जलस्रोतबाट उत्पादित विद्युत्ले नागरिकको घरघरमा रहेको अँध्यारोलाई चिर्दै उज्यालो बनाएजस्तै देशका आर्थिक परिसूचकहरूमा देखिएको निराशालाई आशाको किरण देखाउन सक्छ ।
जलविद्युत बाट आर्थिक रूपान्तरणको आशा

अहिले नेपाली अर्थतन्त्रमा आशाको किरण जगाएको प्रमुख क्षेत्रका रूपमा जलविद्युत् क्षेत्र देखिएको छ । केही समयअघिसम्म देशव्यापी लोडसेडिङको मारमा रहेको मुलुक अहिले लोडसेडिङमुक्त मात्र भएको छैन, देशमा उत्पादित विद्युत् छिमिकी मुलुकमा निर्यात गरेर आय आर्जन गर्नसमेत सुरुवात गरेको छ । यसरी छोटो समयमा नै देशले ऊर्जा क्षेत्रमा मारेको फड्कोले मुलुकका अन्य क्षेत्रहरूमा समेत सकारात्मक प्रभाव पार्नेमा दुईमत रहँदैन । कृषि, उद्योग र सेवाजस्ता हरेक क्षेत्रहरूको विकास र विस्तारका लागि आवश्यक पर्ने ऊर्जाको माग अब देशभित्रै उत्पादित जलविद्युत्ले पूरा गर्न सक्ने देखिएको छ । अर्कातर्फ, चुलिँदै गएको व्यापारघाटालाई न्यूनीकरण गर्नसमेत सहयोग पुग्ने देखिन्छ । यसबाट मुलुकभित्र उत्पादन र उत्पादकत्वको मात्रामा वृद्धि भई समग्र देशको आर्थिक रूपान्तरणमा समेत यस क्षेत्रले महŒवपूर्ण भूमिका खेल्न सक्ने देखिएको छ ।
नेपाल जलविद्युत्को प्रचुर सम्भावना बोकेको देश हो । यहाँको भौगोलिक धरातल र बाह्रै महिना बग्ने नदीनालाबाट करिब ८३ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने क्षमता रहेको अनुमान गरिएको छ । योमध्ये करिब ४४ हजार मेगावाट आर्थिक तथा प्राविधिक रूपमा सम्भाव्य जलविद्युत् क्षमता रहेको उल्लेख छ । आर्थिक सर्वेक्षण २०७८/७९ का अनुसार, गत फागुन मसान्तसम्म मुलुकमा कुल जडित विद्युत् क्षमता २ हजार २ सय ५ मेगावाट पुगेको जनाएको छ, जसमध्ये जलविद्युत्बाट २ हजार २२ मेगावाट विद्युत् उत्पादन भएको छ । यसरी हेर्दा कुल क्षमताको ३ प्रतिशत भन्दा कम मात्र उत्पादन हुँदासमेत नेपालले विद्युत् निर्यात गर्ने क्षमता राखेको छ भने यदि यसले पूर्ण क्षमतामा उत्पादन गर्न सकेको खण्डमा देशको अर्थतन्त्रमा चमत्कारी परिवर्तन ल्याउन सक्ने सम्भावना देखिन्छ । यसमा आशाका किरणहरू पनि देखिन थालेका छन् । मुलुकभित्र सञ्चालित जलविद्युत् परियोजनाहरूको प्रगति विवरणलाई आधार बनाएर भर्खरै मात्र नेपाल विद्युत् प्राधिकरणले एक वर्षपछि जलविद्युत् उत्पादनको क्षमता वृद्धि भएर ४५ सय मेगावाटसम्म पुग्ने प्रक्षेपण गरेको छ । यस्तै अबको पाँच वर्षसम्ममा नेपालको विद्युत्् उत्पादन क्षमता करिब १३ हजार मेगावाट पुग्ने प्राधिकरणको दाबी छ ।
अहिले मुलुकमा सबैभन्दा चिन्ताको विषय भनेको दिनप्रतिदिन बढ्दै गएको उच्च व्यापारघाटा र यसले देशको समग्र अर्थतन्त्रमा पारेको नकारात्मक असरलाई लिने गरिएको छ । आर्थिक वर्ष २०७८/७९ मा व्यापारघाटा अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतले बढेर १७ खर्ब २० अर्ब ४१ करोड रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांक छ । मुलुकको वार्षिक बजेटकै हाराहारीमा व्यापारघाटा पुग्नुलाई सुखद मान्न सकिँदैन । यसको न्यूनीकरणका