ह्याण्डबल: गण्डकीका दुवै टोली सेमिफाइनलमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ह्याण्डबल तर्फको प्रतिस्पर्धामा बिहीबार गण्डकी प्रदेशका महिला तथा पुरुष दुवै टोली अन्तिम चारमा प्रवेश गरेका छन् ।
बिहीबार बिहान नेपाली सेनाको त्रिभूवन आर्मी क्लब र गण्डकी बीचको प्रतिस्पर्धा बराबरीमा सकिए पनि गोल अन्तरका अधारमा गण्डकी र आर्मी अन्तिम चारमा प्रवेश गरेका हुन् । पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतिस्पर्धामा २७–२७ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए । लिगको अन्तिम खेल खेलका दुवै टोलीले यसअघि समान ३/३ खेलमा जित दर्ता गरेका थिए ।
गोलको आधारमा गण्डकी प्रदेश समूहको विजेता बन्दै सेमिफाइनल प्रवेश गर्दा आर्मी उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । यसअघि पुरुष तर्फको खेलमा एपिएफले सुदूरपश्चिमलाई २७–६ पराजित गरेको थियो । सेमिफाइनलमा अब गण्डकीले लुम्बिनी प्रदेशसँग भिड्नेछ भने अर्को सेमिफाइनल खेल दुई विभागीय टोली सशस्त्र प्रहरी र आर्मीबीच हुनेछ ।
महिला तर्फको प्रतिष्पर्धामा गण्डकीले लुम्बिनीलाई ३५–९ र प्रदेश १ ले मधेस प्रदेशलाई १९–४ सेमिफाइनल प्रवेश गरेका छन् । यसअघि एपीएफ र आर्मीले अन्तिम चारमा स्थान बनाएका थिए । फाइनल प्रवेशको लागि एपीएफले प्रदेश १ सँग खेल्दा गण्डकीले भने आर्मीको सामना गर्नेछ ।