Logo

नेपाल विभिन्न जनजाति र समुदायहरूका बीच सदियौंदेखि भाइचारा सम्बन्ध राख्दै आएका परिश्रमी र मेहनती समुुदायको शान्तिमय साझा फूलबारी हो ।

शान्ति शिक्षा र आजको विश्वको आवश्यकता

प्रत्येक वर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस मनाइन्छ । सन् १९८२, सेप्टेम्बर २१ देखि यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघ महासभाले सन् १९८१ मा विश्वका सबै देश र जनतामा शान्तिको कामनासहित अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने प्रस्ताव पारित गरिएको थियो । हाम्रो देशको सन्दर्भमा २०६५ सालदेखि मनाउन सुरु भएको पाइन्छ । विश्व शान्तिको उद्देश्यले यो दिवस मनाइन्छ । शान्ति दिवसका अवसरमा नेपालमा भने सम्बन्धित सरकारी निकाय र गैरसरकारी महासंघले यो दिवस मनाउँछन् । खासगरी बाह्रवर्षे सशस्त्र द्वन्द्वको अन्त्य र शान्ति प्रक्रियाको संस्थागत सुरुवातको खुसीयालीमा नेपालमा शान्ति दिवस मनाउने गरिन्छ । २०२२ को विश्व शान्ति दिवसको नारा ‘जातिवादको अन्त्य र शान्तिको स्थापना’ रहेको छ ।
आज शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको देश नेपाल पनि अशान्त छ, साथै विश्वभर नै अशान्तिले छाएको छ । अत: शान्तिका लागि ठूलो पहल गर्नु समयकै माग भएको छ भन्नुमा कुनै अत्युक्ति नहोला । अशान्ति हटाउन सबभन्दा पहिले आफ्नो परिवार, समुदाय, समाज, संस्कृति, मानव अधिकार आदिमा विशेष ध्यान दिनुपर्ने हुन्छ । संघर्ष तथा द्वन्द्वले शान्ति कहिल्यै आउँदैन, अत: सदैव बन्धुत्वको भावनाको विकास गरी शान्ति शिक्षाको सञ्चार गर्नु आवश्यक छ । प्रत्येक देशमा सांस्कृतिक, सामाजिक एवं आर्थिक विकासको सुनिश्चित गर्ने मार्गमा सबै समुदाय, वर्ग एवं धर्मको संयुक्त रूपले शान्ति संस्कृतिको विकास गर्न नितान्त आवश्यक भएको छ । आज सम्पूर्ण विश्व नै विभिन्न बहानामा अशान्तिको छाल मडारिएको सन्दर्भमा सबैमा शान्तिमय संस्कृतिको विकास गर्नु नै आजको आवश्यकता भएको छ ।
यसै सम्बन्धमा मार्टिन लुथरका भनाइअनुसार, “शान्ति केवल युद्धबाट आउने होइन, आपसी मेलमिलापबाट नै आउँछ,” आजको सन्दर्भमा माथि उल्लिखित वाक्यांश नै धेरै महŒवपूर्ण छ । विश्वयुद्ध, अन्याय एवं आपसी वैमनस्यताको कारण शान्ति भंग भई शान्तिको ज्योति टाढा भएकोले हामी सबै मिली शान्ति संस्कृतिको विकासबाट नै शान्ति ल्याउनु आवश्यक छ । शान्ति संस्कृतिको विकासबाट मानव मूल्य–मान्यताको विकास सम्भव छ । शान्ति विकासका लागि विद्यालय तहको पाठ्यक्रममा नै शान्ति शिक्षा राख्नुपर्ने आजको आवश्यकता हो । शिक्षण पद्धतिको माध्यमबाट शिक्षकद्वारा सदैव उच्च नैतिकतासाथ शान्ति शिक्षा व्यापक बनाउन आवश्यक छ । युनेस्कोले मानव मूल्य–मान्यता र शान्तिबारे यसरी आफ्नो भाव व्यक्त गरेको छ, “उचित आचरण शान्ति प्रेम र अहिंसा सबैमा सार्वभौमिक मूल्य छ शान्तिका लागि,” जुन शान्ति आधारित शिक्षाको कार्यक्रमको निर्माण सबैले गर्नुपर्छ ।