लागि तुलनात्मक लाभ लिन सक्ने नयाँ वस्तुहरूको निर्यात बढाउनुपर्ने आवश्यकता देखिन्छ । यसको एउटा विकल्प जलविद्युत्लाई लिन सकिन्छ । विगत लामो प्रयासबाट नेपालले गत वर्ष कात्तिक १७ मा पहिलोपटक भारतको इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स) लाई विद्युत्् बेच्ने अनुमति पाएको थियो । आईईएक्समा विद्युत्् बेच्न अनुमति पाएसँगै २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट गरी कुल ३९ मेगावाट विद्युत्् गत वर्ष नै भारत जान थालिसकेको थियो । यसपछि गत नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोण पत्र जारी भएलगत्तै विद्युत्् प्राधिकरणले थप चार जलविद्युत्गृहबाट उत्पादित विद्युत् भारतमा निर्यातका लागि स्वीकृति पाएको थियो । सहमतिअनुसार नेपालले १ सय ४४ मेगावाट क्षमताको कालीगण्डकी, ६९ मेगावाटको मस्र्याङ्दी, ७० मेगावाटको मध्यमस्र्याङ्दी र ५२ मेगावाटको लिखु–४ सहित कुल ६ वटा आयोजनाबाट हाल दैनिक करिब ३ सय ६४ मेगावाट विद्युत्् भारत निर्यात गर्दै आएको छ । यसका साथै अर्को छिमेकी मुलुक बंगलादेशमा समेत आगामी वर्षदेखि विद्युत्् निर्यात गर्ने योजना सरकारले बनाएको छ । विश्वभर रणनीतिक महŒवको वस्तु बन्दै गएको विद्युत्् क्षेत्रमा नेपाल दक्षिण एसियाको प्रतिस्पर्धी बन्न सक्ने विज्ञहरूको अनुमान छ । अहिले विद्युत्् प्राधिकरणले विद्युत्् निर्यातबाट मासिक करिब २ अर्बभन्दा बढी रुपैयाँसम्म कमाइरहेको छ । यसबाट व्यापारघाटाको समस्यालाई केही हदसम्म सम्बोधन गर्न सक्ने देखिन्छ ।
नेपाल जलस्रोतको धनी देशका नाममा परिचित रहे पनि यहाँको अधिकांश ऊर्जाको माग भने पेट्रोलियम पदार्थ, कोइला, काठ दाउरा आदिले परिपूर्ति गर्दै आएको छ । पेट्रोलियम पदार्थ र कोइलामा हामी शतप्रतिशत आयातमा निर्भर छौं । देशले बर्सेनि अर्बौ रुपैयाँ खर्च गरेर यी वस्तुहरू आयात गर्छ । मुलुकको व्यापारघाटा उच्च हुनुको प्रमुख कारक तŒव पनि यसैलाई मानिन्छ । यसैगरी यी वस्तुहरूको उच्च आयातले गर्दा विदेशी मुद्रा सञ्चितिमा समेत असन्तुलन देखिएको मानिन्छ । अर्कातर्फ, काठदाउराको उच्च प्रयोगले वनजंगल विनाश भइरहेको छ । यसबाट जलवायु परिवर्तनले गर्दा हुन सक्ने विभिन्न प्रकारका प्राकृतिक प्रकोपहरूको जोखिम पनि बढ्दै गएको छ । यी र यस्तै प्रकारका समस्याहरूसँग जुध्ने उपयुक्त उपाय जलविद्युत्को प्रयोग नै हो । जलविद्युत्बाट हरित ऊर्जा उत्पादन हुन्छ, जसले गर्दा जैविक एवम् वातावरणीय असन्तुलनबाट उत्पन्न हुन सक्ने समस्याहरू न्यून हुँदै जानेछन् । यसैगरी देशको आन्तरिक ऊर्जाको मागलाई जलविद्युत्ले परिपूर्ति गर्न सकेको खण्डमा अर्बौं रुपैयाँ बाहिर जानबाट जोगिनेछ । यसबाट बचत हुने रकम अन्य विकास निर्माणका लागि आवश्यक भौतिक एवम् सामाजिक पूर्वाधारहरू निर्माणमा प्रयोग गर्न सकिनेछ ।
