नेपालमा वित्तीय पहँुच र समावेशिता अभिवृद्धिका लागि प्रविधिले उपलब्ध गराएको डिजिटल बैंकिङ सेवाको उच्चतम प्रयोग आवश्यक छ ।
डिजिटल बैंकिङ साक्षरताको आवश्यकता

बैंकहरूले आफ्ना सेवाग्राहीलाई दिने सेवासुविधामा परिष्कृत गर्दै परम्परागत रूपमा चल्दै आएको कागजी र भौतिक शाखामा निर्भर बैंकिङलाई आधुनिक प्रविधिको प्रयोग गरी विभिन्न डिजिटल माध्यमबाट बैंकिङ सुविधा प्रदान गरिरहेका छन् । सरल, सहज र सुलभ मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायतका डिजिटल प्रविधिमा आधारित सेवाहरू नयाँ–नयाँ खोज, अनुसन्धान र अनुभवले अझै परिष्कृत हुँदै जानेछन् । डिजिटल बैंकिङ संस्थाको आन्तरिक अटोमेसन मात्र नभएर पेमेन्ट सिस्टमको स्तरोन्नति पनि हो । नेपालमा वित्तीय पहँुच र समावेशिता अभिवृद्धिका लागि प्रविधिले उपलब्ध गराएको डिजिटल बैंकिङ सेवाको उच्चतम प्रयोग आवश्यक छ ।
बैंक तथा वित्तीय संस्थाको संख्यामा भएको वृद्घिसँगै ती संस्थाहरूले प्रदान गर्ने सेवासुविधामा पनि प्रतिस्पर्धी वातावरणमा आफ्ना बैंकिङ सेवामा विस्तार गर्नुपर्ने आवश्यकता बैंकहरूमा थपिँदै गएको छ, जसको परिणामस्वरूप बैंकिङ प्रणालीमा पनि प्रविधिको आधुनिकतालाई पछ्याउँदै सेवामा विस्तार गर्ने क्रम तीव्र बढ्दै गएको छ । अब बैंकहरू सुरुका दशकहरूमा जस्तो पैसा जम्मा गर्न, निकाल्न, रकमान्तर गर्नका लागि घण्टांै लाइनमा बस्नुपर्ने बाध्यतालाई कमी गर्न एटिएम, क्यास डिपोजिट मेसिन, डेबिट कार्ड, क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, क्यूआर पेमेन्टजस्ता प्रविधिको आगमनले बैंकिङ प्रणालीमा सरलताका साथै सहजता ल्याएको छ ।
नेपालमा डिजिटल बैंकिङको इतिहास खासै लामो छैन । सन् २००२ मा कुमारी बैंकले ई–बैंकिङ सेवा, लक्ष्मी बैंकले सन् २००४ मा एसएमएस बैंकिङ सेवाको सुरुवात गरेसँगै डिजिटल बैंकिङको प्रयोग सुरु भएको हो । त्यसपछि क्रमश: बैंकहरूले सेवामा समयानुकूल परिष्कृत गर्दै हालको डिजिटल बैंकिङसम्म आइपुगेको छ । कोभिड–१९ ले उत्पन्न विश्वव्यापी महामारीले चुनौतीभित्र अवसरको खोजी गर्ने बाध्यात्मक परिस्थिति सिर्जना गर्यो । फलस्वरूप नेपालमा पनि डिजिटल बैंकिङले ठूलो फड्को मार्यो । जति समस्याहरू देखा पर्छन् त्यसपछि नै समाधानका उपायहरूको खोजीले अवसर पनि सिर्जना गरिरहेको हुन्छ । यो तथ्य कोभिड–१९ ले हामीलाई सिकाइ हाम्रो बानीमा समेत परिवर्तन ल्याएको छ । वर्क फ्रम होम, भर्चुअल मिटिङ, ई–लर्निङको हामीले परिकल्पना नै गर्न सकेका थिएनौं, जुन आज सम्भव भयो ।
