महिला भलिबल टोली अभ्यासमा व्यस्त

बिहीबारदेखि सुरु हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा हुने महिला भलिबल र तेक्वान्दोको तयारी पूरा भएको छ । जिल्ला खेलकुद विकास समितिले खेल मैदान निर्माण, मर्मत, खेलाडीको आवास र अभ्यास स्थलको व्यवस्थापन गर्दै तयारी पूरा गरेको हो ।
समितिका अध्यक्ष दिनेश केसीले स्थानीय तह र जिल्ला भलिवलको संघको सहयोगमा बेनीको खुल्ला मञ्च खेलमैदानमा दुई वटा भलिबलको कोर्ट निर्माण र जिल्ला खेलकुद विकासको कवर्ड हलमा तेक्वान्दोको पूर्वाधार तयार गरिएको जानकारी दिएका छन् । महिला भलिबलमा सात प्रदेशसहित नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका खेलाडीहरू बेनीमा आइसकेको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले बताए । महिला भलिबल अन्तर्गत बेनीमा आएका खेलाडीहरु अभ्यासमा व्यस्त छन् ।
प्रतियोगितामा खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई होटल व्यवसायी संघको समन्वयमा खेलाडीलाई राख्ने होटल व्यवस्थापन गरिएको छ । प्रतियोगितामा सहभागि अतिथि सत्कार, सरसफाइ, झाँकी प्रदर्शनीका लागि ब्यानर र तोरण टाँगेर बेनी बजार सिँगारिएको छ । उद्घाटनमा खेलाडीसहित जिल्लाको पहिचान भल्कने झाँकी प्रर्दशन गरिने छ ।