अहिले वर्तमान समयमा विद्युत् व्यापारले जगाएको उत्साह आफैंमा प्रशंसनीय छ । तर, योसँगसँगै आन्तरिक खपतमा पनि वृद्धि गर्दै जानुपर्ने आवश्यकता देखिएको छ । मुलुकमा प्रतिव्यक्ति विद्युत्् खपत वृद्धि गर्न सकेको खण्डमा विद्युत् निर्यातको तुलनामा दुई गुणाभन्दा बढी फाइदा लिन सक्ने विज्ञहरूको भनाइ छ । आन्तरिक खपत वृद्धि हुनुको अर्थ आन्तरिक उत्पादन वृद्धि हुनु हो । यसले नयाँ रोजगारीको सिर्जना, आम्दानीका स्रोत र बचतको मात्रालाई वृद्धि गर्छ । यसको निरन्तरताले मुलुकमा पुँजी निर्माणको ढोका खुल्नेछ र समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न जान्छ । यसको प्रभावले देशको कुल गार्हस्थ्य उत्पादनमा समेत सकारात्मक प्रभाव पार्न सक्छ । मुलुकभित्र २५ अर्बबराबरको आन्तरिक खपत गर्न सकेको खण्डमा ५ खर्बभन्दा बढीको आयात प्रतिस्थापन गर्न सकिने कुरा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले समेत जनाएका छन् ।
विद्युत्को आन्तरिक खपतमा वृद्धि गर्नका लागि नयाँ – नयाँ उपायहरूको खोजी भइरहेको छ । यसै सिलसिलामा नेपाल विद्युत् प्राधिकरणले विद्युत्ीय सवारी प्रयोगलाई बढावा दिन देशभरका विभिन्न ३२ स्थानमा ५१ वटा चार्जिङ स्टेसन बनाइरहेको छ । यसैगरी घरघरमा इन्डक्सन चुलोको प्रयोगलाई प्रोत्साहित गर्न सहुलियत मूल्यमा वितरण गर्ने योजना बनाएको छ । यो योजना काठमाडौं उपत्यकामा मात्र सीमित नराखी देशव्यापी रूपमा लैजानुपर्ने देखिन्छ । यस्तै उद्योग एवम् कलकारखानाहरूमा विद्युत् आपूर्तिलाई सहज बनाउनका लागि आवश्यक पूर्वाधारहरूको समेत निर्माण हुनुपर्ने आवश्यकता छ । यसबाट घरेलु तथा साना उद्योगहरूको विकास र विस्तारमा टेवा पुग्ने देखिन्छ । यसैगरी कृषिक्षेत्रको विकासका लागि आवश्यक औजारहरूको प्रयोग एवम् सिँचाइ सुविधाका लागिसमेत जलविद्युत्को प्रयोगले महŒवपूर्ण भूमिका खेल्न सक्छ । सर्वसुलभ रूपमा विद्युत्को आपूर्ति पुर्याउन सकेको खण्डमा उत्पादन लागतमा समेत कमी आउने सम्भावना देखिन्छ । यसले बजारमा प्रतिस्पर्धी वस्तुहरूको पहुच पुग्ने आकलन गर्न सकिन्छ । यसका साथै शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, पर्यटनसँग सम्बन्धित विभिन्न सेवाहरू पनि सहज र सर्वसुलभ बन्ने कुरामा दुईमत रहँदैन । यसर्थ, जलविद्युत्को प्रयोगबाट अर्थतन्त्रका प्रमुख क्षेत्रहरूमा रूपान्तरण ल्याउन सकिने प्रचुर सम्भावना देखिन्छ ।
कुनै पनि मुलुकको आर्थिक रूपान्तरणमा त्यहाँ उपलब्ध साधनस्रोतले महŒवपूर्ण भूमिका खेल्ने गर्छ । मुलुकमा भएका साधनस्रोतको आदर्शतम प्रयोगबाट मात्र आर्थिक तथा सामाजिक अवस्थामा परिवर्तन ल्याउन सकिन्छ । नेपालले समेत जलस्रोतको आदर्शतम प्रयोगबाट देशमा आर्थिक रूपान्तरण ल्याउन सकिने सम्भावना देखिन्छ । जलस्रोतबाट उत्पादित विद्युत्ले नागरिकको घरघरमा रहेको अँध्यारोलाई चिर्दै उज्यालो बनाएजस्तै देशका आर्थिक परिसूचकहरूमा देखिएको निराशालाई आशाको किरण देखाउन सक्छ । जसरी अरबी मुलुकहरूले आफ्नो देशमा रहेका खनिज सम्पदाहरूलै कालो सुनको उपमा दिएर यसको प्रयोगबाट देशको आर्थिक अवस्था बलियो बनाउन सफल भए, त्यसैगरी नेपालले पनि आफूसँग भएको सेतो सुनको उचित प्रयोगबाट यहाँको आर्थिक रूपान्तरणका गर्न सक्छ ।