Logo

नवौं राष्ट्रिय खेलकुदमा रेकर्ड बनाउँदै खेलाडी

खेलकुदको महाकुम्भ नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा नयाँ रेकर्ड सुरु भएको छ । उक्त प्रतियोगिताको उद्घाटनको भोलिपल्ट शनिबार भएको खेलमा विभिन्न खेलका खेलाडीहरुले नयाँ रेकर्ड बनाउन सुरु भएको हो ।
यसैबीच, अनौपचारिक रुपमा असोज २३ गतेदेखि सुरु भए पनि औपचारिक रुपमा पोखरा रंगाशालाको फुटबल स्टेडियममा एक भव्य समारोहका बीच शुक्रबार साँझ उक्त प्रतियोगिताको उद्घाटन भएको छ । असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले उद्घाटन गरे । सो अवसरमा उपराष्ट्रपति पुनले खेलकुद विकासका लागि लगानी गर्न जोड दिएका छन् । उनले भने, “खेलकुद विकासको पहिलो शर्त भने पूर्वाधारको विकास नै हो । यस क्षेत्रमा राज्यको लगानी वृद्धि गर्नु नै हो । तर, पूर्वाधार निर्माणमा अपेक्षाकृत प्रगति देखिरहेको छैन ।”
वर्षौँअघि निर्माण सुरु गरिएका खेलकुद पूर्वाधारहरु अझै अलपत्र रहेको र खेलाडीहरुले कमजोर पूर्वाधारमा अभ्यास र प्रतिस्पर्धा गर्नु परिरहेको तथ्य अघि सार्दै उपराष्ट्रपति पुनले सरकारले यस क्षेत्रमा अपेक्षाकृत लगानी वृद्धि गर्न नसकेको बताए । उनले खेलकुदको विकासमा लगानी आवश्यक रहेको बताउँदै भने, “सरकार, राखेप, खेल सम्बद्ध संघ संस्था, खेलाडी र सरोकारवाला सबैले यो राष्ट्रिय खेलकुदमा हामी संकल्प गरौँ–खेलकुदमा लगानी वृद्धि गर्नेछौँ, सुविधायुक्त पूर्वाधार निर्माणमा ढिलाइ गर्ने छैनौँ, खेलाडी र प्रशिक्षकको समस्या समाधान गर्ने छौं, राष्ट्रलाई सर्वोपरीमा राखेर खेल प्रदर्शन गर्ने छौैँ । साझा प्रयासविना यसको विकास कठिन छ ।” यस्ता वृहद् प्रतियोगिताले खेलाडी उत्पादन र खेलकुदको भौतिक निर्माण हुने हुँदा हरेक दुई–दुई वर्षमा प्रतियोगिता निरन्तर आयोजना गर्नुपर्नेमा उपराष्ट्रपति पुनको जोड थियो ।
यसै गरी उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले ४० वर्षको अन्तरालमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदले नेपाली खेलकुदको जगलाई स्थापित बनाउन सहयोग पुग्ने बताए । मन्त्री गहतराजले कार्यक्रममा नवौं राष्ट्रिय खेलकुदको झण्डोत्तलन गर्दै खेलकुद विश्वको उदाउँदो अर्थतन्त्र र उद्योगको रुपमा विकास भई रहेको तर्फ सबैको गहिरो ध्यान पुग्नुपर्ने उल्लेख गर्दै खेलकुदको विकास र विस्तारमा सरकारी प्राथमिकता र कार्यक्रमहरु हुनु स्वाभाविक हुने उल्लेख गरे ।
यसै गरी नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं पर्यटन मन्त्री जिवनराम श्रेष्ठले ओलम्पिक अभियानले यस्ता प्रतियोगिताले सहयोग पुर्‍याउने बताए । खेलकुदले राष्ट्रिय एकता र सौहर्दता कायम गर्न उल्लेख्य भूमिका निर्वाह गर्ने बताए । समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले देशको विषम परिस्थितीमा पनि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा हुनुले यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने उल्लेख गरे । राखेपको आयोजनामा ३९ वर्ष पछि गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद ३६ खेलका लागि ६१५७ खेलाडीहरु विभिन्न ३६ खेलमा प्रतिष्पर्धा गरिरहेको सदस्य सचिव टंकलाल घिसिङले बताए ।
यसै विच लुम्विनीबाट ल्याइएको ओलम्पिक टर्च गण्डकी प्रदेशका ओलम्पियन पोखरा रंगशालामा प्रज्वलन गरेका थिए । यस अघि उक्त टर्च पोखरा नगर परिक्रमा गराइएको ओलम्पियन दिपक विष्टले बताए । उद्घाटन समारोहमा आतिशवाजी गरिनुका साथै विविध सांस्कृतिक कार्यक्रम, मार्च पास, विभिन्न जनजाती भेषभुषामा झाँकी प्रदर्शन गरिएको थियो ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबारदेखि पोखरामा सुरु भएको पौडी प्रतियोगीतामा नयाँ रेकर्ड कायम भएको छ । १३ औँ सागमा १५ सय मिटर फ्रि स्टाइलमा १७ मिनेट ४९.९५ सेकेण्ड लगाएका त्रिभुवन आर्मी क्लवका नासीर याहा हुसेनले शनिबार विहान फिस्टेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगीतामा १६ मिनेट ५०.२१ सेकेण्डमा दुरी पूरा गर्दै यस अघि रहेको आफ्नै रेकर्ड व्रेक गरेका हुन् ।
एनआरएनका आशिष सापकोटाले १६ मिनेट ५७.९५ सेकेण्डमा पुरा गरेका थिए । १५ सय फ्रि स्टाइलमा नासीरले स्वर्ण पदक जितेका छन् । २ सय मिटर पौडीमा त्रिभुवन आर्मी क्लवकै डुवाना लामाले २ मिनेट ३१.४६ सेकेण्डमा पुरा गर्दै यसअगाडि गौरीका सिहंको २ मिनेट ३२ सेकेण्डको किर्तिमान तोड्दै नयाँ राष्ट्रिय किर्तिमान बनाउन सफल बनिन् ।
पौडी प्रतियोगीतामा २०३ जना खेलाडीहरुले सहभागीता जनाएको नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जानकारी दिए । २५ मिटर हिट देखि १५ सय मिटर हिट सम्म हुने कार्यक्रमको आइतबार विहान ८ सय मिटर पौडी खेल प्रतियोगीताको फाइनल हुने वजाचार्यले बताए । नेपाल पौडी खेल संघका केन्द्रीय अध्यक्ष वर्जाचार्यका अनुसार ४ स्ट्रोकमा २१ इभेन्टहरु संचालन हुने छन् । फ्रि स्टाइल, व्रेष्ट स्टोक, वटरफलाई, वटरपलाई व्याक स्टोक र आइ एम गरी समूहका खेलाडीले खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

