जलविद्युत्को विकास र विस्तार नै देशको आर्थिक उन्नतिको दिगो आधार हो भन्नेतर्फ सरकारले हेक्का राख्नुपर्ने देखिन्छ ।
नेपालमा जलविद्युत् विकासको कथा र व्यथा

नेपालको पहिलो र एसियाको दोस्रो फर्पिङ जलविद्युत् आयोजना चन्द्रशमशेरको पालामा सन् १९०७ मा सुरु भई सन् १९११ मा सम्पन्न भएको थियो । ५ सय किलोवाटको यस आयोजनाको लागत ७ लाख १३ हजार रुपैयाँ थियो । विद्युत् ऐन, २०४९ लागू भएपछि जलविद्युत् उत्पादनमा निजी क्षेत्रको लगानीको ढोका खुल्यो । सरकारले पहिलो पटक ६० मेगावाटको खिम्ती र ४५ मेगावाटको भोटेकोसी आयोजना निजी क्षेत्रलाई निर्माण गर्न अनुमति दियो । यी नर्वे र अमेरिकाद्वारा निर्मित पहिलो विदेशी लगानीका आयोजना हुन् । विद्युत् विकास बोर्डको पछिल्लो तथ्यांकअनुसार नेपालमा १ सय ११ वटा जलविद्युत् आयोजनाबाट करिब १ हजार ३ सय ६८ मेगावाटबराबरको विद्युत् उत्पादन भइराखेको छ । त्यस्तै ७ हजार ५ सय मेगावाटबराबरका साना–ठुला २ सय ३९ आयोजनाले निर्माण लाइसेन्स प्राप्त गरेका र १५ हजार ७ सय २० मेगावाटबराबरका २ सय २६ आयोजना सर्वेक्षणको चरणमा छन् । बजारको माग बढेमा आयोजना थप्नेतर्फ निजी क्षेत्रको आकर्षण बढ्ने निश्चित छ । यसबाट बेरोजगारी र विपन्नतालाई सम्पन्नतातिर डोर्याउन अहम् भूमिका खेल्ने निश्चित देखिन्छ । विश्वमा ऊर्जा व्यापारबाट सम्पन्न भएका देशहरू प्रशस्तै छन्, जसमध्ये कतार, साउदी अरेबिया, दुबई, क्यानडा, रूस आदि प्रमुख छन् ।
नेपाल जलविद्युत् उत्पादन क्षमताका आधारमा विश्वमा ब्राजिलपछि दोस्रो स्थानमा रहेको छ । ऊर्जाका स्रोतहरू गैरनवीकरणीय र नवीकरणीय वर्गमा विभाजन गरिएको छ । विश्वमा अन्य ऊर्जाको भण्डारण सकिँदै गएकाले सौर्य, वायु, पानी, ग्यासलाई अधिकतम प्रयोग गर्न विश्वको ध्यान आकर्षण भएको छ । नेपालको परिवेशमा अन्यको तुलनामा अधिकतम नवीकरणीय ऊर्जा स्रोतको रूपमा जलविद्युत्लाई लिइन्छ । नेपालसँग ८३ हजार मेगावाट उत्पादन स्रोत ठानिए तापनि पछिल्लो अध्ययनले करिब ९० हजार मेगावाट रहेको अनुमान गरिएको छ । त्यसमध्ये आर्थिक एवम् प्राविधिक रूपले करिब ५० हजार मेगावाट कुल क्षमता रहेको अध्ययनहरूले पुष्टि गरेका छन् ।
हाम्रो उत्पादन र जडित क्षमताको अनुपात ५५–६० को हाराहारीमा रहेको छ । विद्युत् उत्पादनलाई तीव्रता दिएर हाम्रो व्यापारघाटालाई न्यूनीकरण गर्न सकिन्छ । आव २०७७/७८ मा हाम्रो व्यापारघाटा १३ खर्ब ९८ अर्ब थियो । आगामी १० वर्षमा यो बढेर ३५ खर्ब हाराहारीमा पुग्ने अनुमान छ । विद्यमान प्राकृतिक स्रोतसाधानको उपयोग गरेर व्यापारघाटा सन्तुलनमा ल्याउन विद्युत् उत्पादन