राज्य आफैंले नयाँ जुत्ता उद्योग खोल्न नहुने व्यवसायीको तर्क

फुटवयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालका अध्यक्ष नानिराज घिमिरेले राज्य आफैंले नयाँ जुत्ता उद्योग खोल्न नहुने बताएका छन् ।
बिहीबार जुत्ता उत्पादक संघ नेपालले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष घिमिरेले राज्यले भएका साना तथा घरेलु उद्योगलाई संरक्षण र संवद्र्धन गर्नुपर्ने अवस्थामा आफैं नयाँ उद्योग खोल्न राम्रो नभएको बताए । उनले सरकारले आफैं नयाँ उद्योग खोले भएका निजी जुत्ताचप्पल उद्योगहरु बन्द गरेर बस्नुपर्ने बताए ।
घिमिरेले सरकारले भएका उद्योगलाई नीतिगत रुपमा संरक्षण गर्ने भएकाले कुनैपनि देशमा सरकार आफैंले उद्योग र व्यवसायमा लाग्ने गरेको नदेखिएको बताए । उनले वर्तमान अवस्थामा निजी नेपाली जुत्ता चप्पल उद्योगसँग वार्षिक १६ करोड जोर जुत्ता उत्पादन गर्ने क्षमता रहेको बताए । उनलेसरकारको नीतिगत व्यवस्था र अन्य कारणले नेपाली निजी जुत्ता उद्योग अहिले ३५ प्रतिशत भन्दा बढी सञ्चालन हुन नसकेको आरोप लगाए ।
घिमिरेले भएका उद्योग पूर्ण क्षमतामा चल्न नसकेको अवस्थामा राज्य आफैंले नयाँ उद्योग खोल्नु निजी उद्योगीहरुको लागि राम्रो नहुने बताए । उनले सरकार भएका उद्योगहरुको संरक्षण गर्नुपर्ने अवस्थामा आफैं उद्योग व्यवसायमा लागे जुत्ता उत्पादक संघ नेपालले बिरोध गर्ने बताए ।
संघले नेपाली जुत्ता उद्योग देशको मागलाई धान्नसक्ने उत्पादन क्षमताको विकास भएको बताएको छ । संघले नेपालको दक्षिण सीमानाबाट हुने चोरी,पैठारी र कम मूल्यका कारण नेपाली जुत्ता उद्योगी व्यवसायीहरुलाई मार परेको जानकारी दिएको छ । खुला सीमानामा हुने जुत्ताचप्पल चोरी, पैठारी नियन्त्रणमा सरकार सशक्त रुपमा लाग्न माग गरेको छ । चोरीपैठारी रोकी ३० अर्ब बढी स्वदेशी लगानीमा सञ्चालित १५ सय उद्योग बचाउन संघले सरकारसँग माग गरेको छ ।