Logo

बाराको विकासका लागि हाम्रो उम्मेदवारी

वीरगन्ज औद्योगिक करिडोरअन्तर्गत बारा जिल्लाबाट ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ उद्योगी तथा व्यवसायीहरूले उम्मेदवारी दिएका छन् । सत्तारूढ गठबन्धन, विभिन्न दल तथा स्वतन्त्र रूपमा उद्योगी–व्यवसायी चुनावी मैदानमा होमिएपछि औद्योगिक करिडोरमा उद्यमीको उम्मेदवारीलाई लिएर चर्चा पनि सुरु भएको छ । अस्पष्ट नीतिगत विधिमा सञ्चालित राज्यसत्ताको उल्झन फुकाउनेदेखि क्षेत्रगत विकाससँगै उद्यमी तयार गर्दै रोजगारीको सिर्जना गर्ने वातावरण बनाउन सरकारको आधिकारिक प्रतिनिधि बन्न उद्योगीहरूले उम्मेदवारी दिएका छन् । संघ र प्रदेश सभाको प्रत्यक्षतर्फको जनमत बलियो आधार बन्ने बुझेकाहरूले ठूला दलहरूबाहेक पनि स्वतन्त्र उम्मेदवारी दिने दर्जनांै उम्मेदवार छन् । सक्रिय राजनीति, समाजसेवाबाट औद्योगिक जिल्लामा परिचय बनाएका उद्यमीहरूले यसपटक दल त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका छन् । करिडोरको ७५ प्रतिशत क्षेत्र ओगटेको बारामा सञ्चालित उद्योग तथा व्यवसाय सञ्चालन गर्दै आएकाहरूसँग कारोबारकर्मी प्रकाश लम्सालले गरेको कुराकानीको सार :

बाराको परिचय मुलुकमै स्थापित गर्न मेरो उम्मेदवारी
कृष्णकुमार श्रेष्ठ
बारा–४ उम्मेदवार, नेकपा (समाजवादी)
मेरो जन्मथलो तनहुँ भए पनि १४ वर्षअघि बारामा आएको हुँ । मेरो कर्मथलो यहीं बन्यो । यहाँ मैले उद्योग, होटल, ग्यास, घरजग्गा, कृषिलगायतका क्षेत्रमा लगानी गरेको छु । मेरो कर्म यहीं भइरहँदा यहाँको समाजसँग सम्बन्ध जोडियो । ३ सय ६५ दिनमध्ये अरू बखत तीन सय दिन नै बाराको सिमरामा जतिबेला पनि भेटिन्छु । बृहत् समृद्धिको सम्भावनातर्फ उन्मुख बारा जिल्लामा औद्योगिक करिडोर, सिमरा सेज, निजगढ विमानस्थल, निजगढ–काठमाडांै फास्टट्र्याक आधार रहेकाले यसमा राज्य सरकारको गति देखाउन मेरो आवश्यकता भएकाले बारा क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ गठबन्धन उम्मेदवार बनेको हुँ । यस क्षेत्रमा रोजगारी दिलाउने अब मेरो काम हुनेछ । अव्यवस्थित करिडोरलाई व्यवस्थित बनाउन मेरो यहाँ आवश्यकता मैले बुझेको छु । यसअघि म तनहुँबाट निर्वाचित भई श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारीमा रहँदै गर्दा श्रम रोजगारको क्षेत्रमा छोटो समयका कारण केही गरें, केही सुरु गरें, केही गर्नै पाइएन । आफैं उद्योगी भएकाले करिडोरकै प्रमुख जिल्लाबाट उम्मेदवार बन्दै गर्दा औद्योगिक समस्या, श्रम, वातावरण तथा यहाँको सामाजिक अवस्था मैले बुझेको छु, म जानफकार छु । नीतिगत तहमा यहाँको सबै कुरा सरकारलाई बताउन, गराउन सक्ने अहिले जिल्लाबाट उठेका कुनै उम्मेदवारले सक्दैनन्, म सक्छु, त्यसैले मैले आफैंले गठबन्धनसमक्ष यो क्षेत्र मागेर आएको हुँ । कृषि उद्यमको असाध्यै धेरै सम्भावना बोकेको यो जिल्लामा सिँचाइसँगै कृषिमा व्यापक आधुनिकीकरण गर्न आवश्यक छ । यो क्षेत्रबाट यसअघि पटक–पटक निर्वाचित भएकाहरूले केही गर्न नसकेकाले म केही गर्छु भनेरै मेरो यो क्षेत्रमा उम्मेदवारी हो । यसबाहेक मुलुककै अन्य नाकाभन्दा राज्यलाई सामान निकासी पैठारीको सस्तो भाडा र सहज मानिने वीरगन्ज नाकालाई व्यवस्थित गराउन बाराको म उम्मेदवार बनेको क्षेत्रको भूमिका ठूलो छ, जुन मैले गर्नैपर्छ । २५ हजारभन्दा बढी मजदुरले दैनिक श्रम गर्ने करिडोरमा दुई सय शैयाको श्रमिक अस्पताल बनाउन मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति भइसकेकाले जितपुर–सिमरा उपमहानगरले उपलब्ध गराएको पाँच बिगा क्षेत्रफलमा आचारसंहिताले शिलान्यास हुन सकेन । उपमहानगरको भित्री १६ किमि सडकमा कालोपत्रे शिलान्यास भई काम अगाडि बढाउन सफल भएको छु । बारामा रहेका राष्ट्रिय गौरवका तीन आयोजनालाई गति दिँदै आर्थिक समृद्ध जिल्लाका रूपमा बाराको परिचय मुलुकमै स्थापित गर्न मेरो उम्मेदवारी हो ।

