसिनमा पश्चिम सेती र एसआर–६ दुई ठूला जलविद्युत परियोजना निर्माण हुन लागेको पृष्ठभूमिमा एसआर–३ जलविद्युत परियोजनाले उक्त बेसिनमा थप टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।
चिलिमेको २२.१ मेगावाटको चिलिमे जलविद्युत परियोजना सञ्चालनमा रहेको छ र सो कम्पनीको अगुवाइमा विभिन्न कम्पनीहरूमार्फत् अतिरिक्त १०२ मेगावाटको मध्य भोटेकोसी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावटको (माथिल्लो) सान्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत परियोजनाहरू निर्माणाधीन रहेका छन् ।
सेती करिडोरका जलविद्युत परियोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण ग्रिडमा जोड्नका लागि भारत सरकारको लाइन अफ क्रेडिट सुविधामा चैनपुर–वनलेक–न्यूअत्तरिया ४०० केभी क्षमताको १५० किमि प्रसारणलाइन राष्ट्रिय प्रसारण ग्रिड कम्पनीमार्फत् कार्यान्वयन हुँदैछ ।
परियोजनाको विद्युतगृहदेखि चैनपुरसम्म जोड्ने १६ किमि प्रसारणलाइन परियोजना आफैंले निर्माण गर्नेछ । त्यस्तै, बूढीगण्डकी प्रोक विद्युत गृहदेखि नजिकको सबस्टेसनसम्म प्रसारणलाइन परियोजना आफैंले निर्माण गर्ने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्