महिला १०० मिटर दौडमा सरस्वतीले राखिन् कीर्तिमान
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तरगत एथलेटिक्सको महिला १०० मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । कीर्तिमान सहित उनले सहित स्वर्ण जितेकी छिन् ।
ओलम्पिक खेलमा समेत सहभागी भएकी चौधरीले शनिवार विहान भएको हिट चरणमा लुम्बिनी प्रदेशकी निशा चौधरीले बनाएको कीर्तिमान तोड्दै स्वर्ण जितिन् । सरस्वतीले १२.१३ सेकेण्डमा दौड पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । दुई सेकेण्डको अन्तरले उनले कीर्तिमान कायम गरेकी हुन् ।
हिट चरणमा लुम्बिनीकी निशा चौधरीले १२.१५ सकेण्डको कीर्तिमान बनाएकी थिइन् । तर फाइनलमा भने निशाले निर्धारित दुरी पूरा गर्न १२.२२ सेकेण्डको समय लगाइन् आफ्नै कीर्तिमान कायम राख्न नसकेकी निशाले उनले रजत पदक जितिन् । आर्मीकी रमिता थारुले कास्य जितिन् । सरस्वतीले आठौं राष्ट्रिय खेलकुदमा १२.१९ सेकेण्डमा निर्धारित दुरी पार गरेर स्वर्ण जितेकी थिइन् ।

महिला सटपुटमा नेपाल पुलिसकी चन्द्रकलालाई स्वर्ण
नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरा रंगशालामा भएको महिला सटपुट ईभेण्टमा नेपाल पुलिस क्लवकी चन्द्रकला लामगादेले स्वर्ण पदक जितेकी छिन् । सो ईभेण्टमा उनले १२ दशमलव ४० मिटरको दुरी पार गर्दै स्वर्ण जितेकी हुन् ।
त्यसैगरी लुम्बिनी प्रदेशकी संगीता अधिकारीले रजत पदक जितेकी छन् । उनले १० दशमलव ८३ मिटरको दुरी पार गर्दै रजत पदक जितेकी हुन् । नेपाल पुलिस क्लवकै बसन्ती चौधरीले ९ दशमलव ८६ मिटरको दुरी पार गर्दै काँस्य पदक जितेकी हुन् ।
नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरा रंगशालामा भएको महिला सटपुट ईभेण्टमा नेपाल पुलिस क्लवकी चन्द्रकला लामगादेले स्वर्ण पदक जितेकी छिन् । सो ईभेण्टमा उनले १२ दशमलव ४० मिटरको दुरी पार गर्दै स्वर्ण जितेकी हुन् ।
त्यसैगरी लुम्बिनी प्रदेशकी संगीता अधिकारीले रजत पदक जितेकी छन् । उनले १० दशमलव ८३ मिटरको दुरी पार गर्दै रजत पदक जितेकी हुन् । नेपाल पुलिस क्लवकै बसन्ती चौधरीले ९ दशमलव ८६ मिटरको दुरी पार गर्दै काँस्य पदक जितेकी हुन् ।

