सञ्चार र प्रविधिले खस्कियो दसैंको उमंग

नेपालीहरूको यो वर्षको महान् चाड बडादसैं सम्पन्न भइसकेको छ । दसैं मनाउन सहरबाट गाउँ फर्केका यतिबेला सहर नै फर्किसकेका छन् भने विदेशबाट नेपाल आएका पनि क्रमश: कर्मथलो फर्किने क्रम बढ्दै छ । दसैं नेपालीहरूको महान् चाड भएरै हुनुपर्छ, परिवारका साथ मनाउने चलन छ । एकअर्कामा खुसी साटासाट गरी हर्षोल्लासका साथ मनाउने पर्व भए तापनि यो वर्ष दसैंको उमंग भने देखिएन । आफूभन्दा ठूला मान्यजनको हातबाट टीका, जमरा, प्रसाद, आशीर्वाद ग्रहण गरी मनाइने यो पर्व घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म मनाइने गरिन्छ । घटस्थापनाका दिन राखिएको जमरा दशमीको दिन दुर्गादेवीको प्रसादको रूपमा लगाउने यो पर्व असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैविक शक्तिले विजय पाएको दिनको रूपमा विजयादशमी मनाउने चलन हिन्दू धर्मालम्वीहरूमा रहेको छ ।
दसैंमा हुनुपर्ने उमंग बिस्तारै हराउँदै गइरहेको यो वर्षको दसैंले पुष्टि गरेको छ । त्यसमाथि यस वर्षको दसैंका दिनहरूमा परेको निरन्तर वर्षाका कारण गएको बाढीपहिरोका कारण कतै शोकमग्न भयो भने बाँकी स्थानहरूमा दसैंको चहलपहल खासै उत्साजनक देखिएन । एक त निरन्तर वर्षाको प्रभाव रह्यो, जसले गर्दा हिले दसैंको उपमासमेत बोक्यो । यदि वर्षात नभएको भए पनि युवापुस्तामा सञ्चार र प्रविधिले गर्दा एक्लै रमाउन खोज्दा परिवार, समाज अनि आफन्तसँग घुलमिल हुन नचाहँदा सञ्चारको उच्चतम प्रयोगले एक्लोपनमा रमाउनेको जमात बढ्दै गयो, जसले गर्दा संस्कृति बिस्तारै नाश हुनेतर्फ मोडिएको आभास गर्न गाह्रो पर्दैन । सहरको अवस्थालाई छोडेर गाउँको चर्चा गर्ने हो भने हातहातमा स्मार्ट मोबाइल अनि गाउँगाउँमा पुगेको इन्टरनेटको सुविधाले संसारलाई मुठ्ठीमा लिन पाउँदा मानिसलाई बाहिरी वातावरणमा रमाउनै नचाहने बनाइदिएको छ, जसको प्रत्यक्ष असर हाम्रो संस्कृतिमा पर्दै गइरहेको छ, जसका कारण यो वर्षको दसैं आममानिसले खल्लो महसुस गरेका छन् । युवापुस्ता प्रविधिमा मात्र रमाउन खोज्दा गाउँसहर कतै पहिलेको जस्तो दसैंको माहोल नै बन्न नसकेको आभास गर्न गाह्रो परेन । चौतारीमा भेला, जमघट हुनै छाड्यो, खर्कमा बाबियोले बाटेको लिंगे पिङ अनि रोटे पिङको फन्को नै मार्नै बिर्सियो । यसले भावी पुस्तालाई दसैं कस्तो हुन्थ्यो भन्ने विषय नै लोप हुने संकेततर्फ हाम्रो संस्कृति ढल्कँदै गइरहेको देखिन्छ ।
दसैं भन्नेबित्तिकै केटाकेटीमा मनाइएकै सम्झना नै बढी आउने गर्छ । बालापनमा नयाँ लुगा लगाएको अनि त्यही लुगा लगाएर मामाघर गएको, पिङ खेलेको मज्जा नै बेग्लै हुन्थ्यो । तर, त्यस्तो गुञ्जायस आजकालका दसैंमा देखिनै छोड्यो । उति बेला हर्षोल्लासका साथ मनाइने दसैंको रौनक बिस्तारै सञ्चार र प्रविधिको उच्चतम प्रयोगले कम हुँदै गइरहेको छ । पहिला–पहिला दसैं आउँदै छ भनेर सम्झिँदा मात्रै पनि रमाइलो लाग्ने गथ्र्यो । महिनौं दिन अगाडिदेखि रौनक छाइसक्थ्यो । अझ गाउँघरमा पिङ हाल्ने, घरमा कमेरो अनि रातमाटोले पोत्ने कार्यले दसंैलाई राम्रै स्वागत गरिरहेको हुन्थ्यो । तर, अहिले मोबाइलमा खेल्न पाइने विभिन्न अनलाइन गेमले ती परम्परा बिस्तारै नाश हुँदै जाने चिन्ता बढ्दै छ । चौतारीमा गएर साथीभाइसँग गफिनुको सट्टा सामाजिक सञ्जालमै रमाउन खोज्दा संस्कृतिमाथि विकृति फैलिँदै गइरहेको छ, जसको प्रतिकूल असर हाम्रा प्रमुख चाडहरूमा पर्दै गइरहेको छ ।
—