पुस्तकमाथि लगाइएको १० प्रतिशत भन्सार महसुलमाथि प्रकाशक संघको आपत्ति «

पुस्तकमाथि लगाइएको १० प्रतिशत भन्सार महसुलमाथि प्रकाशक संघको आपत्ति

नेपाल सरकारले आव ०७६-०७७ को आर्थिक विधेयकमा विदेशबाट नेपालभित्र पैठारी (आयात) हुने सबै किसिमका पुस्तकहरूमा युनेस्को घोषणापत्र र अन्तर्राष्ट्रिय सन्धि बेर्न कन्भेन्सनको मान्यता एवं प्रचलनविपरीत १० प्रतिशत भन्सार महसुल लगाउने प्रावधान राखिएकोमा नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघले आपत्ति जनाएको छ ।
सरकारको राजस्वसम्बन्धी यस्तो नीतिले सम्पूर्ण पुस्तकहरूको बिक्री मूल्यमा वृद्धि भई पुस्तक व्यवसायमा नकारात्मक असर पर्ने निश्चित छ । साथै पुस्तक व्यवसायमा ठूलो धक्का लाग्नसक्ने परिस्थिति उत्पन्न भएको संघले जनाएको छ । पुस्तकमा १० प्रतिशत भन्सार महसुल लाग्ने प्रावधानले सरकारको ‘घरघरमा पुस्तक र टोलटोलमा पुस्तकालय’ भन्ने अभियानमा समेत आघात पुग्ने भन्दै संघले त्यतिमात्र नभएर सरकारको निर्णयबाट पुस्तकहरूको आयात ठप्प हुने, बजारमा पाठ्यपुस्तकदेखि सन्दर्भ पुस्तकहरूको समेत अभाव हुनजाने र कतिपयको रोजगारी नै गुम्ने स्थिति उत्पन्न हुने पनि जनाएको छ ।
सरकारबाट पुस्तकमाथि दश प्रतिशत भन्सार महसुल लगाउने प्रावधान नहटाउन्जेल विदेशबाट नेपालभित्र कुनै पनि किसिमका पुस्तकको पैठारी (आयात) नगर्न पनि सबै पुस्तक व्यवसायीलाई संघले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्