चुनाव जितेर जनताको सेवा गर्न मेरो उम्मेदवारी हो
नारायणी रायमाझी
बारा–४, (क) स्वतन्त्र उम्मेदवार
मेरो उद्यमको क्षेत्र परिवारका सदस्यले हेरेकै कारण मैले लामो समयदेखि सक्रिय राजनीतिलाई सामाजिक कर्मले योगदान गर्न पाएकी छु । राजनीतिक दलमा पछिल्लो समय जनताको विश्वास घट्दै गर्दा मैले स्वतन्त्र उम्मेदवारी दिएर नीतिगत रूपमै जनताको सेवा गर्न मेरो उम्मेदवारी हो । दलमा समाजप्रति लगनशीलता र इमानदारिताको भन्दा पनि नेतामुखी हुनुपर्ने बाध्यतालाई आफूले इन्कार गर्दै जुन दलमा म थिएँ त्यसलाई यसअघि नै प्रेस विज्ञप्तिमार्फत त्यागेर स्वतन्त्र उम्मेदवार बनेको हुँ । बारा क्षेत्र नम्बर ४(क) कृषि, पर्यटन, उद्यमको क्षेत्र हो । यहाँ हरेक महिला उद्यमी बन्न चाहन्छन् तर कुनै सरकार पनि महिलाप्रति यस क्षेत्रमा संवेदनशील बनेनन् । मधेसका महिला पनि कर्म र उद्यम गर्न सक्छन् भन्ने उदाहरण बनाउन मैले नीतिनिर्माणको तहमा जान आवश्यक ठानें अनि उम्मेदवारी दिएँ । आफ्नै व्यवसायमा सन्तुष्ट म अन्यलाई उद्यमको जागरण छर्न मेरो उम्मेदवारी म आबद्ध दलले समयमै नचिनेपछि दशकौंपछि स्वतन्त्र उम्मेदवारी दिएको हुँ । प्रदेशमा महिलामाथि हुने विभेद नेताहरूले नारामा व्याख्या गरे पनि विभेदको अन्त्य गर्ने, साना उद्यमलाई प्रोत्साहन गर्ने, दक्ष उद्यमी, व्यवसायी बनाउन प्रेरित गर्ने काम स्थानीय तथा प्रदेश सरकारले नगरेपछि आफू स्थानीय र प्रदेशमा महिला उद्यमी निर्माताको अभियन्ता बन्नेछु । मैले बाराका विभिन्न सामाजिक संघसंस्थामा गरेको सहयोगबाट थुप्रै काम भएका छन् । मधेस प्रदेशका घरघरमा हुने परम्परागत लघु उद्यमलाई बजारीकरणका बारेमा कसैले चासो राखेनन् । श्रमको मूल्य नपाएपछि उत्साहमा कमी आएका महिलामा जागरणको नाम निरु भनेर चिनाउने काम म गर्नेछु । आफू मात्रै नभई समान श्रमको अवधारणा मेरो आदर्श हो । मेरो जित्ने आधार पनि त्यही हो । पिछडिएको समुदाय सधैं आशीर्वादबाट बाँच्नुपर्नेको अन्त्य रोजगार हो, त्यो उद्यमबाट मात्रै सम्भव भएकाले यो कुरा उनीहरूलाई म बताउने छु । उत्साहित बनाउनेछु । समाजको साना वर्गलाई उठ्न नदिने आफ्नो स्थायी कार्यकर्तामा स्थापित गर्ने परम्पराका निम्ति पनि मेरो उम्मेदवारी हो ।

