आयात प्रतिबन्धले जोगिएन विदेशी मुद्रा सञ्चिति «

आयात प्रतिबन्धले जोगिएन विदेशी मुद्रा सञ्चिति

सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै वैशाखदेखि विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएकोमा पछिल्लो समय ६ वस्तुमाथिको आयात प्रतिबन्ध फुकुवा गरे पनि कार–जिप–भ्यान, ३ सय डलरभन्दा बढी मूल्यका मोबाइल, १ सय ५० सीसीभन्दा बढीका मोटरसाइकल र तयारी मदिराको आयातमा लगाइएको प्रतिबन्ध शुक्रबारसम्म कायम छ । सरकारले तेस्रो पटक म्याद थप गरेर आयात प्रतिबन्ध कायम राखेको विदेशी मदिरा, स्मार्टफोेन, महँगा चारपांग्रे्रे सवारी साधन र मोटरसाइकल आयातको प्रतिबन्ध समयसीमा शुक्रबार सकिँदै छ । तर, व्यवसायीका विभिन्न संघसंस्थाले सरकारले लगाएको आयात प्रतिबन्धले विदेशी मुद्रा सञ्चितिमा परेको चाप नघटेको भन्दै हटाउन माग गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थमन्त्रालय तथा नेपाल राष्ट्र बैंकमा पनि यसबारे गम्भीर विमर्श नभएको गुनासो गर्दै व्यवसायीले अब प्रतिबन्ध थप नलम्ब्याउन माग गरेका हुन् । सरकारले १४ भदौमा पाँच महिना लामो प्रतिबन्धपछि ६ प्रकारका वस्तुको प्रतिबन्ध हटाएर मदिरा, स्मार्टफोेन, महँगा चारपांग्रे सवारी साधन र मोटरसाइकलको प्रतिबन्ध २८ असोजसम्म लम्ब्याएको थियो । विदेशी मुद्रा सञ्चितिमा दबाब परेको भन्दै गत वैशाखमा विलासी वस्तुमा असार मसान्तसम्म आयातमा पूर्ण प्रतिबन्ध लगाएको सरकारले त्यसलाई थप कसिलो बनाउँदै ३० असारमा प्रतिबन्ध १४ भदौसम्म थप गरिएको थियो । त्यसपछि पनि थपेको समयसीमा शुक्रबार सकिन लागेको हो । तर, नेपाल राष्ट्र बैंक तत्काल आयात प्रतिबन्ध र आयातमा नगद मार्जिन फुकुवा नगर्ने सोचमा छ । किनकि पछिल्लो समय हरेक दिनजसो अमेरिकी डलर महँगिदै गएको कारण पनि विदेशी मुद्रा सञ्चितिमा दबाब कायमै रहेको छ । केन्द्रीय बैंकको तथ्यांकका अनुसार असारमा भन्दा साउनमा विदेशी मुद्रा सञ्चिति घटेको छ । यस्तै, भन्सार विभागको तथ्यांकअनुसार पनि आर्थिक वर्ष २०७९/०८० को साउन र भदौमा अघिल्लो वर्षको सोही अवधिमा भन्दा वस्तु आयात १३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको साउन र भदौमा ३ खर्ब १४ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएकोमा चालू आर्थिक वर्षको दुई महिनामा २ खर्ब ७३ अर्ब रुपैयाँबराबरको मात्रै वस्तु आयात भएको छ । वस्तु आयातले केही राहत दिए तापनि डलर हरेक दिन महँगिएका कारण तथा रेमिट्यान्सको आय पनि उल्लेख्य सुधार नभएका कारण विदेशी मुद्रा सञ्चितिमा चाप नघटेको हो । निर्यातमा त नेपालले कहिल्यै पनि सुधार गर्न सकेको छैन । यसरी आयात प्रतिबन्ध कायमै राख्दा पनि विदेशी मुद्रा सञ्चितिमाथिको दबाब नघटेका कारण प्रतिबन्ध फुकुवा गर्ने निर्णय लिन राष्ट्र बैंक अनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा अर्थ मन्त्रालयलाई सकस भएको देखिन्छ । राष्ट्र बैंकका अनुसार हाल विदेशी मुद्रा सञ्चिति ११ खर्ब ९७ अर्ब ८५ करोड कायम छ । यसले ९.४ महिनाको वस्तु आयात र ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ । भदौमा दसैंका कारण रेमिट्यान्स आयमा सुधार भएको अनुमानका बीच राष्ट्र बैंक पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा अर्थमन्त्रालयको निर्णयको प्रतीक्षामा देखिन्छ ।
तर, गाडी व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललगायत नेपाल समुद्रपार निकासी पैठारी संघलगायत निजी क्षेत्रका विभिन्न संघसंस्था भने सरकारलाई प्रतिबन्ध नलम्ब्याउन माग गर्दै छन् । बढी राजस्व प्राप्त वस्तुको आयातमै प्रतिबन्ध लाग्दा एकातर्फ सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको अनि अर्कातर्फ ती वस्तुको कारोबारका लागि अर्बौं रुपैयाँ लगानी गरेर पूर्वाधार तयार गरेका व्यवसायीले ठूलो नोक्सानी बेहोर्नुपरेको उनीहरूको भनाइ छ । यसका साथै, आयातमा प्रतिबन्ध लगाइएका सवारी साधन र मोटरसाइकलबाहेकका वस्तु अवैध बाटोबाट तस्करी भइरहेको पनि उनीहरूको दाबी छ । त्यसैले व्यवसाय सञ्चालन निकै कठिन भएको तथा आर्थिक क्रियाकलापमा गिरावट आएका कारण व्यापारी, सर्वसाधारण र सरकारी राजस्व सबैमा नकारात्मक असर परेको उनीहरूको तर्क छ । आयात प्रतिबन्धले नेपालको राजस्व आयमा करिब आधा योगदान गर्ने भन्सारको आम्दानी पनि घटेको छ । हुन त चुनावका कारण चालू आर्थिक वर्षमा सरकारको योजनाअनुसारको बजेट खर्च हुँदैन, तर पनि सरकारको आय घट्दा कर्मचारीको तलब खान भने पुग्ने तर विकास निर्माणका कार्य भने लक्ष्य अनुरूप अगाडि नबढ्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्