बुद्ध एयर २५ वर्ष पूरा

निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले २५ वर्षको उडानका क्रममा १ करोड ८० लाख ३२ हजार यात्रुलाई सेवा दिएको छ । बुद्धले २५ वर्षको दौरानमा २ लाख ६४ हजार ९ सय १८ उडानमार्फत १ करोड ८० लाख ३२ हजार यात्रुले यात्रा गरेको जनाएको छ ।
सन् १९९७ अक्टोबर ११ (२०५४ असोज २५)मा बिचक्राफ्ट विमानमार्फत व्यावसायिक उडान भरेको बुद्ध एयरले २५ वर्ष पूरा गरेको छ । आन्तरिक उडानमा करिब ५६ प्रतिशत बजार हिस्सा रहेको जनाएको बुद्धले हाल ११ वटा एटीआर–७२, ३ वटा एटीआर–४२ र दुईवटा बिचक्राफ्ट विमान गरी १६ वटा विमान र १५ सय कर्मचारीको नेतृत्वमार्फत १५ गन्तव्यमा उडान भर्दै आएको छ ।
पछिल्लो समय हवाई यात्रुको चापलाई मध्यनजर गर्दै आगामी दिनमा यात्रुलाई थप सेवा दिने योजनाअनुसार विमान थप गर्दै गन्तव्य विस्तार गरिने बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए । उनले भने, “२५ वर्षे उडानमा कैयौं आरोहअवरोह पार गर्दे कम्पनीले व्यावसायिक यात्राको २५ र्औ वर्ष पार गरेको र आगामी दिनमा ५०औं वर्षगाँठ मनाउनका लागि कम्पनीले थप नयाँ योजना बनाएर अघि बढ्नेछ ।” यात्रुको सरल, सुरक्षित यात्रा गर्नको लागि कुनै पनि पनि सम्झौता नगर्ने र मागको आधारमा विमान तथा गन्तव्य थप गर्दै लगिने प्रबन्ध निर्देशक बस्नेतले बताए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै कम्पनीको पोखराबाट एटीआर–७२ विमान स्थलबाटै भारतको नयाँ दिल्ली उडान भर्ने आन्तरिक उडान भर्ने योजना रहेको प्रबन्ध निर्देशक बस्नेतको भनाइ छ । यसको लागि उडान अनुति लिने तथा आन्तरिक तयारी भइरहेको जनाइएको छ ।
व्यवस्थापकीय निरन्तरताका लागि मात्र पब्लिक लिमिटेडमा जानुपर्ने आवश्यकता भएको खण्डमा मात्र कम्पनीले पब्लिक लिमिटेडमा जाने तर फन्ड कलेक्सनको लागि भने प्राइभेट लिमिटेडबाट पव्लिक लिमिटेडमा जानु पर्ने आवश्यक नभएको समेत प्रष्ट प्रबन्ध निर्देशक बस्नेतले प्रष्ट पारेका छन् ।
दैनिक ८ हजार यात्रुलाई हवाई सेवा प्रदान गरिरहेको बुद्ध एयरले देशका विभिन्न ४३ वटा हवाई रुटमा सेवा प्रवाह गरिरहेको कम्पनीले जनाएको छ । बुद्ध एयरले काठमाडौंबाट माउन्टेन, धनगढी, सुर्खेत, नेपालगन्ज, भैरहवा, पोखरा, चितवन, सिमरा, जनकपुर, राजविराज, तुम्लिङटार, विराटनगर र भद्रपुरमा उडान भर्दै आएको छ भने अन्तरप्रदेशमा पनि उडान पनि गर्दै आएको छ । अन्तरप्रदेश मातहतमा बुद्धले पोखराबाट भरतपुर, भैरहवा, नेपालन्ज, सिमरा, विराटनगर र भद्रपुरमा उडान भर्दै आएको छ । हाल बुद्धले अन्तर्राष्ट्रियतर्फ भने भारतको बनारसमा उडान भर्दै आएके छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्लबाट दिल्लीमा उडान भर्ने तयारी गरिरहेको बुद्धले जनाएको छ ।