गरेर विदेश निकासी गर्नु नै उत्तम र भरपर्दो उपाय हुन सक्छ । तर, त्यसका लागि पर्याप्त लगानी र तोकिएकै समयमा योजना सम्पन्न हुन जरुरी हुन्छ । अन्यथा लक्षित समयभित्र उत्पादन नभई लम्बिन गएमा मूल्यवृद्धिका कारण लागत बढ्न गई बिजुलीको मूल्यसमेत बढ्ने कारण अहिलेको प्रतिस्पर्धी अन्तर्राष्ट्रिय बजारबाट अपेक्षित लाभ लिन कठिन हुने वास्तविकतातर्फ पनि हेक्का रहनु जरुरी छ ।
नेपालको गार्हस्थ्य उत्पादनमा जलविद्युत्ले दिगो रूपमा ठूलो योगदान पुर्याउने सहज आकलन गर्न सकिन्छ । निर्माण तथा सर्वेक्षण अनुमति पाइसकेका सबै आयोजना समयमा नै सम्पन्न भएमा आगामी १५ वर्षमा हाम्रो उत्पादन क्षमता २० हजार मेगावाट पुग्ने देखिन्छ । तर, देशभित्र खपत हुने अधिकतम् ६ हजार मेगावाट मात्र देखिन्छ । आन्तरिक खपतभन्दा बढी विद्युत् निकासीका लागि समयमा नै भारत, बंगलादेशलगायतका छिमेकी देशहरूसँग ऊर्जा व्यापार सम्झौताको पहल गर्नु दूरदर्शिता ठहर्छ । त्यस्तै आन्तरिक खपतलाई वृद्धि गर्न विद्युतीय उपकरणहरूको प्रयोगमा प्रोत्साहन गर्ने नीति र रणनीति ल्याउन आकर्षक छुटका स्किमहरूको तर्जुमाको खाँचो पर्छ ।
विद्युत् उत्पादनका परियोजनाहरू स्वीकृति, कार्यान्वयन र सम्पन्न गर्ने प्रक्रिया अस्वाभाविक, लामो तथा झन्झटिलो भएका कारण लागत बढ्ने, कतिपय अवस्थामा लगानीकर्ता पलायन हुने, गुणस्तरीय काम नहुने आदि कारणले नेपालमा जलविद्युत् आयोजनाहरू अलपत्र परेका कैयांै उदाहरण पाइन्छन् । विद्युत् उत्पादनलाई सहज र उपलब्धिमूलक बनाउन परियोजना पहिचान र कार्यान्वयन क्षेत्रमा देखिएका र भोगिएका अनेक झन्झटहरूलाई सुधार्न बेलैमा ध्यान दिनु जरुरी छ । वर्तमान विद्युत् नीतिमा समयानुकूल परिमार्जन गरी लगानीका परिवेश र प्रक्रियालाई चुस्त र पारदर्शी बनाउन जरुरी भइसकेको छ । परियोजनाहरू समयमा सम्पन्न नहुने, भविष्यमा सम्पन्न हुने परियोजनाबाट उत्पादित विद्युत् खपतको दूरदर्शी योजना नहुनु, आन्तरिक खपतको वृद्धि गर्नेतर्फ सरकारको ठोस योजनाभन्दा पनि भाषणमा मात्र सीमित रहनु विद्युत् विकासका लागि चुनौती रहेका छन् ।
विद्युत् परियोजनाहरूमा लगानी जुटाउने विश्वासिलो वातावरण निर्माणमा तीव्रता र उत्पादित बिजुलीको व्यापारमा सहजताले मात्रै जलविद्युत्बाट लाभ लिन सकिने वास्तविकता हो । सरकारी निर्णय प्रक्रियाको झन्झटिलो प्रक्रिया, वित्तीय व्यवस्थापन, जग्गा अधिग्रहण, पर्याप्त बजेटको विनियोजन, सम्बन्धित निकाय र स्थानीयहरूको मौसमी अवरोध तथा स्वार्थी राजनीतीकरणले कतिपय योजना वल्लो घाट न पल्लो तीरका रूपमा अल्झिएर बसेका कैयौं उदाहरण छन् । आयोजनाहरू तोकिएको समयमा सम्पन्न भएमा मात्र सर्वसुलभ रूपमा विद्युत् बिक्रीबाट अपेक्षित लाभ लिन सकिन्छ ।
