Logo

प्रतिबन्धको समय सीमा सकिनै लाग्दा व्यवसायीको तीव्र दबाब

आयात प्रतिबन्ध खोल्न माग

व्यवसायीका विभिन्न संघसंस्थाहरुले सरकारले लगाएको आयात प्रतिबन्ध हटाउन माग गरेका छन् । सरकारले गत वैशाखदेखि विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएकोमा पछिल्लो समय ६ वस्तुमाथिको आयात प्रतिबन्ध फुकुवा गरे पनि कार–जिप–भ्यान, ३०० डलरभन्दा बढी मूल्यका मोबाइल, १५० सिसीभन्दा बढीका मोटरसाइकल र तयारी मदिराको आयातमा लगाइएको प्रतिबन्ध अझै कायम रहेकोमा उनीहरुले तत्काल आयात प्रतिबन्ध खोल्नुपर्ने माग गरेका हुन् ।
नेपाल समुद्रपार निकासी पैठारी संघले बढी राजस्व हुने वस्तुको आयातमै प्रतिबन्ध लाग्दा एकातर्फ सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको अनि अर्कोतर्फ ती वस्तुको कारोबारका लागि अर्बौं रुपैयाँ लगानी गरेर पूर्वाधार तयार गरेका व्यवसायीले ठूलो नोक्सानी बेहोर्नुपरेको जनाएको छ । आयातमा प्रतिबन्ध लगाइएका सवारीसाधन र मोटरसाइकल बाहेकका वस्तु अवैध बाटोबाट तस्करी भइरहेको भन्दै संघले बाँकी चार वस्तुको आयातमा लगाइएको प्रतिबन्ध यथाशीघ्र हटाउन माग गरेको छ ।
नेपाल राष्ट्र« बैंकले महँगी नियन्त्रण गर्न भन्दै मुद्रा प्रदायलाई कसिलो बनाउँदै ब्याजदर बढाउने नीति लिएको छ । तर महँगी नेपालको आन्तरिक कारणले नभई बाह्य कारणले भएको पनि संघको ठहर छ । तर राष्ट्र« बैंकको कदमले ब्याजदर बढ्दा व्यवसाय सञ्चालन निकै कठिन भएको भन्दै संघले आर्थिक क्रियाकलापमा गिरावट आउँदा व्यापारी, सर्वसाधारण र सरकारी राजस्व सबैमा नकारात्मक असर परेको जनाएको छ । बढ्दो ब्याजदरले अर्थतन्त्रलाई मन्दीको अवस्थामा पुर्‍याउने जोखिम उच्च रहेकोले यसलाई नियन्त्रण गर्न अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक जस्ता निकायले चाँडोभन्दा चाँडो उपयुक्त कदम चाल्न संघले माग गरेको छ ।
सरकारले तेस्रो पटक म्याद थप गरेर आयात प्रतिबन्ध कायम राखेको चार प्रकारका विलासी वस्तुको प्रतिबन्ध समय शुक्रबार सकिँदैछ । विदेशी मदिरा, स्मार्टफोेन, महँगा चारपांग्रे्रे सवारीसाधन र मोटरसाइकलको प्रतिबन्ध खुल्ने वा थप लम्बिनेबारे सरकारी निर्णय नभएका कारण व्यवसायीले प्रतिबन्ध फुकुवाको माग गर्न थालेका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकमा पनि यसबारे गम्भिर विमर्श नभएको व्यवसायीको गुनासो छ ।
मन्त्रालयले १४ भदौमा पाँच महिना लामो प्रतिबन्धपछि ६ प्रकारका वस्तुको प्रतिबन्ध हटाएर मदिरा, स्मार्टफोेन, महँगा चारपांग्रे सवारीसाधन र मोटरसाइकलको प्रतिबन्ध २८ असोजसम्म लम्ब्याएको थियो ।
सरकारले विदेशी मुद्रा सञ्चितिमा दबाब परेको भन्दै गत वैशाखमा विलासी वस्तुमा असार मसान्तसम्म आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो । त्यसलाई थप कसिलो बनाउँदै ३० असारमा प्रतिबन्ध १४ भदौसम्म थप गरिएको थियो ।
राष्ट्र बैंक तत्काल आयात प्रतिबन्ध र आयातमा नगद मार्जिन फुकुवा नगर्ने सोचमा रहेका कारण पनि व्यवसायीले दबाब बढाउन थालेको गाडी व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललगायत विभिन्न संघसंस्थाको भनाइ छ ।
यसका साथै डलर हरेक दिन महँगिदै जानुका कारण पनि विदेशी मुद्रा सञ्चितिमा दबाब कायमै रहेको केन्द्रीय बैंकको बुझाइ छ । किनकि असारमा भन्दा साउनमा विदेशी मुद्रा सञ्चिति ९ अर्ब डलरले घटेको छ ।
यस्तै, भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/०८० को साउन र भदौमा अघिल्लो वर्षको सोही अवधिमा भन्दा वस्तु आयात १३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको साउन र भदौमा ३ खर्ब १४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएकोमा चालू आर्थिक वर्षको दुई महिनामा २ खर्ब ७३ अर्ब रुपैयाँबराबरको मात्रै वस्तु आयात भएको छ ।
राष्ट्र बैंकका अनुसार हाल विदेशी मुद्रा सञ्चिति ११ खर्ब ९७ अर्ब ८५ करोड कायम छ । यसले ९.४ महिनाको वस्तु आयात र ८.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्