शान्तिका लागि मुख्य तीन प्रकारको आयाममा विशेष ख्याल राख्नुपर्छ : सार्वभौमिक शान्ति, सामाजिक शान्ति, प्राकृतिक शान्ति । आज हाम्रो देश नेपालमा पनि शान्ति शिक्षासम्बन्धी पाठ्यक्रम राख्ने बहस नचलेको होइन, यो बहस बहसमा मात्र सीमित भएको छ । शान्तिका लागि आजसम्ममा शान्ति शिक्षाको निम्न उद्देश्य राखी विद्यालयका विद्यार्थीहरूलाई शान्तिको मार्ग दिन सक्ने सशक्त पाठ्यक्रम, शान्तिको उपयोग वा निर्माता बनाउन योग्य, अहिंस्रक मानव जातिमा सम्मानजनक भावना उत्पन्न आन्तरिक शान्तिको खोज वा समूहमा शान्ति स्थापना गर्न सक्ने सही अहिंस्रक तथा गहन विचारकको विकास गर्ने राष्ट्रिय कार्यक्रम आवश्यक भएको छ ।
शान्ति संस्कृति स्थापना गर्न अध्यापक अर्थात् गुरुहरूले पनि सोसम्बन्धी विभिन्न कार्य गर्नुपर्ने समय आएको छ । सोका लागि विविध छलफल एवं कार्यशाला आयोजना गरी विस्तृत पाठ्यक्रम बनाई शान्ति स्थापना गर्न सहयोग गर्ने, व्यावहारिक तरिकाबाट शान्तिसम्बन्धी कार्य एवं प्रशिक्षण दिने, पाठ्यक्रम निर्माण, विशिष्ट स्थानीयसहित विकास मापन गर्ने मानवीकृत मूल्याङ्कन प्रक्रियाको निर्माण तथा उपयोग गर्नुपर्छ ।
शान्ति शिक्षा व्यक्तित्व तथा चरित्र निर्माणका लागि पाठ्यक्रम हुन आवश्यक छ । शान्ति स्थापना शिक्षा उत्पादनका लागि जिम्मेवार एवं संवेदनशील नागरिकको भूमिकामा जोड दिनु आवश्यक छ । शान्ति शिक्षाको कार्यक्रमका लागि विभिन्न पाँच स्तरको एकीकृत पाठ्यक्रम शान्ति शिक्षा दिन सक्ने क्षमतावान् शिक्षाको विकास गर्नु आजको आवश्यकता हो । यो निम्न प्रकारको हुन सक्छ : शान्ति शिक्षाको सिद्धान्तबारे उचित पाठ्यक्रम बनाउनुपर्ने, सबै सैद्धान्तिक पाठ्यक्रम एवं शिक्षण पद्धतिको सम्बन्धित पाठ्यक्रममा नै शान्ति शिक्षाका बारे एकीकृत तरिकाबाट ज्ञान दिने, शान्ति शिक्षा अध्यापन अभ्यास तथा अन्य विद्यालय अनुभव आदानप्रदानमा ध्यान दिने, सांस्कृतिक, साहित्यिक तथा अन्य पाठ्य सहभागी कार्यक्रमको सहयोगको माध्यममा शान्ति शिक्षाको विशिष्ट गतिविधि आयोजना गर्ने, शिक्षक, शिक्षण संस्था तथा सबै समुदायमा शान्ति शिक्षाका साथै पर्यटन व्यवसायको माध्यमबाट सन्देश प्रसारित गर्नु आजको आवश्यकता हो ।
विश्वमा सूचना र सञ्चारको जगत्मा एक्काइसौं शताब्दीमा देखिएको दु्रत विकासका साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलत: प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजीबजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूका लागि वस्तु तथा श्रम बजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हासिल शान्तिमय तरिकाबाट मात्र सम्भव छ ।
आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोत–साधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारका लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशका साथै विकाशशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गर्नुपर्ने अवस्था छ, जुन शान्तिपूर्ण मेलमिलापबाट मात्र सम्भव छ ।
नेपालको सन्दर्भमा समृद्ध गाउँको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाको केन्द्रबिन्दु युवा जनशक्तिको विदेश पलायनतालाई रोक्दै स्वदेश एवं जन्मभूभिमा नै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै शान्तिमय पर्यटनलाई नयाँ आयामका साथ कृषिपछिको मुख्य व्यवसायका रूपमा पर्यटन व्यवसायको विकास गर्नु यस क्षेत्रको आवश्यकता हो ।
