Logo

वडाको काममा नगरपालिकाको हस्तक्षेप

खोटाङ दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–८ दोर्पा चिउरीडाँडा सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।
वडाको विकास निर्माणमा नगरपालिकाले ठाडो हस्तक्षेप गरेको भन्दै वडाध्यक्ष लिलाकुमार चौहान र चार वडा सदस्यले शुक्रबारदेखि वडाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेका हुन् । फरक दलले जितकै कारण वडालाई योजना नदिने, सम्पन्न भइसकेका योजनाको भुक्तानी रोक्का गर्ने, वडा कार्यालयले गरेको सम्पूर्ण कार्यमा अवरोध गर्ने, दु:ख दिने र कर्मचारी हेरफेर गरेको वडाध्यक्ष चौहानले बताए ।
गत ३० वैशाखमा स्थानीय तहको निर्वाचनमा गठबन्धनका बावजुद दोर्पा चिउरीडाँडामा चौहानसहित जनप्रतिनिधि एमालेबाट निर्वाचित भएका थिए । नगरपालिकामा गठबन्धनबाट कांगे्रसका तीर्थराज भट्टराई मेयरमा र माओवादी केन्द्रका विसन राई उपमेयरमा विजयी भएका थिए । मेयर भट्टराई र उपमेयर राईले अविभावकको भूमिका निर्वाह गर्नुपर्नेमा दलगत समूहमा लागेर वडालाई पक्षपातपूर्ण व्यवहार गर्नु दु:खद र संघीयता विरोधी कार्य भएको चौहानले बताए ।
मेयर र उपमेयरले लिखित रूपमा वडामा हस्तक्षेप नगर्ने प्रतिबद्धता नजनाएसम्म वडा कार्यालयबाट प्रवाह हुने सेवा अनिश्चितकालका लागि बन्द गरिएको पे्रस विज्ञप्तिमा उल्लेख छ । गठबन्धन उम्मेदवारले नजितेकै कारण समग्र वडाबासीलाई असर पार्ने गरी हस्ताक्षेप गरेर कानुनी राज्यको खिल्ली उडाएको र नगरपालिकाले वडाले गर्ने काम कर्तव्य र अधिकार प्रयोग गरेर कानुनी राज्यको खिल्ली उडाएको विज्ञप्तिमा उल्लेख छ ।
वडाध्यक्ष चौहानले उपभोक्ता समितिमा आफ्नो कार्यकर्तालाई राख्न नपाएको रिसमा मध्यपहाडी लोकमार्ग, वडा कार्यालय सडक ढलानको काम सम्पन्न भए पनि भुक्तानी रोकेको खावाडाँडा र वाबारी एकीकृत बस्ती निर्माण गोल्डेन चक्रपथ निर्माण, स्यालदुलो तालचौर सडक अन्नपूर्ण मावि घेरावारा र पंखु लप्से खानेपानी योजना निर्माणमा अख्तियारमा मुद्दा हाल्न लगाएर अवरोध गरेको आरोप लगाएका छन्
यस्तै चुच्चेढुंगा दोवेला सिँचाइ योजना उपभोक्ता समिति गठनका विषयमा नगरपालिकामा उजुरी हाल्न लगाएको र वडामा भइरहेको विकास निर्माणमा अवरोध पुर्‍याउन गठबन्धनका स्थानीयलाई योजनाबद्ध उजुरी हाल्न उक्साउने गरिएको चौहानको दाबी छ ।
यता स्टिमेटअनुसार सडक ढलान नभएको अन्नपूर्ण माविको खेलमैदान र घेराबारा बनेको केही समयमै भत्किएको एकीकृत बस्ती विस्तार योजना अलपत्र परेकोलगायतका विषयलाई गठबन्धन दलले उठाउँदै आएको छ । दलीय द्वन्द्व सिर्जना भएपछि वडाको विकास निर्माणमा प्रत्यक्ष असर परेको छ ।

प्रतिक्रिया दिनुहोस्