नेपालमा बिजुलीको प्रतियुनिट मूल्य औसतमा ९ रुपैयाँ ७५ पैसाजति छ । विद्युत् प्राधिकरणको औसत विद्युत् खरिद दर ६.६० रुपैयाँ छ । आयोजनाहरूको प्रतियुनिट उत्पादन लागत करिब ४.५ रुपैयाँ परेको छ । यदि परियोजना सम्पन्न हुन ढिलो भएमा स्वभावैले निर्माण लागत उत्ति नै बढ्न जानेछ । पछिल्लो उदाहरणका रूपमा ३५ अर्बमा ०७२ सालमा सम्पन्न हुनुपर्ने तामाकोसी २०७८ सालमा ८३ अर्ब खर्च भइसकेको छ । यस्ता धेरै आयोजनामा ढिलाइ भएर निर्माण लागत बढ्दा प्रतियुनिट उत्पादन लागत स्वभावैले बढ्ने नै भयो । यसरी उत्पादन लागत बढ्दा भारतलगायतका देशहरूको भन्दा लागत बढ्नाले हामीलाई विद्युत् व्यापार गर्न सम्भव रहन्न । हाम्रो आन्तरिक खपत पनि उत्साहजनक छैन ।
हाम्रो आन्तरिक खपत पछिल्लो तथ्यांकअनुसार करिब १५ सय मेगावाटको हाराहारीमा मात्र छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार सन् १९८५/८६ सम्म लगभग ६.२४ घरधुरीमा बिजुलीको पहुँच रहेकोमा सन् २०२०/२१ को अन्त्यसम्ममा ८५ प्रतिशत घरधुरीमा बिजुलीको पहुँच पु्गेको देखिन्छ । त्यस्तै नेपालमा सन् १९८५/८६ मा प्रतिव्यक्ति विद्युत् खपत १८.९ युनिट थियो भने अहिले २ सय ७० युनिटको हाराहारीमा पुगेको छ । जबकि भारत र चीनमा क्रमश १ हजार २ सय र ५ हजार २ सय युनिट छ । उत्पादित बिजुली देशभित्रै अधिकतम खर्च गर्ने व्यावहारिक र आकर्षक नीति अवलम्बन गर्न ढिलो भइसकेको छ । आन्तरिक खपत वृद्धि गर्न विद्युतीय उपकरणहरू जस्तै इन्डक्सन चुलो, लुगा धुने मेसिन, हिटर, रेफ्रिजेटर विद्युतीय सवारी साधन आदिको प्रयोगमा प्रोत्साहनको खाँचो देखिन्छ । त्यस्तै आयातित कोइलाको अधिकतम प्रयोग हुने इँटाभट्टा, फलाम तथा स्टिल कारखनालगायतका उद्योगहरूमा विद्युत्को प्रयोगलाई प्राथमिकता र प्रोत्साहन गर्ने खालका छुटका स्किमहरू लागू गरिनु बुद्धिमानी ठहर्छ । विद्युतीय उपकरणको उच्चतम प्रयोगबाट खाना पकाउनेलगायतमा प्रयोग हुने एलपी ग्यास, कोइला र खनिज तेल खरिदमा बिदेसिने ठूलो रकममा बचत गरेर मौजुदा व्यापारघाटालाई न्यूनीकरणमा उल्लेख्य योगदान पुग्ने वास्तविकता हो । अत: जलविद्युत्को विकास र विस्तार नै देशको आर्थिक उन्नतिको दिगो आधार हो भन्नेतर्फ सरकारले हेक्का राख्नुपर्ने देखिन्छ । खेर गइराखेको अथाह जलसम्पदालाई जलविद्युत्, सिँचाइ, स्तरीय मिनरल वाटर उद्योगलगायतका अनेक सम्भावनाहरूको खोजी गरी सम्पन्नतातिर लम्किन सरकार र सरोकार पक्षको प्राथमिकतामा पार्नु दूरदर्शिता ठहर्छ ।