Logo

अनियमित विद्युतका कारण उद्योग बन्द

एक हप्तादेखि विद्युत अनियमित भएका कारण घोराही तथा तुलसीपुरका उपभोक्ताले सास्ती भोग्दै आएका छन् भने केही उद्योगीहरुले उद्योग बन्द गर्नुका साथै केहीले आफ्नो उत्पादन घटाउन थालेका छन् । त्यसैले छिटोभन्दा छिटो यस प्रकारको समस्या समाधान गर्न समेत उद्योगी तथा आम उपभोक्ताले माग गरेका छन् ।
जेनेरेटर प्रयोग गरेर उत्पादन गर्दा उत्पादन लागत वृद्धि हुने उनीहरुको भनाइ छ । डिजेलको मूल्य बढी भएकाले उत्पादन मूल्य बढी हुने उद्योगी तथा व्यवसायीहरु बताउँछन् । घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको बिस्कुट उद्योगले उद्योग नै बन्द गरेको छ । केही दिनदेखि उद्योग बन्द गरिएको उद्योगका सञ्चालक रमेश श्रेष्ठले जानकारी दिए । “लामो समयसम्म विद्युत नआउँदा अहिले उद्योग बन्द गरेका छौं,” उनले भने । विद्युत नियमित नहुँदासम्म बन्द नै रहने उनी बताउँछन् । विद्युत नियमित नहुँदा उद्योगलाई धेरै घाटा व्यहोर्नु परेको उनको गुनासो छ।
जेनेरेटरबाट उत्पादन गर्दा मूल्य वृद्धि हुने र बाहिरबाट आउने वस्तुसँग प्रतिस्पर्धा गर्न समेत समस्या हुने गरेको छ । विद्युतका कारण अहिले करिब ३० प्रतिशतसम्म उत्पादन घटेको नमकीन उद्योग सञ्चालक विकास वलीले जानकारी दिए । “विद्युत नियमित नहँुदा उत्पादन घटाउनु परेको छ,” उनले भने । माग बढी भएमा सामान दिन नसक्ने अवस्था आएको उनी बताउँछन् । यसले उद्योगीहरुलाई धेरै असर पुगेको उनको भनाइ छ । जेनेरेटरबाट काम गर्दा उत्पादन लागत बढ्ने भएकाले मूल्य बढ्ने उनले बताए । “जेनेरेटरबाट उत्पादन गर्दा वस्तुको करिब १० प्रतिशतसम्म लागत वृद्धि हुन्छ,” उनले भने । यसको प्रभाव उपभोक्तासम्म पुग्ने गरेको उनी बताउँछन् । विद्युत नहुँदा दिनभरी कामदारहरु खाली बस्नुपर्ने बाध्यता रहेको छ । कति बेला विद्युत आउला र काम सुरु गर्ने कामदार रहने गरेका छन् ।
लमही नगरपालिका वडा नं. ६ बेलदमारमा पहिरोले हाइटेन्सन टावर ढालेपछि दाङका करिब ४५ हजार उपभोक्ताले नियमित विद्युत सेवा पाउन सकेका छैनन् । घोराही वितरण केन्द्रका उपभोक्ताको मागलाई आधार मानेर तुलसीपुरबाट विद्युत घोराही जोडिएको छ तर विद्युतले लोड धान्न सकिरहेको छैन । एक पटक विद्युत गयो भने करिब दुई घण्टासम्म नआउने समस्या छ । पहिरोले हाइटेन्सन टावर ढलेपछि विद्युत अनियमित हुँदै आएको छ । असोज २१ गते टावर ढलेको थियो । त्यसपछि घोराही क्षेत्रमा विद्युत वितरण सहज छैन । नेपाल विद्युत प्राधिकरण बुटवल ग्रिड महाशाखा लमही सब–स्टेसनबाट घोराहीको झिङ्नीमा जोडिएको छ । टावर ढलेपछि लमही र झिङ्नीको कनेक्सन टुटेको हो, जसले गर्दा घोराही वितरण केन्द्रले कुसुमबाट हापुरे, हापुरेबाट तुलसीपुर हुँदै घोराही सप्लाइ गरिएको विद्युत वितरण गरेको छ । तुलसीपुरले फुल फेजमा विद्युत सप्लाइ गरेको भए पनि घोराहीले लोड धान्न सकिरहेको छैन । नेपाल विद्युत प्राधिकरण घोराही वितरण शाखाले छिट्टै सुधार हुने जनाएको छ । अहिले निर्माणको काम भइरहेको नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्र प्रमुख मिथिलेशकुमार गोहीवारले जानकारी दिए । प्राविधिक टोलीले काम भइरहेको उनको भनाइ रहेको छ । “अहिलेको भन्दा सुधार भएको पाउनु हुने छ,” उनले भने, “निर्माण सम्पन्न गर्न करिब १५/२० दिन लाग्ने जानकारी पाएका छौं ।” यो काम ग्रिडले गर्ने उनको भनाइ रहेको छ । ग्रिडले काम गरे पनि आफूहरुले बुझ्ने र समस्याको समाधान गर्ने आफूहरु लागिपरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्