Logo

अनुकूल मौसम नहँदा मनास्लुसहितका हिमालमा आरोहण हुन सकेन

६७ देशका ८२२ आरोहीले लिए आरोहण अनुमति

फाइल तस्बिर ।

यस वर्षको शरद ऋतु (अटम सिजन)का लागि आरोहण अनुमति लिने क्रम जारी छ । पर्यटन विभागका अनुसार अटम सिजनमा ३४ हिमाल आरोहणका लागि मंगलबारसम्ममा ८ सय २२ जनाले आरोहण अनुमति लिएका छन्, जसमा १०१ समूहका ६ सय ३१ जना पुरुष र १ सय ९१ जना महिला छन् ।
धौलागिरी दोश्रो (७७५१ मिटर)मा २ जना, धौलागिरी प्रथम (८१६७ मिटर)मा ३४ जना, हिम्लुङ हिमाल(७१२६ मिटर) मा१४४ जना, मनास्लु(८१६३ मिटर)मा ४ सय ४ जना, सगरमाथा(८८४८.८६ मिटर)मा ५ जना, सैवुङ (६३४६ मिटर)मा ९ जना, नुप्त्से (७८५५ मिटर)मा ५ जना आरोहीले आरोहण अनुमति लिएका छन् । यसबाट रोयल्टीबापत प्राप्त हुने रकम भने ७ करोड रुपैयाँ रहेको विभागले जनाएको छ ।
यो सिजनमा आधा रोयल्टी कम हुने भएकाले गर्दा पनि विदेशी आरोहीको आरोहणमा आकर्षण बढेर गएको पर्वतारोहण शाखाका निर्देशक युवराज अधिकारीले बताए । उनले भने, “यो सिजनको मनास्लु हिमालको आरोहण अनुमति लिनेको संख्या विगत वर्ष भन्दा बढी हुने थियो । तर खराब मौसमका कारण यो सिजनमा आरोहण भने हुन सकेन ।” मूलत: यो सिजनमा मनास्लु हिमालका साथै धौलागिरी हिमाल आरोहणको लागि विदेशी आरोहीको आकर्षण रहेको विभागले जनाएको छ ।
यसरी आरोहण अनुमति लिने सबै विदेशी नागरिक छन् । अमेरिकी नागरिक ६९ जना, अर्जेन्टिनाका १९, स्पेनका ५६, जर्मनीका ६४, चीनका १९, भारतका ३४ गरी कुल ६७ देशका ८ सय ७ नागरिक रहेको विभागले जनाएको छ । यो सिजनमा सगरमाथा आरोहणको लागि ५ हजार ५ सय अमेरिकी डलर रोयल्टी बुझाउनुपर्छ भने वसन्तयाममा भने सगरमाथा आरोहण अनुमति लिन विदेशी नागरिकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्ने व्यवस्था छ । नेपालीको हकमा प्रतिव्यक्ति ७५ हजार नेपाली रुपैयाँ रोयल्टी तिर्नु पर्ने छ । आरोहणका लागि १ देखि बढीमा १५ जनाको सम्म समूह बनाउन पाउने व्यवस्था रहेको विभागले जनाएको छ ।
वसन्तयामको सिजनमा भने विभिन्न ६ हजार मिटरदेखि माथिका ४७ हिमालको ११ सय २० जनाले आरोहण पूरा गरेका थिए । विभागका अनुसार १ सय ३३ महिला र ९ सय ८७ पुरुष गरेर कुल ११ सय २० जनाले विभिन्न ४७ हिमालको आरोहण पूरा गरेका छन् । गएको सिजनमा ४७ हिमालको आरोहणबाट ५३ करोड ३५ लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

मौसमका कारण आरोहणमा कठिनाइ
गत हप्ताबाट भारी वर्षा र प्रतिकूल मौसमका कारण मनास्लु, धौलागरी लगायतका हिमालमा आरोहण हुन सकेन । सो हिमालमा केही आरोहण भएको भए पनि अधिकांश आरोहण हुन नसकेको जनाइएको छ । अनुकूल मौसम कुरेर बसेका आरोही खराब मौसमका कारण फिर्ता भएको विभागले जनाएको छ । मनास्लुबाहेक अन्य हिमालमा भने शुक्रबारबाट मौसम सफा रहने जनाइएकाले आरोहण हुने विश्वास विभागको छ । खराब मौसमका कारण र यो सिजनमा लागि मनास्लु र धौलागिरीको आरोहण समय सकिएकोले भने सबै आरोही फिर्ता भएका छन् । अन्य हिमालको भने आरोहण हुने क्रममा रहेको विभागले जनाएको छ । यो सिजनमा दुई आरोही हराइरहेको र दुई जनाको मृत्यु भएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्