म्याग्दीलाई मोना हङकङको आर्थिक सहयोग

रोजगार र अध्ययनको शिलशिलामा हङकङमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले आर्थिक अवस्था कमजोर भएका म्याग्देलीहरुको उपचारमा सघाउन अक्षकोषमा ४० लाख रुपैयाँ सहयोग गरेको छ ।
परोपकारी क्षेत्रमा क्रियाशिल ओमकुमारी शान्ति कोषले आर्थिक रुपमा कमजोर भएका जिल्लाबासीको उपचारमा सघाउन स्थापना गरेको अक्षयकोषमा मोना हङकङले ४० लाख ११ हाजर १११ रुपैयाँ सहयोग गरेको हो ।
मंगलबार बेनीमा आयोजित कार्यक्रममा मोना हङकङका अध्यक्ष कर्णबहादुर पुनले कोषका अध्यक्ष राजेश शाक्यलाई सो रकमको चेक हस्तान्तरण गरेका थिए । मोना हङकङको २०औं साधारणसभाको अवसरमा कोषका लागि संकलन भएको उक्त रकम प्रदान गरिएको अध्यक्ष पुनले बताए ।
“म्याग्दीमा रोग लागेर बिरामी भएमा आर्थिक अभाबकै कारण उपचार गराउनबाट बञ्चित हुन नपरोस भनेर अक्षयकोष बनाउनु पुन्यकार्य हो” उनले भने, “यसमा हाम्रो पनि सहभागीता जनाउन आर्थिक संकलन गरेर सहयोग गरेका छौं ।” अध्यक्ष पुनका अनुसार, मोना हङकङले स्थापनाकालदेखि अहिलेसम्म विपन्नको उपचार, प्राकृतिक प्रकोपबाट पीडित भएकालाई राहतसँगै शिक्षा, स्वास्थ्यलगायतको परोपकारी क्षेत्रमा २ करोड ४१ लख २६ हजार ५७६ रुपैयाँ सहयोग गरिसकेको जनाए । मोना हङकङले संकलन गरेको उक्त रकम जुटाउन हङकङमा रहेका १५ जना म्याग्देलीहरुले प्रतिव्यक्ति २ लाख रुपैयाँका दरले सहयोग गरेका थिए ।
उक्त अवसरमा अक्षयकोषमा २ लाख सहयोग गरि व्यक्तिगत संरक्षक सदस्यता प्राप्त गरेका व्यक्तिलाई सम्मान गरिएको थियो । कार्यक्रममा सहभागी कर्ण पुन, इन्द्रएलजी थापा मगर, प्रमोद गिरि, जेबेन्द्र फगामी र राजु गर्वुजा पुनको दम्पतीलाई प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना, बेनी नगरपालिकाका मेयर सुरत केसी, कोषका अध्यक्ष शाक्यलगायतले व्यक्तिगत संरक्षक सदस्यता प्रदानसँगै माला लगाएर सम्मान गरेका थिए ।
२०७१ सालदेखि सञ्चालन भएको अक्षयकोष निर्माण अभियानमा हालसम्म एक करोड ४३ लाख रुपैयाँ संकलन भएको कोषले जनाएको छ । कोषमा हालसम्म आर्थिक सहयोग गरी ८३० जनाले आजिवन सदस्यता, ४१ जनाले व्यक्तिगत संरक्षक सदस्यता र ९ वटा संस्थाले संस्थागत संरक्षक सदस्यता लिएका छन् ।
कोषमार्फत हालसम्म २६५ जना गरिब तथा आर्थिक अवस्था कमजोर भएका विरामीको उपचारमा आर्थिक सहायता प्रदान गरिएको अध्यक्ष शाक्यले बताए ।