धनकुटामा समेत बढ्दै चुनावी सरगर्मी

राणा शासनकालदेखि गणतन्त्रको केही समयसम्म पूर्वको प्रशासनिक केन्द्र रहेको धनकुटामा समेत मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको सरगर्मी बढेको छ । मनोनयन दर्ता र चुनाव चिन्ह प्राप्त गरे सँगै दल तथा स्वतन्त्र उम्मेदवारहरू कार्यकर्ता भेटघाट, भ्रातृ तथा शुभेक्षुक संगठनहरूको भेला गराउन तथा गाउँघर पुग्न थालेका छन् । धनकुटामा प्रतिनिधिसभाका लागि गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापा, नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्रकुमार राई, त्यस्तै माओवादी केन्द्रबाट राजीनामा दिई नेता हेमराज भण्डारीले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।
कुनै समय राप्रपाको समेत राम्रो जनाधार भएको धनकुटाबाट राप्रपाका नेता कुमारबहादुर थापाको समेत उम्मेदवारी परेको छ । त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आराम कुमार लिम्बु, मंगोल नेसनल अर्गनाइजेसनका विश्वमित्र लावती र एकीकृत शक्ति नेपाल पार्टीका रमेश राई चुनावी मैदानमा छन् । यीमध्ये नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापा, नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्रकुमार राई, त्यस्तै माओवादी केन्द्रबाट राजीनामा दिई स्वतन्त्र उम्मेदवारी दिएका नेता हेमराज भण्डारीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
पछिल्लो समय धनकुटाबाट निर्वाचित भएर गएका जनप्रतिनिधिले विकासका योजना ल्याउन नसकेको, जिल्लाका व्यापारिक तथा प्रशासनिक केन्द्रहरू सुक्दै गएको जिल्लामा विकासका काम ठप्प भएकाले समग्र त्यसको विकासका लागि आफूले उम्मेदवारी दिएको गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापा बताउँछन् । त्यस्तै नेकपा एमालेबाट उम्मेदवार रहेका राजेन्द्रकुमार राई आफूले अघिल्लो कार्यकालमा सुरु गरेका योजना सम्पन्न गर्नका लागि समेत आफूलाई धनकुटेली जनताले जिताउनु पर्ने भन्दै मत मागिरहेका छन् ।
संविधानसभामा रहँदासमेत आफूले धनकुटाको विकासका लागि ठूला ठूला योजना ल्याउन सफल भएकाले धनकुटेली जनताले आफूलाई विजयी गराउनु पर्ने भन्दै स्वतन्त्रबाट उम्मेदवारी दिएका नेता हेमराज भण्डारी मत माग्न व्यास्त छन् । अन्य उम्मेदवारहरूले पनि आफ्ना–आफ्ना एजेन्डा लिएर मतदाता कहाँ पुग्न थालेका छन् ।