Logo

११ अर्बको धागो निर्यात दुई मुलुकमा मात्रै सीमित

नेपालले गत आर्थिक वर्षमा ११ अर्ब २ करोड ९२ लाख २ हजार रुपैयाँ मूल्य बराबरको धागो निर्यात गरेको छ ।
समग्र देशको निर्यात व्यापारमा कम मूल्य अभिवृद्धि हुने वनस्पति घिउ तेल जन्य वस्तुको चर्चा रहेको बेला धागोको निर्यात उत्साहजनक देखिए पनि यसको व्यापारिक प्रवृत्ति हेर्दा उत्तिकै जोखिमपूर्ण रहेको सम्वद्ध सरोकारावालाहरु बताउँछन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार गत आर्थिक वर्षमा नेपालबाट छिमेकी मुलुक भारत र युरोपेली मुलुक टर्कीमा मात्र धागो निर्यात भएको छ ।
मुलुकमा हाल रिलायन्स, त्रिवेणी, जगदम्बा र जया स्पिनिङ मिल्स गरी चारवटा धागो उद्योग सञ्चालनमा छन् । यी उद्योगबाट कपडा उत्पादनमा प्रयोग हुने पोलिष्टर, कटनलगायतका धागो उत्पादन हुन्छन् । यी मिल्सहरुले स्वदेशी कपडा उद्योगका लागि आवश्यक धागो उपलब्ध गराउने गरे पनि कपडा उद्योग पूर्ण सञ्चालनमा नहुँदा स्वदेशमा खपत न्यून छ । नेपाली कपडा उद्योगहरु आवश्यक सहयोग सरकारबाट नपाएको भन्दै सम्भावना भए पनि आयातीत सामानले माग पूरा गर्ने गरेको बताउँदै आएका छन् ।
कूल धागो निकासीमध्ये टर्कीमा ६५ प्रतिशत र भारतमा ३५ प्रतिशत रहेको केन्द्रको तथ्यांकमा उल्लेख छ । निकासी व्यापार सीमित मुलुकमा मात्र केन्द्रित हुनु र अन्य मुलुकमा बजार विस्तार गर्न नसक्नुलाई व्यवसायीहरुले चुनौतीका रुपमा लिएका छन् । ती मुलुकमा कुनै समस्या आए अथवा करको दरमा हेरफेर भए नेपाली धागो उद्योगले ठूलो समस्या झेल्नुपर्ने देखिएको उनीहरुको भनाइ छ । धागो उत्पादक संघका अध्यक्ष पवनकुमार गोल्याण पनि यसलाई स्वीकार्छन् ।
“हामीले वैकल्पिक बजारका रुपमा छिमेकी मुलुक बंगलादेशमा निर्यातको प्रयास गरिरहेका छौं,” अध्यक्ष गोल्याण भन्छन्, “यसमा हाम्रो कुटनीतिक क्षमता कमजोर भएर हो वा हामीले पर्याप्त गृहकार्य गर्न नसकेर हो अहिलेसम्म सफल हुन सकेका छैनौं ।” विश्व बजारमा बंगलादेशी टेक्सटाइल उद्योगको हिस्सा उल्लेख्य रहेका कारण त्यस क्षेत्रमा नेपाली धागोको बजार सम्भावना पनि धेरै रहेको उनको भनाइ छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार टर्की र भारतमा मात्र सीमित भए पनि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा धागो निकासी २९.३१ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ८ अर्ब ५२ करोड ९२ लाख २१ हजार रुपैयाँ बराबरको धागो निकासी भएको थियो । कूल निकासीमा धागोको हिस्सा ५.५१ प्रतिशत रहेको छ । सोयाबिन आयल र पाम आयलपछि धागो तेस्रो नम्बरमा रहेको र उच्च मूल्य अभिवृद्धि हुने वस्तुहरुमध्ये पहिलो स्थानमा रहेको उल्लेख छ । यसअघि नेपाली धागोको बजार स्पेन, इटाली, सिंगापुर, कतार, बंगलादेश लगायतका मुलुकमा पनि थियो । तर, अघिल्लो आवमा ति मुलुकमा निकासी हुन नसकेको तथ्यांकले देखाउँछ । धागोको बजार विस्तारका लागि व्यवसायीहरुले प्रयाश गरिरहेको र यसमा सरकारले कुटनीतिक पहल गर्नुपर्ने अध्यक्ष गोल्याण बताउँछन् ।
स्वदेशी कपडा उद्योग संकटमा रहेकाले स्वदेशमै खपत पनि न्यून छ । बजेटले उपलब्ध गराएका सुविधा प्राप्त गर्न नसकेको तथा चोरी पैठारी र न्यून बिजकीकरणका कपडाका कारण स्वदेशी कपडा उद्योग पूर्ण क्षमतामा सञ्चालन नै हुन नसकेको कपडा उद्योग संघका उपाध्यक्ष जीतेन्द्र लोहिया बताउँछन् । कपडा उद्योग सञ्चालनमा ल्याउन सके स्वदेशी कच्चा पदार्थ धागो स्थानीय उद्योगमै खपत हुने र तयारी कपडाका लागि वार्षिक अर्बौं रुपैयाँ बचत गर्न सकिने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्