Logo

निजी क्षेत्रसँग सहकार्य गरी लगानी भित्र्याउन आग्रह

फाइल तस्बिर ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसाय गर्न विदेशमा भन्दा नेपालमा प्रचुर सम्भावना रहेको बताएका छन् ।
मंगलबार गैरआवासीय नेपाली संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले नेपालमा लगानीको वातावरण प्रशस्त रहेको भन्दै विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालमा भित्र्याउन गैरआवासीय नेपालीलाई आग्रह गरे ।
वरिष्ठ उपाध्यक्ष ढकालले नेपालमा अन्य देशको भन्दा लगानीको प्रतिफल समेत राम्रो रहेको बताए । उनले नेपालमा गैरआवासीय नेपालीहरुले लगानी गर्नको लागि पुराना र जटिल कानूनहरु परिवर्तन भएको र बाँकी कानूनहरु परिर्वतन गर्ने प्रक्रियामा रहेको बताए । ढकालले निजी क्षेत्रको सहकार्यमा गैरआवासीय नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालमा लगानी गर्ने विषयमा सहकार्य गरेर अघि बढ्न निजी क्षेत्र तयार रहेको बताए ।
“नेपालमा लगानीको वातावरण छ । पूराना र जटिल कानूनहरु परिवर्तन भएका छन् । अरु बाँकी कानूनहरु परिवर्तन हुँदैछन्” उनले भने, “नेपालमा धेरै सम्भावना छन् । प्रतिफल पनि तपाईले अन्य देशमा पाउने भन्दा राम्रो छ ।”
वरिष्ठ उपाध्यक्ष ढकालले एनआरएनलाई लक्षित गरी विदेशमा रहेका नेपालीलाई नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा सुरु भएको बताए ।

प्रतिक्रिया दिनुहोस्