भगवान् गौतम बुद्धको जन्मस्थान र विश्वको सर्वोच्च शिखर सगरमाथाको देशका रूपमा मात्र विश्वमा परिचित नभई पर्यटन, जलस्रोत, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूको धनी एवं जैविक विविधताले भरिपूर्ण रहेको हिमालय पर्वतको क्षेत्रका रूपमा समेत चिनिन्छ । आर्य तथा मंगोल संस्कृतिको सङ्गमस्थल रहेको क्षेत्र हिन्दू तथा बौद्धमार्गी ऋषिमुनिहरूको तपोभूमि एवं विश्रामस्थलको रूपमा रहेको छ । नेपाल विभिन्न जनजाति र समुदायहरूका बीच सदियौंदेखि भाइचारा सम्बन्ध राख्दै आएका परिश्रमी र मेहनती समुुदायको शान्तिमय साझा फूलबारी हो ।
प्राकृतिक, सांस्कृतिक एवंम् ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकहरूको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवम् पर्यटकीय स्थल हुँदाहुँदै पनि सो स्थानको पर्यटकीय विकास हुन सकेको छैन । यसबाट प्रस्ट हुन्छ कि उत्कृष्ट पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन । सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण नेपालको आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी हाम्रो देशमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवम् वातावरणको संरक्षण र संवद्र्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्नु अहिलेको समयको माग हो ।
प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्छ । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तŒवहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गर्न आवश्यक छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सिर्जना गरी अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ । पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानुन र प्रक्रियाअनुरूप पर्यटनलाई एक उद्योगका रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । यसो भएमा मात्र समृद्ध नेपाल सुखी नेपालीको सपना साकार हुनेछ । यस क्षेत्रबाट हिमाली दृश्यको सौन्दर्यपान गर्दै पर्यटकीय विकासका लागि विभिन्न प्रकारको कार्यक्रमहरू गर्न सके अर्थतन्त्रमा दरिलो टेवा पुग्ने थियो ।
माथि उल्लिखित कार्यक्रम एवं तरिकाबाट शान्ति संस्कृतिको विकास सम्भव छ । आज सम्पूर्ण विश्वलगायत शान्तिका अग्रदूत बुद्ध जन्मेको हाम्रो देशमा समेत अशान्ति आएकाले सो निवारण गर्न केवल शान्ति संस्कृतिको विकासबाट नै सम्भव हुनेछ । विश्व शान्ति संस्कृतिको विकास केवल शान्ति शिक्षाको माध्यमबाट सम्भव छ । शान्ति शिक्षाको माध्यमबाट हामी सबैले विश्वको नवीन शान्ति मुस्कान देख्न सकिन्छ । शान्ति संस्कृतिको आधार नबनाई शान्ति शिक्षा दिनु मृगतृष्णा समान हुने भएकाले आजैदेखि तपार्इं हामी सबै शान्ति संस्कृतिको आधार स्थापना गरी विश्व शान्ति कायम गर्न नि:स्वार्थ भई लाग्नु नै आजको आवश्यकता हो । अत: विश्वसामु सगरमाथा, बुद्ध र पशुपतिनाथ भएको नेपालमा पूर्ण शान्तिमय वातावरणको सिर्जना गरी नेपालीमा आपसी मेल गरी हिंसा त्यागी सभ्यता, संस्कृति र शान्तिमय वातावरणको विगुल फुक्ने दिवसको मुस्कुराउँदै बुद्धको शान्ति लागू हुने, पशुपतिनाथ नेपालमा विराजमान गरेको सार्थकता भई नेपाल र नेपालीको वातावरण सुधार गरि हिलोबीच पनि कमल फक्रन्छ, वीर नेपालीहरू राष्ट्रकै हित हुने वातावरणमा लागौं, हिंसा त्यागौं, शान्तिमय वातावरण सृजना गरे मात्र सेप्टेम्बर २१ मा मनाइने विश्व शान्ति दिवसले सार्थकता पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्