काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवारी गुरुङलाई जिताउन निश्चल बस्नेतदेखि युवा व्यवसायी राणाको अपिल
काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका युवा अभियन्ता श्री गुरुङले आफ्नो चुनावी एजेन्डा सार्वजनिक गरेका छन् । गुरुङ पर्यटन नै समृद्धिको आधार, देशमा विकास र युवालाई रोजगार भन्ने मुख्य नाराका साथ चुनावी मैदानमा छन् । उनले परनिर्भरतामा रहेको देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए ।
मुलुक राजनीतिक रूपमा क्यान्सरले ग्रसित बनेको उनको आरोप छ । आर्थिक क्रान्ति गर्ने र देशलाई आर्थिक रुप्मा आत्मनिर्भर बनाउने पनि उनले आफ्नो योजना सुनाए । अरू देशले पर्यटन व्यापार गरेर देश सम्पन्न बनाएको उल्लेख गदै नेपाललाई किन पर्यटनमा सवल नबनाउने भनेर प्रश्न गरे । उनले आफूहरूले देशको पर्यटन उत्पादनलाई विश्व बजारमा बेच्न सक्ने पनि सुनाए ।
दक्षिण एसियामा नेपालमा नै सबैभन्दा पहिले बार, रेष्टुराँको कल्चर सुरु भएको सुनाए । उनले नेपालको गाँजालाई विश्व बजारमा लैजानुपर्नेमा जोड दिए । उनले आफूहरूले संसद्मा यसको आवाज उठाउनेपनि बताए । उनले आफूहरूलाई राजनीति गर्न नआउने भएपनि काम गर्न भने आउने बताए । उनले आफूहरूसँग मुख्य कुरा भनेको काम गर्ने उर्जा हुनुलाई बताए ।
सो क्रममा कलाकार निश्चल बस्नेतलेआफूले राजनीतिमा चासो राख्ने गरेको तर राजनीतिबारे केही पनि नबुझेको सुनाए । उनले श्रीको जितका लागि अग्रिम शुभकामना दिए । उनले श्रीमा केही गर्ने सम्भावना देखेकोले आफूले समर्थन गरेको सुनाए।
उनले भने, श्री दाइले नचाहिँदो काम चाहीँ गर्नुहुन्न । जुन दिन उहाँले नराम्रो काम गर्नुहुन्छ, त्यो दिन म उहाँलाई गाली गर्छु । उनले राजनीतिमा धेरै सपना देखाएको सुनाए तर कसैले पनि केही नगरेको गुनासो पोखे ।
अहिलेपनि केही दलका नेताहरूले जन्मनेबित्तिकै पाउने सुविधा पुर्याउछु भनेर भन्ने गरेको भन्दै आक्रोश पोखे । उनले घरघरमा पानी पुर्याउने, बिजुली पुर्याउँछु भन्ने कुरा प्रत्येक नागरिकको आधारभूत अधिकार भएको बताए ।
उनले आगामी मंसिर ४ गतेको निर्वाचनमा दलीय वा स्वतन्त्र रुपमा पनि केही गर्छु भनेर नयाँ सोचका साथ चुनावी मैदानमा आएकाहरूलाई सघाउनुपर्ने बताए ।
यस्तै, युवा उद्यमी कोलिन विक्रम राणाले पनि श्रीको जितको लागि अग्रिम शुभकामना दिए । उनले श्री गुरुङ नेपाली हिपहप संगीतमा ठूलो योगदान दिएको स्मरण गराए । श्रीको उम्मेदवारीले राजनीतिमा लाग्ने युवाहरूको लागि सकारात्मक ऊर्जा प्राप्त भएको बताए । उनले श्री गुरु सदनमा पुग्दा धेरै नै सकारात्मक परिवर्तन हुने विश्वास दिलाए ।