Logo

ठेचोमा १२ वर्षे जात्रा

ललितपुरको ठेचोमा नवदुर्गा भवानीको १२ वर्षे जात्रा सुरु भएको छ । पूजा सुरु गर्ने क्रममा ३४ जना गुठीयारले स्नान गरी चोखो भएर सामूहिक बाजासहित भवानीको तान्त्रिक विधिबाट पूजा पनि गरेका छन् । नवदुर्गा मन्दिरको मूल ढोकामा तान्त्रिक विधिपूर्वक पूजा गर्ने क्रममा मन्दिरमा ताल्चा लगाएपछि जात्रा सुरु भएको मानिने नवदुर्गा भवानी गुठीका नाइके भक्तलाल मालीले बताए । जात्राको सुरुको दिनमा नवदुर्गा भवानीका ती गुठीयारहरूले राष्ट्रप्रमुखलाई सुपारी चढाउँछन् । यो मन्दिरमा १२ वर्षे जात्रामा एकपटक मात्रै ताल्चा लगाइन्छ । यसबाहेक अन्य वर्षमा भने सबै ३ सय ६५ दिनै मन्दिर भक्तजनका लागि खुला रहने गरेको छ । यो जात्रा सुरु भएसँगै ठेचोवासीलाई विभिन्न बन्देज लाग्ने गर्छ । जात्रा अवधिभर नवदुर्गा गुठीको बाहेक बस्तीमा अन्य बाजाका साथै घण्ट, सिठ्ठी, ताली बजाउन नहुने, बिहे, व्रतबन्ध र भोजभतेर गर्न नहुने नियम रहेको छ ।
जात्राका क्रममा विभिन्न १३ देवगणको नृत्य गर्ने चलन छ । नवदुर्गा नाचमा भैरव, काली, बाराही, कुमारी, गणेश, ब्रह्मायणी, महादेव, महालक्ष्मी, विष्णुदेवी, सिंहिनी, बघिनी, इन्द्रायणी र श्वेत भैरव रहेको नवदुर्गा भवानी नाच प्रदर्शन गरिन्छ । नवदुर्गाको शक्तिका रूपमा पुजिने इन्द्रायणीको देवगण बनेर नृत्य गर्ने हरेक गुठीयारको मृत्यु हुन थालेपछि पछिल्लो समय यो देवीको भेषमा नृत्य गर्न सबै डराउँदा यो नृत्य लोप हुने अवस्थामा छ । डरले त्यो नृत्य गर्ने आँट कसैले गरेका छैनन् । यस क्रममा १२ वर्षमा एकपटक मात्रै श्वेतभैरवको नृत्य गराइने चलन छ । १२ वर्षे जात्रा अवधिमा २८ वटा पर्वपूजा गरिने चलन छ । पाटन दरबार क्षेत्र, सुनाकोठी, ठेचो, चापागाउँ, बुङमतीमा नृत्य प्रस्तुत गरिन्छ । जात्राभरि आँग सिं अर्थात् स्व: सि (चाँपको काठ) ल्याउने, नवदुर्गाको मूल डबलीमा छाप्रो बनाई देवता प्रतिस्थापन गर्ने, दे भ्वए (देश भोज) भनी ठेचो र सुनाकोठीवासीलाई भोज खुवाउने चलन छ ।
पाटन दरबारको नाचको विशेष आकर्षणका रूपमा रहने ठेचोको नवदुर्गा नाच हो । ठेचोमा नवदुर्गा देवी जसलाई ‘शिवद्य:चा:’ पनि भनिन्छ, उनै देवीको तत्कालीन नेपाल अर्थात् पाटन दरबारका लिच्छविकालीन राजा मानदेवका इष्टदेवता मनमानेश्वरी देवीसँग मितेरी साइनो भएको कथन छ । मनमानेश्वरी देवीलाई पनि भगवतीका रूपमा पुजिन्छ । त्यही देवीको आराधनाबाट लिच्छवि राजाले किराती राजालाई हराएर शासन गरेको भनाइ छ । त्यसैले नवदुर्गा नाचको यो १२ वर्षेे जात्रा लिच्छविहरूले पाटनमा किरात वंशलाई पराजय गरेको इतिहाससँग पनि जोडिएको छ । भाषा वंशावलीमा उल्लेख भएअनुसार नवदुर्गा नाचलाई लिच्छवि राजा गुणकामदेवले ल्याएको खड्ग जात्राका रूपमा लिइन्छ ।
जात्राको मुख्य आकर्षण सुनाकोठीको कुल्पी यज्ञ रहेको छ । रातैभरि यज्ञ गरी नयाँ मुकुट, पोसाक, खड्गमा तन्त्र साधना गरी देउता प्रतिष्ठापन गरिन्छ । परम्पराअनुसार यो जात्राका क्रममा नरबलि पनि दिने चलन रहेको भनाइ चल्दै आएको छ । बस्तीमा ‘नाय खिं’ बाजा बजाई मान्छेहरूलाई सूचित गराइने परम्परा रहेको नवदुर्गा भवानी नाच गुठी संरक्षण समितिका अध्यक्ष प्रशान्त मालीले जानकारी दिए । उनका अनुसार पछिल्लो समयमा सूचना टाँसिने मात्र नभएर सामाजिक सञ्जालमै के गर्न हुने, के गर्न नहुने भन्ने विषयमा सूचना नै हाल्ने गरिएको छ । संरक्षण समितिका अध्यक्ष मालीले भने, “देउता गुप्तवासमा अर्थात् दु:खमा बस्ने भएकाले यो अवधिमा ठेचोमा खुसीयाली मनाउन नहुने परम्परा छ ।”
विभिन्न शक्तिपीठबाट तन्त्र साधनामार्फत गोप्य पूजा गरी देवता र जल मन्दिरमा ल्याउनुपर्छ भन्ने मान्यता छ । त्यसैले यो कर्ममा बाधा नपुगोस् भनी परापूर्वकालदेखि नै राति हिँडडुल गर्न निषेध गरिएको हो । यो अवधिमा नवदुर्गा गुठीको बाजाबाहेक बस्तीमा अन्य बाजा, घण्ट, सिठ्ठी, ताली आदि बजाउन निषेध गरिएको छ । बिहे, भोजभतेर, व्रतबन्ध गर्न नपाइने नियम छ ।

प्रतिक्रिया दिनुहोस्