नासिरद्वारा कीर्तिमान सुधारसहित स्वर्ण पदक
नेपाली सेनाका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुद अन्तरग भएको २२ औं राष्ट्रिय पौडी च्याम्पियनसिपममा आफ्नो नाममा रहेको किर्तिमानमा सुधरा गरेका छन् । नासिरले १५ सय मिटिर फ्रिस्टायलमा काठमाडौमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुदमा कायम गरेको १७ मिनट ४९.९५ सेकेन्ड समयमा सुधार गर्दै १६ मिनट ५०.२१ सेकेन्डको नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका हुन् । यसका साथै उनले नवौं राष्ट्रिय खेलकुदमा पौडी तर्फ पहिलो स्वर्ण पदक पनि जितेका छन् । दोश्रो स्थानमा रहेको एनआरएनका आशिष सापकोटाले पनि नासिरले दक्षिण एशियाली खेलकुदमा स्थापित गरेको रेकर्डलाई उछिनेका थिए । सापकोटाले १६ मिनट ५७.९५ को समयमा दूरी पार गरेका थिए । उनले रजत पदक प्राप्त गरे । तेश्रो स्थानमा पुलिसका सुनिल कुमार थापा मगर रहे । उनले कास्य पदक प्राप्त गरे ।

महिला बास्केटबलमा प्रदेश–१ विरूद्ध बागमतीको जित
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला बास्केटबल प्रतियोगितामा प्रदेश–१ विरुद्ध बागमती प्रदेशले जित हासिल गरेको छ । शनिबार भएको खेलमा प्रदेश–१ लाई ७५–२४ को अन्तरमा बागमतीले जित हासिल गरेको हो ।
प्रतियोगिताको पहिलो चरणमा बागमतीले १७–६ को अन्तर बनाएको थियो । दोस्रो चरणमा प्रदेश–१ ले कमजोरी खेल प्रदर्शन पुन: बागमती प्रदेशले २३–३ को फराकिलो अन्तर बनायो । त्यसपछिको तेस्रो र चौथो चरणमा पनि बागमतीले क्रममा : २२–८ र १३–९ को अन्तर बनायो ।
प्रतियोगितामा बागमती प्रदेशलाई जित हासिल गराउन विना मणि योञ्जनले १३ अंक जोडेकी थिइन् ।

महिला हक्कीमा आर्मी विजयी
महिला हक्की अन्र्तगत शनिबार भएको खेलमा आर्मी विजयी भएको छ । खेलमा आर्मीले ८–० को गोल अन्तरले वागमतीलाई हराएको हो ।
खेलको पहिलो क्वाटरमा आर्मीकी सुनिता नेगीले गोल गर्न सफल भएकी थिइन् । खेलको सुरुआतको १ मिनेटमै सुनिताले गोल गरेकी थिइन् । त्यस्तै खेलको १४ मिनेटमा आर्मीका सीतामाया बलले गोल गरेकी थिइन् ।
खेलको दोस्रो क्वाटरमा आर्मीले लगातार तीन गोल गर्न सफल भएको थियो । खेलको २७ मिनेटमा सरस्वती तामाङ, २८ मिनेटमा सीता कुमारी चौधरी र २९ मिनेटमा डम्बरा भट्टले गोल गरेका थिए ।
खेलको तेस्रो क्वाटरमा सुनिताले आर्मीको लागि एक गोल गर्न सफल भएकी थिइन् । ४० मिनेटमा सुनिताले गोल गर्दै आर्मीको लागि अंक बढाएकी छिन् ।
यस्तै अन्तिम क्वाटरमा आर्मीले दुई गोल गर्दै ८–० को गोल अन्तरले विजय भयो । ४८ मिनेटमा सरस्वती तामाङ र ५४ मिनेटमा कमला चन्दले एक–एक गोल गरेका थिए । अब दोस्रो खेल सुदुरपश्चिम र मधेस प्रदेशबीच हुँदै छ ।

