१ सय ३२ देश समावेश भएको यो सूचकांकमा नेपालको सापेक्षिक स्थान १ सय ११ औंमा रहेको छ र सन् २०२१ को तुलनामा नेपाल ६ स्थान तल ओर्लेको छ ।
विश्व नवप्रवर्तन सूचकांकमा नेपाल

संयुक्त राष्ट्र संघको विशिष्टीकृत संस्थाका रूपमा रहेको विश्व बौद्धिक सम्पदा संगठन (विपो) ले सन् २००७ देखि प्रकाशन गर्दै आएको विश्व नवप्रवर्तन सूचकांक–२०२२ गत महिनाको अन्त्यतिर प्रकाशित गरेको छ । यो वर्ष संगठनको यो सोह्रौं प्रकाशन हो । १ सय ३२ वटा देश समावेश भएको यो सूचकांकमा नेपालको सापेक्षिक स्थान १ सय ११ औंमा रहेको छ र सन् २०२१ को तुलनामा नेपाल ६ स्थान तल ओर्लेको छ । यो सूचकांकमा सबैभन्दा बढी अंक प्राप्त गरेर स्विट्जरल्यान्ड पहिलो स्थानमा रहेको छ भने अमेरिका, स्वीडेन, बेलायत र नेदरल्यान्ड क्रमश: दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा रहन सफल भएका छन् । स्विट्जरल्यान्ड लगातार दोस्रो वर्ष पनि पहिलो स्थानमा रहन सफल भएको छ । भारत गत वर्ष ४६ औं स्थानमा रहेकोमा यो वर्ष ६ स्थान माथि उक्ली पहिलो ४० स्थानमा आफ्नो स्थान बनाउन सफल भएको छ र आफूलाई चीन र टर्कीजस्ता देशहरूको पंक्तिमा समावेश गर्न सफल भएको छ । भारतले भियतनामलाई उछिनेको छ भने इरान र उज्वेकिस्तानले भारतलाई पछ्याइरहेको पाइन्छ । अफ्रिकाका यमन, नाइजर र अंगोलाजस्ता देशहरू अझै पनि पुछारमा रहेको पाइन्छ ।
यो सूचकांकमा सातवटा आधारस्तम्भ राखिएका छन् । बजार संस्करण, व्यवसाय संस्करण, सिर्जनशील उत्पादन, आधारशिलाहरू, ज्ञान र प्राविधिक उत्पादन तथा मानव संसाधन र साधनहरू रहेका छन् । यीमध्ये पाँचवटा सूचकहरूलाई निवेश सूचक र दुईवटा सूचकलाई उत्पादन सूचकांकको नाम लिइएको छ । यी आधारस्तम्भहरूमा उपस्तम्भहरू पनि राखिएका छन् । सबै आधारस्तम्भअन्तर्गत तीन–तीनवटा उपस्तम्भ राखिएका छन् र यी उपस्तम्भअन्तर्गत विभिन्न कार्यहरू राखिएका छन् । यसमा सहभागी देशहरूले यी कार्यहरूमा सम्पन्न गरेका विवरणहरू विपोलाई उपलब्ध गराउनुपर्ने हुन्छ र यस्ता कार्यहरूको संख्या ८० रहेको छ । संस्था नामक सूचकअन्तर्गत सञ्चालन र राजनीतिक स्थायित्व तथा नियामक परिवेश र व्यवसायिक वातावरण मुख्य छन् । मानव संसाधन र शिक्षामा अनुसन्धानअन्तर्गत माध्यमिक शिक्षाको स्थिति, उच्च शिक्षाको अवस्था र अनुसन्धान तथा विकासका अवस्थाहरू रहेका छन् । यो आधारअन्तर्गत राज्यले शिक्षामा गरेको खर्च शिक्षक र विद्यार्थीको अनुपात र राज्यले अनुसन्धान र विकासमा गरेका खर्चहरूको लेखाजोखा गर्ने गरिएको छ । आधारशिलाअन्तर्गत सूचना तथा प्रविधिमा पहुँच, यसको प्रयोग, सरकारले ई–मार्फत उपलब्ध गाराएका सेवाहरू र ई–सहभागिता एकातिर राखिएको छ भने अर्कातिर विद्युत्, लजिस्टिक, वातावरणीय दिगोपना र आईएसओ १४००० प्रमाणीकरणजस्ता कार्यहरू राखिएका छन् । यसैगरी बजार सुसंस्करणमा ऋणका सुविधाहरू लगानी र व्यापार विविधीकरण तथा बजारका स्तरहरू राखिएका छन् । व्यावसायिक सुसंस्करणमा योग्य कामदारहरू नवप्रवर्तनका अनुबन्धहरू ज्ञान अवशोचक पर्छ र यसैमा आइसिटी सेवा कत्तिको आयात र निर्यात गर्छ भन्ने कुरा पनि पर्छ । साथै, प्रत्यक्ष वैदेशिक लगानीको मात्रा र अनुसन्धान ट्यालेन्टजस्ता कुराहरू पनि पर्छ । ज्ञान र प्राविधिक उत्पादनमा ज्ञानको सिर्जना, ज्ञानको प्रभाव र ज्ञानको डिफ्युजन कत्तिको भएको छ भन्ने कुरा हेरिन्छ । अन्तिम सिर्जनशील उत्पादनमा देशले सिर्जना गरेका अमूर्त सम्पत्तिहरू, सिर्जनशील वस्तु तथा सेवाहरूको उत्पादन र अनलाइन सिर्जनशीलहरू पर्छन् ।
