Logo

नेपाल ईयूको कालोसूचीबाट हट्ने दाबी

फाइल तस्बिर ।

युरोपियन युनियन (ईयू) ले नेपाली उड्डयन क्षेत्रमा अपेक्षाभन्दा बढी सुधार भएको निष्कर्ष निकालेको छ । यही प्रतिवेदनका आधारमा चाँडै कालोसूचीबाट हट्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले दाबी गरेका छन् । उनले आगामी नोभेम्बरमा युरोपियन युनियन काउन्सिलको बैठक बस्ने भएकाले त्यो बेला नेपाल कालोसूचीबाट हट्न सक्ने बताए ।
अधिकारीले ईयूका प्रतिनिधिले गरेको सुपरीवेक्षणमा नेपालको हवाई सुरक्षामा उल्लेखनीय सुधार आएको भन्दै प्रतिनिधिले प्राधिकरणसहित तारा एयर र समिट एयरको समेत स्थलगत अध्ययन गरेको जानकारी दिए । उनले ईयूको प्रतिनिधि टोलीले प्राधिकरणलाई प्रारम्भिक प्रतिवेदन दिइसकेको भन्दै अन्तिम प्रतिवेदन आएपछि सार्वजनिक गर्ने पनि बताए ।
अधिकारीले ईयूले कहिल्यै पनि प्राधिकरण दुई वटा बनाउन निर्देशन नदिएको र हवाई सुरक्षामा सुधार गर्न मात्र भनेको दाबी पनि गरे । ईयूको टोलीले नेपालको हवाई उड्डयन स्थलगत निरीक्षण गरेर फर्किसकेको छ । नेपालको हवाई उड्डयन सुरक्षामा जोखिम बढेको जनाउँदै आईकाओले सन् २०१३ मा नेपाली वायुसेवालाई गम्भीर सुरक्षा चासोको सूचीमा राखेको थियो । पछि सन् २०१७ मा नेपालले प्रगति गरेको भन्दै आईकाओले असुरक्षा सूचीबाट हटाएको थियो । हाल एशिया प्रशान्त क्षेत्रको ग्लोबल हवाई सुरक्षादर ६७ पुगेको छ । आईकाओको सेफ्टी अडिटमा नेपालले ७०.१ प्रतिशत अंक पाएको थियो । ईयूले उठाएका सुरक्षा चासोको विषय सम्बोधन भइसकेको र नेपालको हवाई सुरक्षाको अवस्थामा सुधार आएकाले यो पटक नेपाल ईयूको असुरक्षा सूचीबाट हट्ने अपेक्षा रहेको छ ।
अधिकारीले अघिल्ला नेतृत्वले प्राधिकरण विभाजन गर्ने राजनीतिक निर्णय लिँदा नेपालको हवाई उड्डयन ईयूको कालोसूचीबाट हट्न नसकेको आरोप पनि लगाए । मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्राधिकरणका अघिल्ला नेतृत्वले नेपालको हवाई उड्डयन सुरक्षामा सुधार गर्नुको सट्टा प्राधिकरण विभाजन गर्ने राजनीतिक निर्णय गर्दा नेपालको हवाई उड्डयन ईयूको कालोसूचीबाट हट्न नसकेको आरोप लगाएका हुन् । उनले नेपालको हवाई उडानको सुरक्षामा सुधार, प्रविधिमा सुधार, सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन र नेपालको हवाई सुरक्षाको प्रतिवद्धताको कार्यान्वयनमा ध्यान नदिँदा नेपाली उड्डयन क्षेत्र १० वर्षदेखि कालोसूचीमा परेको बताए ।
अधिकारीले प्राधिकरण नेतृत्वले यसअघि नागरिक उड्डयन प्राधिकरण टुक्रेपछि ईयूको कालोसूचीबाट हट्ने प्रचार गरेर आफूअनकूलको विधेयक बनाउँदै गएको आरोप लगाउँदै सरकारले नेपाली उड्डयन क्षेत्र सुरक्षाका लागि नीतिनियममा सुधार गर्न आवश्यक रहेको पनि बताए ।
अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले तोकेको विश्वको औसत दरभन्दा माथि उड्डयन सुरक्षामा सुधार हुँदा समेत ईयूले भने अहिलेसम्म नेपाली वायुसेवालाई कालोसूचीबाट नहटाएकोमा गुनासो गरे । ईयूको कालोसूचीमा नेपाली हवाई उड्डयन पर्नुलाई देशकै बदनाम हुनेगरी प्रचार गरिनु गलत रहेको भन्दै उनले अघिल्ला नेतृत्वले नेपाली आकाश सुरक्षित छ भन्ने आँटसमेत नगरेको आरोप पनि लगाए । अधिकारीले अहिले आन्तरिक र बाह्य उडान गर्ने सबै जहाजहरु युरोपमा नै उत्पादन भएका रहेको तथा युरोपमा बनेका ९० प्रतिशत हेलिकोप्टर र हवाईजहाजका पाटपुर्जादेखि उड्डयनसम्बन्धी सबै उपकरण युरोपबाट नै आएकाले नेपाली आकाश सुरक्षित छ भनेर आईकाओसमक्ष बोल्न नसकेको बताए । युरोपका जहाज प्रयोग गर्दा पनि नेपाली आकाश कसरी असुरक्षित भयो भन्ने प्रश्न पनि उनले गरे ।

प्रतिक्रिया दिनुहोस्