गल्फमा बागमतीलाई तीन स्वर्ण
नवौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत गल्फको उपाधि नेपाल आर्मीका सुवास तामाङले जितेका छन् । पोखरा–१४ स्थित हिमालयन गल्फ कोर्षमा निबार भएको प्रतिस्पर्धामा सुवासले सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पार्दै स्वर्ण जितेका हुन् । प्रदेश नं १ का युवराज भुजेलले कास्य पदक जिते ।
समूह चरणको खेलमा भने बागमती विजयी बन्न पुग्यो । समूह अन्तगर्त पुरुष र महिला दुवै इभेन्टमा बागमतीले स्वर्ण जित्यो । यस्ते एकलतर्फ महिलाको स्वर्ण पनि बागमतीले नै जित्दै कुल ४ मध्ये तीन स्वर्ण बागमतीले जितेको हो ।
पुरुषतर्फको टिममा बागमतीले स्वर्ण जित्दा प्रदेश १ ले रजत र नेपाल आर्मीले कास्य पदक जितेको छ । महिला तर्फको प्रतिस्पर्धामा बागमतीकी कष्मिरा शाहले स्वर्ण, बागमतीकै तारा कार्कीले रजत र प्रदेश नं १ की सुष्मा सिग्देलले कास्य पदक जितिन । महिला टिम इभेण्टमा बागमतीले स्वर्ण जित्दा प्रदेश १ ले रजत र गण्डकीले कास्य पदक जितेको छ ।
समूह चरणको प्रतियोगिता अन्तर्गत महिला/पुरुष स्वर्ण विजेता टिमका खेलाडीले स्वर्ण सहित जनही १५ हजार रुपैयाँ पाएका छन । व्यक्तिगत तर्फका विजेताले स्वर्णसहित २५ हजार रुपैयाँ नगद पुरस्कार राष्ट्रिय खेलकुद परिषदबाट पाएका छन ।

प्रदेश १ द्वारा घरेलु टोली गण्डकी २–१ गोल अन्तरले पराजित
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल प्रतियोगिताको दास्रो खेलमा प्रदेश नम्बर १ बिजयी भएको छ । स्याङ्जाको वालिङमा भएको खेलमा प्रदेश नम्बर १ ले घरेलु टोली गण्डकी प्रदेशलाई २–१ गोल अन्तरले पराजित गर्र्दै जित हात पारेकोे हो ।
शनिबारको खेलमा अन्जना थुलुङ राईले ३६ आँै मिनेटमा गोल गर्दै प्रदेश नम्बर १ लाई अग्रता दिलाईन् । दोस्रो हाफको ६३ औँ मिनेटमा प्रदेश १ की नै अनिता गुरुङले थप १ गोल गर्दै प्रदेश नम्बर १ लाई जित नजिक पुर्‍याईन् । खेलको उत्तरार्धको ८१ औँ मिनेटमा गण्डकी प्रदेशकी शान्ति नेपालीले घरेलु टोली गण्डकी प्रदेशको तर्फबाट सान्त्वना गोल गरिन् ।

गण्डकी प्रदेशले पुरुष ह्याण्डबल तर्फ पहिलो स्वर्ण पदक जित्यो
आठौं राष्ट्रिय खेलकुदको इतिहास दोर्‍हाउँदै गण्डकीले ह्याण्डबलमा स्वर्ण पदक जितेको हो । शनिबार भएको फाइनल खेलमा गण्डकीले विभागीय आर्मीमाथि ४३–३६ ले पराजित गर्दै गण्डकीले स्वर्ण पदक जित्यो ।
पुरुष ह्याण्डबलमा स्वर्ण जितेसँगै पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामानै गण्डकीले पहिलो स्वर्ण जितेको हो । फाइनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका पुरुषतर्फ गण्डकीका गोलरक्षक विशाल नेपाली र आर्मीकी देवु सापकोटालाई गण्डकी प्रदेशका निवर्तमान सदस्य सचिव तेज गुरुङ र भारतिय ओलम्पिक कमिटिका कोषाध्यक्ष आनन्देश्वर पाण्डेले जनही नगद १०/१० हजार नगद प्रदान गरेका थिए । विभागीय आर्मीले रजत पदक जितेको छ ।
विभागीय सशस्त्र एपीएफले कास्य पदक जितेको छ । एपीएफले शनिबार विहान तेस्रो स्थानका लागि भएको खेलमा लुम्बिनीलाई ३५–१३ ले हराउँदै कास्य पदक जितेको हो । २०४० सालमा पोखरामा सम्पन्न दोश्रो राष्ट्रिय खेलकुदमा समेत गण्डकीले स्वर्ण पदक हात पारेको थियो ।

ह्याण्डबलमा महिला तर्फ आर्मीलाई स्वर्ण
नवौं राष्ट्रिय महिला ह्याण्डबलमा विभागीय आर्मीले स्वर्ण पदक जितेको छ । आर्मीले अर्को विभागीय क्लब एपीएफलाई १७–१६ ले हराउँदै स्वर्ण पदक जितेको हो ।
उपविजेता एपीएफले रजत पदक जितेको छ । त्यसैगरि, गण्डकी प्रदेशले कास्य पदक जितेको छ । शनिबार विहान तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीले प्रदेश–१ लाई २२–७ ले हराउँदै कास्य पदक जितेको हो ।

प्रतिक्रिया दिनुहोस्