हाल बैंकहरूको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आइपिएस, क्यूआर कोड स्क्यानजस्ता माध्यमबाट लाइनमा चेक बोकी रकम निकाल्ने, जम्मा गर्ने झन्झट नगरी सरल र सुरक्षित तरिकाबाट कारोबार गर्न सकिने भएको छ । बैंकले आफूले प्रवाह गर्ने सेवासुविधा तथा बैंकिङसम्बन्धी जिज्ञासाहरूको जवाफ दिन आफ्नो वेबसाइट, सामाजिक सञ्जालका माध्यमबाट चौबीसै घण्टा आफ्नो खाताको विवरण, मौज्दात, नजिकको शाखा कार्यालय, सम्पर्क नम्बर, एटिएम, ब्याजदरसम्बन्धी जानकारी दिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सेवासमेत सञ्चालन गरेका छन् । बैंक तथा वित्तीय संस्थाको संस्थागत संरचना, व्यावसायिक रणनीति एवं व्यवस्थापकीय निर्णय प्रक्रियामा समेत प्रविधिले निर्णायक भूमिका खेलेको पाइन्छ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो प्रदेशगत तथ्याङ्कअनुसार नेपालमा जम्मा बैंक तथा वित्तीय संस्थाका ५ हजार ६ सय ५९ शाखाहरूबाट औसत शाखा जनसंख्या करिब ५ हजार २ सय ६९ जनामा आइपुगेको छ । निक्षेप खाता संख्यामा उल्लेख्य वृद्धि भई १ करोड ९१ लाख ११ हजार पुगेको छ । व्यक्तिगत खाताको संख्या कुल जनसंख्याको ९३.४८ प्रतिशत देखिन्छ, तर विभिन्न कारणले गर्दा तीमध्ये करिब ३४ प्रतिशत खाता हाल निष्क्रिय अवस्थामा छन् । प्रदेशगत रूपमा शाखाको उपस्थिति हेर्दा गण्डकी प्रदेशमा सबैभन्दा धेरै शाखा छन् भने कर्णाली प्रदेशमा कम शाखा भएको तलको तथ्याङ्कले देखाउँछ ।

विश्वव्यापी रूपमा इन्टरनेट, स्मार्टफोनको सहज उपलब्धताले नागरिकमाझ डिजिटल बैंकिङ सजिलो भएको छ । डिजिटलाइजेसनका माध्यमबाट सेवामा सहजता, सरलता, कारोबार लागतमा कमी, छिटोछरितो सेवा, सुरक्षित एवं मानवीय गल्ती कम हुने हुँदा सेवाग्राहीको आकर्षण बढ्दै गएको छ, जसका कारण डिजिटल बैंकिङका प्रयोगकर्ता पनि दिनानुदिन बढ्दै गएको तलको तथ्याङ्कबाट प्रस्ट हुन्छ :

बैंक तथा वित्तीय संस्थाहरूको संख्यात्मक वृद्धिसँगै एकातिर शाखा विस्तार र अर्कातर्फ वित्तीय प्रविधिको प्रयोग तीव्र रूपमा बढ्दै गएकाले वित्तीय पहुँच विस्तार हुँदै गएको हो । मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ८३ लाख ४७ हजार र जारी भएका डेबिट कार्डको संख्या १ करोड १० लाख ८० हजार पुगेको छ । सञ्चालनमा रहेका खातामा डिजिटल बैंकिङको प्रयोग हेर्दा मोबाइल बैंकिङ ३२.०३ प्रतिशत, एटिएमका प्रयोगकर्ता २०.३५ प्रतिशत र इन्टरनेट बैंकिङको प्रयोग जम्मा ३.८६ प्रतिशत मात्र देखिन्छ । इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, प्रिपेड कार्डका प्रयोगकर्ताको संख्या पनि निरन्तर वृद्धि हुँदै गएको देखिन्छ ।