मेरो जितले उद्योगी–व्यवसायीलाई राहत हुनेछ
इच्छा वाग्ले
बारा–४, (ख) स्वतन्त्र उम्मेदवार
म सफल व्यवसायी हुँ तर पनि राजनीतिलाई पेसा बनाउनु हुँदैन भन्ने मान्छे हुँ । समाज परिवर्तन पनि व्यवसायीको उद्देश्य हो । मजस्तो व्यवसायी निर्वाचित भएर गइरहँदा उद्योग–व्यवसायको नीतिहरूमा सजिलोपन ल्याउन, भइरहेका उद्योगबाट समाजको रूपरेखा परिवर्तन गर्न र जीवनको उत्तराद्र्धमा समाजसेवा इच्छा बनेकाले मेरो उम्मेदवारी हो । बारा जिल्लाको विशेषगरी ४ नम्बर क्षेत्र हालको सिमरामा मैले थालेको व्यवसायले ल्याएको परिवर्तन जुन देखिन्छ नै । निर्वाचित भए पनि नभए पनि सीमावर्ती क्षेत्रमा मेरो लगानीमा व्यवसायसँगै राजनीतिक फोकस हुनेछ, जुन आवश्यक छ देशकै लागि पनि । दलको राजनीति गरेर निजी मुनाफा समाजसेवामा लगानी गरेको मैले दलले मबाट मेरो क्षेत्र र समग्र जिल्लाकै योजनाका बारेमा प्रयोग गर्न नखोजेपछि स्वतन्त्रमा शक्ति हुन्छ भन्दै निर्वाचनमा उम्मेदवार बनेको छु । मेरो उम्मेदवारीसँगै जिल्लाको दक्षिण क्षेत्रका सचेत समूहले व्यवसायीको आगमन भयो हाम्रो क्षेत्रमा भन्दै भेटघाट तीव्र भएकोमा विश्वास बढेको छ । मैले उम्मेदवारी दिएको क्षेत्रअन्तर्गतको ४ को प्रदेश ‘क’ मा धेरै गरिसकेको हुँदा अब ‘ख’ क्षेत्रमा बढ्नेछु । मैले एउटा गाउँबाट अर्को गाउँ खोल्न आठ किमि पिच गरेसँगै मेरो कामको धेरै उदाहरण समाजमा छर्लङ्गै छ । विगत १५ वर्षदेखि जिल्लामा रहेका ठूला योजनालाई पुस गर्न म लागिरहेको सबै नेतृत्व तहलाई थाहा छ । अहिले उद्योग–व्यवसाय हताहत भइरहेको अवस्थामा मेरो जित उद्योगी–व्यवसायीलाई राहत बन्नेछ । उत्पादनमुखी जिल्ला र रोजगारमूलक समाजअन्तर्गत मेरो सोच रहेको हुँदा मेरो उम्मेदवारी हो ।

प्रतिक्रिया दिनुहोस्