यो प्रतिवेदनमा कुन–कुन देशले उत्पादन सूचक र निवेश सूचकमा राम्रो प्रगति गर्यो भन्ने कुरा पनि उल्लेख गरेको पाइन्छ । यसका सातवटा आधारस्तम्भमा बजार सुसंस्करण र व्यवसाय सुसंस्करणबाहेक अरू पाँचवटा सूचकमा नेपालको स्थान १ सय ३२ वटा देशमा १ सयभन्दा माथि नै रहेको पाइन्छ । बजार सुसंस्करणमा नेपाल १ सय ३२ वटा देशमा ५९ औं स्थानमा र व्यवसाय सुसंस्करणमा नेपाल ९१ औं स्थानमा रहेको देखिन्छ । नेपाल कम मध्यम आय भएका ३६ देशमध्ये नेपालको स्थान २६ औंमा रहेको छ भने मध्य तथा दक्षिण एसियाका १० वटा देशहरूमा नेपालको स्थान सबैभन्दा तल रहेको पाइन्छ ।
यो प्रतिवेदनले देशहरूको सबल र दुर्बल पक्षहरूको पनि विश्लेषण गरेको पाइन्छ । नेपालको १० वटा सबल पक्षहरूमा शिक्षा क्षेत्रमा भएको सरकारी खर्च, कुल गार्हस्थ्य पुँजी निर्माण, निजी क्षेत्रका लागि प्रवाह भएको कर्जा, व्यावसायिक फर्महरूले आफ्ना कामदारहरूलाई दिने तालिम, आयातमा हाई टेक वस्तुको मात्रा, वैज्ञानिक र प्राविधिक विषयमा लेखिएका लेखहरूको प्रकाशन, आइसिटी वस्तुहरूको निर्यात, व्यापारिक मर्काको उत्पत्ति र मोबाइल एपको सिर्जना परेका छन् भने नेपालको कमजोर पक्षहरूमा सरकारको प्रभावकारितामा कमी, माध्यमिक शिक्षामा शिक्षक र विद्यार्थीको अनुपात बढी, उच्च शिक्षा हासिल गरेका मानिहरूको चलायमानता, अनुसन्धान र विकासमा गरिएको खर्च, गुणस्तर विश्वविद्यालयमा सूचीकृत भएका विश्व विद्यालयहरू, औसत भन्सार दरहरू, आइसिटी सेवाको आयात, सफ्टवेयरमा गरेको लगानी, हाई टेक वस्तुहरूको निर्यात र ग्लोबल ब्रान्ड मूल्यजस्ता क्षेत्रहरूमा नेपाल पछाडि परेको देखाइएको छ । नेपालले नवप्रवर्तन निवेशलाई नवप्रवर्तन उत्पादनमा परिणत गर्ने र नवप्रवर्तन र विकासको सम्बन्धमा विपोले तयार गरेका औसत रेखाभन्दा नेपालको कार्य सम्पादन मुनितिर रहेको देखाइएको छ । यो सूचकांकमा सार्क देशहरूमा भुटान र माल्दिभ्स समावेश भएको देखिँदैन ।

विपोले विकसित, एसिया अफ्रिकाका देशहरूलाई विभिन्न भागमा विभाजन गरेको छ । नेपाललाई कम र मध्यम आय भएका ३६ देशहरूको एक समूह र मध्य र दक्षिण एसियाका १० देशहरूको समूहमा कायम गरेको छ । कम र मध्यम आय भएका देशहरूको सूचीमा नेपाल २६ औं स्थानमा रहेको पाइन्छ भने मध्य र दक्षिण एसियाका १० देशमा नेपाल पुछारमा रहेको पाइन्छ । यसको अर्थ नेपालले नवप्रवर्तनको क्षेत्रमा विकसित देशहरूको तुलनामा मात्र होइन कि आफ्ना छिमेकी देशहरूको तुलनामा पनि धेरै कार्य गर्न बाँकी रहेकोे देखाउँछ । अर्को पक्ष भनेको नेपालको सन्दर्भमा २१ वटा सूचकहरूको विवरण प्राप्त नभएको र १५ वटा सूचकहरूको विवरण पुरानो रहेका तथ्य पनि प्रतिवेदनले औंल्याएको पाइन्छ ।
आजभोलि विभिन्न विश्वविद्यालय, थिंक ट्यांक तथा संयुक्त राष्ट्रसंघका निकायहरूबाट विभिन्न विषयमा गरिने देशहरूको स्तरीयकरणले एकातिर देशका नीति निर्माताहरूलाई आफ्नो कार्यशैली परिवर्तन गर्ने र नयाँ–नयाँ विषयहरूको नीति बनाउन योगदान गर्छ भने अर्कातिर विदेशी लगानीकर्ताहरू खास गरेर बहुराष्ट्रिय कम्पनीहरूलाई कुन देशमा लगानी गर्ने भन्ने विषयमा पनि सही दिशा निर्देश गरिरहेको हुन्छ । जुन देशले आर्थिक सुधारसहितको आर्थिक वृद्धि हासिल गरेको हुन्छ त्यस्ता देशहरूको यस्तो स्तरीयकरणमा आफ्नो स्थान माथि उक्लिरहेको प्रत्यक्ष रूपमा देख्न सकिन्छ । यसको ज्वलन्त उदाहरणका रूपमा भारतले विश्व बैंकको डुइड बिजनेस सूचकांक र यो नवप्रवर्तन सूचकांकमा प्राप्त गरेको सफलतालाई लिन सकिन्छ । यसका लागि हामीले पनि बहुक्षेत्रीय समन्वयात्मक ढंगले राजनीतिक स्थिरतासहित अगाडि नबढीकन यस्ता सूचकांकको आधारमा देशको मानप्रतिष्ठा अगाडि बढाउन सक्दैन ।