टेली कम्युनिकेसनमा भएको प्रगति नै डिजिटल बैंकिङलाई ‘ब्रिफ बैंकिङ’बाट ‘क्लिक बैंकिङ’ हँुदै ‘टच बैंकिङ’मा पुर्याउने आधार हो । सरकारी तहबाट पहिलो पटक नागरिक एप्सको सुरुवात गरेर सरकारबाट प्रवाह हुने सेवासुविधालाई एउटै एप्समा समायोजित गर्ने डिजिटल कामले नागरिकमा सहजता बढाएको छ । त्यसैगरी नेपाल राष्ट्र बैंकले युएसडी–५०० बराबरको डलर प्रिपेड कार्ड जारी गर्न स्वीकृति दिनाले पनि विभिन्न वस्तु तथा सेवाको भुक्तानीमा सहजता ल्याएकोे छ । नगदरहित कारोबारमा ठूलो वृद्धि भएकाले गत वर्ष हाम्रो जीडीपीको करिब तीन गुना एनसीएचएलबाट डिजिटल कारोबार भएको तथ्यांकले देखाउँछ ।
करिब ७० प्रतिशत नागरिकमाझ इन्टरनेट सेवाको पहुँच पुगेको नेपालमा करिब ६० प्रतिशत नागरिकमाझ मात्र बैंकिङ पहँुच पुगेको छ । बाँकी नागरिकसामु डिजिटल बैंकिङका माध्यमबाट सहज रूपमा सबैको घरघरमा बैंकिङ सेवा पुर्याउन सम्भव छ । यो हाम्रा लागि राम्रो अवसर हो । जुन स्थानमा भौतिक रूपमा बैंकको शाखा कार्यालय सञ्चालन गर्न भौगोलिक बनावट, जनसंख्या, बजारको आकार आदिले अनुपयुक्त देखिन्छ, त्यस्तो स्थानमा समेत डिजिटल बैंकिङ माध्यमबाट सेवा विस्तार गर्न सकिन्छ । कर्जा सुविधाहरू पनि नेपालमा प्राय: धितोमा आधारित मात्र छन्, जसलाई डिजिटल बैंकिङका माध्यमबाट कारोबार गर्ने बानी विकास गर्न सकियो भने ग्राहकको कारोबारका आधारमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को माध्यमबाट क्रेडिट रेटिङ गरी बिनाधितो दूरदराजका नागरिकलाई पनि कर्जा विस्तार गर्न आधार बन्न सक्छ ।
हामी प्रत्येक आफैंमा जन्मसिद्ध उद्यमशील छौं । अभाव र आवश्यकताले उद्यमशीलताको सिर्जना गर्छ भन्ने उक्ति हामीमा सार्थक छ, किनकि हामी प्रत्येकमा व्यावसायिक सोच र क्षमता छ । जस्तै ग्रामीण बस्तीमा बस्ने नागरिकहरू आफ्नो अनुकुलतमा घरघरमा राडी पाखी बुन्ने, डोकोमा फलफूल बिक्री गर्दै हिँड्ने, सडकमा नाङ्लोमा पसल राख्ने प्रशस्तै देखिन्छ । यी सबै उद्यमी मनहरूलाई डिजिटल माध्यमबाट बैंकिङमा छिराउन सकियो भने यसले बैंकिङ विकाससहित देशको बैज्ञानिक कर प्रणालीको दायरामा ल्याउन सहज हुन्छ ।
डिजिटल बैंकिङका यति धेरै अवसर तथा फाइदा रहँदारहँदै पनि चुनौती र समस्या पनि छन् । सबै नागरिकमाझ सरल र सुलभ इन्टरनेटको पहुँच नहुनु, वित्तीय र डिजिटल बैंकिङ साक्षरताको कमी, सुरक्षित डिजिटल बैंकिङ कारोबारसम्बन्धी जानकारीको कमी, सरोकारवाला निकायबाट विद्युतीय कारोबार गर्न प्रोत्साहन गर्ने परिपाटीको कमी, डिजिटल सेवाप्रदायक संस्था (पिएसपी) को कमी, नीतिनियममा परिमार्जनमा सुस्तताजस्ता समस्याहरू छन् । देशको समग्र वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गरी बैंक तथा वित्तीय संस्थाका सरोकारवालाकोे हित संरक्षण गर्दै स्वस्थ प्रतिस्पर्धाबाट सबैका लागि भरपर्दो वित्तीय मध्यस्तता भनेकै बैंक हो भन्ने जनमानसमा भावना अभिवृद्धिका लागि डिजिटल बैंकिङ साक्षरताको अभियानमा लाग्नुको विकल्प छैन ।
(लेखक अधिवक्ता तथा माछापुच्छ«े बैंक लिमिटेड, बेनी शाखाका शाखा प्रबन्धक हुन् ।)