रक्सोल नाकाबाट कार्गो बन्द गर्न दबाब

भारत तथा तेश्रो मुलुकबाट रक्सोल नाका हँुदै आएको कार्गो आयात–निर्यात पूर्ण रुपमा बन्द गरेर एकीकृत भन्सार जाँचचौकी (आईसीपी) बाट मात्रै गर्न भारतीय पक्षले दबाब दिएको छ । भारत सरकारको पटनास्थित प्रिन्सिपल कमिशनरको कार्यालयले सूचना जारी गर्दै रक्सोलबाट बौद्धीमाई मन्दिर हँुदै एकीकृत भन्सार जाँचचौकी (आईसीपी) सम्म आउने बाटो पूर्णरुपमा सञ्चालनमा आइसकेकोले अब रक्सोलबाट आयात निर्यात हँुदै आएको कार्गो पनि एकीकृत भन्सार जाँचचौकी (आईसीपी) बाट मात्रै हुने जनाएको छ ।
कमिशनरको कार्यालयले निकालेको सार्वजनिक सूचनाअनुसार अक्टोबर १६ तारिख अर्थात असोज ३० गते आइतबारदेखि भारत तथा तेश्रो मुलुकबाट आयात हँुदै आएको सामान एकीकृत भन्सार जाँचचौकीबाट मात्रै जाँचपास हुनेछ ।
प्रिन्सिपल कमिशनरको कार्यालयले असोज २१ गते नै सार्वजनिक सूचना जारी गरेर सबै आयात, निर्यातकर्ता, भन्सार एजेन्टहरुलाई बुधबारदेखि नै एकीकृत भन्सार जाँचचौकी (आईसीपी) बाट मात्रै जाँचपास हुने जनाएको छ । रक्सोल नाकाबाट वीरगन्ज हँुदै हुने आयात निर्यात बन्द भए नेपालका सिमेन्ट उद्योग र फलाम उद्योगहरुका लागि आवश्यक कच्चा पदार्थ आयातमा अवरोध सिर्जना हुने वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले बताए ।
रक्सोल रेलवे साइडिङदेखि भारततर्फको एकीकृत भन्सार जाँचचौकीसम्म आउने राजमार्ग जोड्ने पहुँचमार्ग अझैसम्म नबनेकोले रक्सोलबाट आयात हँुदै आएको कार्गो एकीकृत भन्सार जाँचचौकी (आईसीपी) को बाटोबाट ल्याउन समस्या हुने उनले बताए । नेपाल र भारत दुवैतर्फ समान संरचना निर्माण गरेर एकीकृत भन्सार जाँचचौकी तयार भएपछि भारतले पटक पटक एकीकृत भन्सार जाँचचौकीबाट नै सबै आयात निर्यात र पैदल यात्रुहरुलाई पनि आईसीपीबाट नै आवतजावतको व्यावस्था गर्नुपर्ने दबाब दिँदै आएको छ । तर, रेलवे साईडिङबाट भारततर्फको आईसीपीसम्म आउने राजमार्गमा जोड्ने ७५० मिटरको पहुँचमार्ग अझै बनाउन सकेको छैन । जसले गर्दा नेपाली कार्गो आयातकर्ताहरुलाई समस्या हुने गरेको छ ।
राजपाल भन्छन्, “भारतले जबरजस्ती आईसीपीबाटै ल्याउने दबाब दिँदै आएको छ । आईसीपीको हाईवे २२ चक्के गाडी चल्ने बनाएको छ । तर, साईडिङबाट राजमार्ग जोड्ने पहुँचमार्गमा १२ चक्के गाडी समेत चल्न मुस्किल छ । पहुँचमार्ग नबनाई आयात शुरु गर्दा नेपाली आयातकर्ताहरुलाई प्रतिगाडी २ हजार ५ सय रुपैयाँ थप आर्थिक भार पर्न जान्छ ।”
भारतको रक्सोल रेलवे साइडिङमा फलामको सिट, कोइला, फ्लाएस, जिप्सन, आईरन ओर (फलामको धूलो) र नुन लगायतका सामानहरु रक्सोल र वीरगन्ज नाका हँुदै आउने गरेको छ । पैदल यात्री, डर्टी कार्गो पनि रक्सोल नाकाबाट ढुवानी बन्द गर्न र आईसीपी हँुदै भित्र्याउन भारतले पटक पटक दबाब दिँदै आएको छ । नेपालतर्फको एकीकृत भन्सार जाँचचौकी (आईसीपी) मा आवश्यक सबै पूर्वाधार संरचना तयार नहुँदा समस्या उत्पन्न भएको छ । पैदल यात्रुको लागि आईसीपीमा अध्यागमन कार्यालयको स्थापना गरिएको छैन । अन्य आवश्यक कार्यालयहरु आईसीपीमा स्थापना नहुँदा नेपालतर्फको आईसीपीबाट पैदल यात्रु आवतजावतमा पनि ढिलाइ भएको छ । भारतले भने कोइलालगायतका सामानहरु भने बुधबारदेखि नै आईसीपीबाट लैजान दबाब बढाएको छ ।
आयातमा देखिएको समस्याको विषयमा परराष्ट्र मन्त्रालय, वाणिज्य मन्त्रालय, अर्थ मन्त्रालय लगायतका सरोकारवाला निकाय र जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सहितको टोलीले मंगलबार स्थलगत अध्ययन अवलोकन गरेका छन् । स्थलगत अध्ययन अवलोकनपछि विषयगत मन्त्रालय मातहतका कार्यालयहरुले कसरी काम गर्ने भन्ने विषयमा कार्ययोजना बनाएर माथिल्लो निकायमा पठाउने तयारी गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए । मन्त्रालयबाट आएको टोलीसँगको छलफलपछि कार्ययोजना बनाएर माथिल्लो निकायमा पठाएपछि उच्चस्तरीय वार्ताबाट नै समस्याको समाधान निस्कने सहायक प्रमुख जिल्ला अधिकारीको भनाइ छ ।